नगरपालिकालाई ४ लाख ७५ हजार ८ सय तिर्न बाँकी, उठाउन सक्दैनन् कर्मचारी

दमक ।

दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाको विश्वास पात्र हुन्, भुवन ढकाल । नगर प्रमुखको समाजिक सञ्जाल फेसबुक चलाउनेदेखि सरकारी कार्यालयमा स्वकीय सचिव हुँ भन्दै हिँड्ने गर्छन्, उनी । तर, दमक नगरपालिकाको आधिकारिक रेकर्डमा भने ढकाल स्वकीय सचिव भएको कतै देखिँदैन । उनी नगरप्रमुख थापाकै पार्टी राप्रपाका कार्यकर्ता हुन् । थापा पार्टीको प्रदेश अध्यक्ष छन् । विगतमा थापा उनकै गाडीमा चढेर हिँड्ने गर्थे । ढकाल अहिले पनि नगरपालिका र नगर प्रमुखकै वरपर हिँड्ने गर्छन् ।

नगरपालिकाका कर्मचारीसँग दैनिक जसो उठबस गर्ने ढकालले नगरपालिकालाई नै पैसा तिर्न भने बाँकी छ । श्रीमतीको नाममा होटल सञ्चालन गरेवापत नगरपालिकालाई तिर्नुपर्ने भाडा उनले १५ महिनादेखि तिरेका छैनन् । उनी लाज पचाएर आफू ऋणमा भएको भन्दै तिर्न नसकेको भनेर हिँड्ने गरेका छन् । त्यति मात्रै हैन, नगरपालिकामा कसैले किन नतिरेको भन्दा ‘मैले सामान उठाएर असुल गर्नु भनेर पत्र लेखेको छु’ भन्दै हिँड्ने गरेका छन् । कर्मचारीले पनि मेयरसँगको निकटता देखेर उनीसँग नगरपालिकाको पैसा उठाउने आँट गरेका छैन । ढकालले नगर पालिकाको संरचना प्रयोग गरेबापतको भाडा तिर्न अटेर गरेका हुन् ।

ढकालले दमक नगरपालिकासँग सम्झौता गरेर दमक–७ स्थित पशुहाट परिसरमा रहेको नगरपालिकाको २ तले पक्की संरचनामा होटल सञ्चालन गरेका थिए । संरचना प्रयोग गरेर उनले होटल सञ्चालन गरेबापत तिर्नुपर्ने ४ लाख ७५ हजार ८ सय रुपैयाँ भाडा नतिरेको दमक नगरपालिकाले जनाएको छ । ढकालले १ फागुन ०८० मा नगरपालिकाको संरचनामा आनन्द होटल सञ्चालन गर्ने भनेर श्रीमती अम्बिकादेवी पाठकको नाममा दमक नगरपालिकासँग सम्झौता गरेका थिए । सम्झौता अनुसार पहिलो र दोस्रो वर्ष ४ लाख ८ हजार ५०० रुपैयाँ, तेस्रो वर्ष ४ लाख ४९ हजार ३५० रुपैयाँ र प्रत्येक २ वर्षमा १० प्रतिशत भाडा बढ्ने शर्त थियो । त्यति मात्र हैन उनले भाडामा लिएपछि दमक नगरपालिकाले सो २ तले भवनमा मर्मत सम्भारका लागि ९ लाख ५१ हजार ४२ रुपैयाँ रकम समेत खर्च गरेको थियो । ढकालकी श्रीमती अम्बिकादेवी पाठकले ११ जेठ ०८२ मा नगरपालिकालाई पत्र लेख्दै दमक नगरपालिकाले सो संरचना मर्मत नगरिदिँदा बर्खामा पानी जम्ने, गृल नभएको, झ्याल नलागेको भन्दै सञ्चालनमा कठिनाई भएको पत्र लेखेकी थिइन् ।  यद्यपि अगाडि नै दमक नगरपालिकाले ९ लाख ५१ हजार खर्चेर मर्मत गरिसकेको थियो ।

