रिङभित्रको जित, जीवनको संघर्ष
दमक ।
नेपाली खेलकुद जगतमा खेलाडी हुनुको अर्थ मैदान वा रिङभित्र प्रतिद्वन्द्वीसँग जुध्नु मात्र होइन । प्रतियोगिताअघि अभाव, चोट, तयारीको कमी र अनिश्चित भविष्यसँग पौँठेजोरी खेल्नु नेपाली खेलाडीको नियति नै बनेको छ । यही कठोर यथार्थलाई चिर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा देशको झण्डा फहराउन सफल एक नाम हो, रोशन मगर ।
दमक–७ हाटखोला निवासी बाबु लेखबहादुर मगर र आमा ललिता मगरका सुपुत्र रोशनको बाल्यकाल झापामै बित्यो । १४ असोज ०६० मा जन्मिएका रोशन सानैदेखि निकै चञ्चले, चकचके र उफ्रिरहने स्वभावका थिए । ‘सानैदेखि चञ्चले र चकचके स्वभावको थिएँ, कुदिहिँड्ने र उफ्रिने गर्दा चोटपटक लागिरहन्थ्यो,’ रोशन भन्छन्, ‘सायद त्यही कारणले गर्दा नै शरीर दह्रो भएको होला ।’
उस्सु र कराते हुँदै तेक्वान्दोमा प्रवेश
रोशनको खेल यात्राको सुरुवात भने तेक्वान्दोबाट भएको थिएन । कक्षा ३ मा पढ्दा दिपिनी स्कूलमा अरूले जिम्न्यास्टिक हानेको र मार्सल आर्टको पोशाक (ड्रेस) लगाएको देखेर आकर्षित भएका उनले उस्सु सिक्न थाले । तर, कक्षा ५ मा पुगेपछि होस्टेल बस्नुपरेकाले उस्सु छुटे पनि फुटबल र दौडजस्ता स्कुले खेलकुदमा उनी सधैँ अगाडि नै हुन्थे ।
कक्षा ७ मा हिमालय माविमा पढ्दा उनले प्रशिक्षक वसन्त धिमालबाट कराँते सिक्न थाले । तर, ग्रिन बेल्ट पुगेपछि प्रशिक्षण रोकिएपछि कराँते पनि छुट्यो । कक्षा ८ मा पुगेपछि बक्सिङ सिक्ने योजना बनाउँदैगर्दा साथी श्याम राईको माध्यमबाट उनी तेक्वान्दोतिर मोडिए । ‘त्यतिबेला कराँतेको ड्रेससँग तेक्वान्दोको ड्रेस एक्सचेञ्ज गरिदिने सुविधा थियो,’ रोशन भन्छन्, ‘त्यसपछि मेरो तेक्वान्दो करियर सुरु भयो ।’ रोशनका लागि यही मोड जीवनको नयाँ अध्याय बन्यो ।
तत्कालीन रेडक्रस भवन छेउ (हाल रोज गार्डेन रहेको ठाउँ) मा गुरु नवीन तामाङबाट उनले तेक्वान्दोको प्रारम्भिक पाठ सिके । कराँतेभन्दा एड्भान्स मार्सल आर्ट भएकाले तेक्वान्दोमा लय समात्न उनलाई केही समय लाग्यो ।
पहिलो नेशनल गेमको अनुभव

तेक्वान्दो सिक्न थालेको ८–९ महिनामै १४ वर्षको उमेरमा रोशनले सर्लाहीमा भएको १९औँ नेशनल गेम खेल्ने अवसर पाए । सानोे उमेर भए पनि अग्लो कद र फुर्तिलो शरीरका कारण उनी सिनियरजस्तै देखिन्थे । स्थानीय र प्रदेशस्तरमा गोल्ड मेडल जितिसकेका उनका लागि यो पहिलो राष्ट्रिय अनुभव थियो ।
सेमिफाइनलमा विभागीय टोली एपिएफलाई पराजित गर्दै फाइनल पुगेका उनी त्रिभुवन आर्मी क्लबका खेलाडीसँग पराजित भई दोस्रो स्थानमै सीमित बने । फाइनल खेलका क्रममा शरीरको दाहिने भाग नै नचल्ने गरी घाइते भएका रोशनका लागि त्यो हार जीवनको ठूलो ‘टर्निङ पोइन्ट’ बन्यो । पर्याप्त ट्रेनिङ र व्यवस्थापनको कमीका बाबजुद प्राप्त त्यो हारले उनको मनमा जित्नैपर्छ भन्ने अठोट र इख पैदा गरिदियो । ‘उमेर सानो भए पनि डर लाग्दैनथ्यो, जस्तोसुकै अपोनेन्टसँग पनि भिड्न तयार हुन्थेँ । तर त्यो पहिलो अनुभवमा धेरै कमजोरी रहेको आभास भयो,’ उनी भन्छन्, ‘फाइनलमा शरीरको दायाँ साइड नचल्ने गरी घाइते भएपछि अब जित्नुपर्छ भन्ने इख पलायो अनि जित्नुबाहेक विकल्प छैन भन्ने लाग्यो । त्यो हार मेरो तेक्वान्दो यात्राको टर्निङ पोइन्ट बन्यो ।’
अन्तर्राष्ट्रिय डेब्यु र सफलताको यात्रा
राष्ट्रिय प्रतियोगिताको प्रदर्शनकै आधारमा सन् ०१८ मा नेपालमै आयोजित साउथ एसियन गेम (जुनियर ७० केजी तौल समूह) मा उनले पहिलो अन्तर्राष्ट्रिय सहभागिताको मौका पाए । तर, फाइनलमा भारतीय प्रतिद्वन्द्वीसँग पराजित हुँदा देशका लागि स्वर्ण दिलाउन नसकेको खिन्नताले उनलाई निकै पिरोल्यो । ‘जिन्दगीमा नमज्जा लाग्यो, रिग्रेट भयो । मनमा ठूलो चोट लाग्यो र मन खिन्न भयो,’ उनी भन्छन्, ‘त्यो ठाउँमा पुगेर पनि देशलाई पदक दिन सकिनँ भन्ने लाग्यो । तर, दोस्रो हुनु पनि उस्तो नराम्रो हैन भनेर चित्त बुझाएँ ।’