भाडा सम्झौताअनुसार उनले ५ लाख ७८ हजारमध्ये १ लाख २ हजार २०० रुपैयाँ मात्रै तिरेका छन् । बाँकी रकम तिर्न भने आलटाल गरिरहेका छन् । उनले सम्झौताअनुसार भाडा नतिरेपछि नगरपालिकाको कार्यपालिका बैठकले सम्झौता नै रद्द गरेको छ । ०८२ साउनदेखि लागू हुने गरी सम्झौता रद्द गरिएको थियो । सम्झौता रद्द भएको १ वर्षमा पनि नगरपालिकाको भाडा नतेरेका उनी दिनहुँ नगरपालिका नै धाइरहेका भेटिन्छन् ।

सुरुको सम्झौता अनुसार ढकालले ०८३ माघ मसान्तसम्म त्यहाँ होटल सञ्चालन गर्न पाउने थिए । तर, समयमा भाडा नतिरेपछि दमक नगरपालिकाले अघिल्लो आर्थिक वषको पहिलो दिनबाटै उनीसँगको सम्झौता रद्द गरिसकेको छ ।

सम्झौताअनुसारको रकम तिर्न पटकपटक ताकेता गरेर होटल सञ्चालक एवम् ढकालकी श्रीमती अम्बिकादेवी पाठकलाई पत्र लेख्दा पनि सम्झौताबापतको रकम नतिरेको दमक नगरपालिकाका राजश्व शाखा प्रमुख डम्बर बरालले जानकारी दिए । ‘भाडा नतिरेपछि नगरपालिकाले सम्झौता रद्द गरेको छ,’ उनले भने, ‘पटकपटक ताकेता गर्दा पनि भाडा उठ्न सकेको छैन ।’

ढकाल नगर प्रमुख रामकुमार थापाका यति विश्वासिलो पात्र हुन् कि थापाको आफ्नो सामाजिक सञ्चालनमा आउने हरेक गतिविधिमा अन्तिममा ढकालले ती गतिविधि लेखेको भनेर नाम राख्ने गरेका छन् । स्रोतका अनुसार मेयर थापाका फेसबुक पेज ‘राम थापा मेयर, दमक’ उनले नै चलाउने गरेका छन् । दमक नगरपालिका मातहतका कार्यालय र नगरपालिकाका कर्मचारीलाई समेत नगर प्रमुख थापाको आडमा उनी हप्कीदप्की गर्ने गरेको कर्मचारी बताउँछन् । ‘आफूलाई मेयरको स्वकीय सचिव बताउँछन् । अनावश्यक काम गर्न दबाब दिन्छन्,’ दमक अस्पतालका एक कर्मचारी भन्छन्, ‘उनी साह्रै उग्र भएका छन् । काम बिना पनि हामीलाई दबाब महसुस गराउन अस्पतालतिर धाइरहन्छन् ।’

त्यति मात्र हैन, दमक नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारको ह्वाट्सएप ग्रुपमा समेत ढकाल छन् । जबकि उनी न पत्रकार हुन् न जनप्रतिनिधि, न त कर्मचारी नै । नगरपालिकाको आधिकारिक रेकर्डमा समेत उनी नगर प्रमुखको स्वकीय सचिव होइनन् । नगर प्रमुख थापाको आडमा दमक अस्पतालमा काम ठेक्कामा समेत लिएका थिए । अरूकै नामको कम्पनीबाट उनले काम गर्दै आएका छन् । उनले गरेको काम गुणस्तरीय नभएको भन्दै कर्मचारीले नै असन्तुष्टि जनाउँदै आएका छन् । तर, उनी भने असन्तुष्टि व्यक्त गर्ने कर्मचारीलाई आफूले गुणस्तरीय काम गर्दा घाटा लागेको बताउने गरेका छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्