यद्यपि, उनको जितको यात्रा रोकिएन । सन् ०१९ मा रामेछापमा आयोजित सिनियर नेशनल तेक्वान्दो च्याम्पियनसिपमा ज्वरो र रुँघाले थलिएको अवस्थामा पनि औषधि खाँदै मैदान उत्रिएका रोशनले एपिएफलाई हराउँदै स्वर्ण पदक चुमे । उनको यो योगदानले कोशी प्रदेश टिमलाई तेस्रो स्थान दिलाउन सफल भयो, जुन आजसम्म प्रदेशका लागि ठूलो उपलब्धि मानिन्छ । यसपछि त प्रदेशस्तरका प्रतियोगितामा धेरैजसो प्रतिद्वन्द्वीहरू उनीसँग रिङमा भिड्न नै डराउँथे ।
चोट र संघर्षबीच ९औँ नेशनलमा स्वर्ण

रोशनको जीवनमा खेलकुद र लाहुरे बन्ने सपनाबीच निरन्तर संघर्ष चलिरह्यो । कक्षा ११ मा पढ्दा लाहुरे भिड्दा हाइपरका कारण असफल भएपछि उनले ३ वर्षको ग्यापपछि पढाइ अघि बढाएका थिए । ०७९ मा बागलुङमा भएको ९औँ नेशनल गेम (७०–७५ केजी) अघि पनि उनी धरानमा लाहुरे ट्रेनिङमै थिए । त्यहाँ पनि सोचेजस्तो नभएपछि बिरक्तिएर वैदेशिक रोजगारीको तयारी गरिरहेका उनलाई गुरु नवीन तामाङले राष्ट्रिय खेलका लागि बोलाए ।
प्रतियोगिताको मुखैमा इटहरीमा आयोजित बन्द प्रशिक्षणका क्रममा उनको दाहिने खुट्टाको लिगामेन्टमा गम्भीर चोट लाग्यो । टेक्नै नसक्ने अवस्थामा पुगेका रोशनलाई गुरु नवीन तामाङ, प्रदेश प्रशिक्षक श्याम र सहकर्मी मनिष श्रेष्ठले हौसला दिए । आइस प्याक, ब्यान्डेज र स्प्रेका भरमा मैदान उत्रिएका उनले सेमिफाइनलमा नेपाल पुलिस र फाइनलमा आर्मीलाई हराउँदै स्वर्ण पदक हात पारे ।
यस जितपछि एपिएफबाट आएको व्यवसायिक खेल प्रस्तावलाई त्याग्दै उनले आफ्नै गृहप्रदेश (कोशी) को प्रतिनिधित्वलाई निरन्तरता दिए ।
हैदराबादमा राष्ट्रिय गान घन्किँदाका आँसु
खेलकुदबाट मात्रै जीविकोपार्जन नहुने भएपछि काठमाडौं बसेर सेफको काम सिक्दै वैदेशिक रोजगारीको भिसा कुरिरहेका रोशनका लागि सन् ०२३ अगस्टमा भारतको हैदराबादमा आयोजित साउथ एसियन गेम अर्को परीक्षा बनेर आयो ।
पारिवारिक समस्या, प्रशिक्षणको अभाव र आर्थिक संकटका बीच उनी आफ्नै खर्चमा एकतर्फी ट्रेनको टिकट काटेर भारत पुगे । ३ दिनको कठिन रेलको यात्रापछि मैदान उत्रिएका रोशनले फाइनलमा अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै देशका लागि ऐतिहासिक स्वर्ण पदक दिलाए । जब विदेशी भूमिमा अन्य देशका खेलाडीलाई पछि पार्दै नेपालको राष्ट्रिय गान बज्यो, उनले आँसु रोक्न सकेनन् । ‘जितेपछि अरू देशको खेलाडीभन्दा आफू माथि बसेर राष्ट्रगान बज्दा खुसीले आँसु आएको थियो,’ उनी भन्छन्, ‘देशका लागि मेडल जितेको वास्तविक आभास भयो ।’
तर, जितको खुसीसँगै फर्कने टिकट नहुँदाको पीडा उत्तिकै दर्दनाक थियो । उनीहरूसँग फर्कने पैसा थिएन । एउटै टिकटमा नेपाल आउनुपर्ने बाध्यता थियो । ‘जितेपछि टिममा खुसीयाली त छ, तर फर्कने टिकट छैन । ठूलो समस्या थियो,’ रोशनले स्मरण गरे, ‘त्यसबेला नविन गुरुले सेभ गरेर उहाँको टिकटमा दुई जना नेपाल आइपुग्यौँ । टिकट चेक गर्न आउँदा कहिले ट्वाइलेटमा लुकेर त कहिले ब्ल्यांकेटभित्र दुई जना लुकेर आउनुप¥यो । दुःखको यात्रा भए पनि गुरुसँगको त्यो यात्रा अविस्मरणीय छ ।’
देशका लागि पदक जित्दा पनि कठिन संघर्ष गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् । ‘हामीले पदक जित्यौँ, तर प्रतियोगितामा जाँदा स्कूल र धर्मशालामा रात बिताउनुपरेको छ,’ उनी भन्छन्, ‘खान र बस्ने ठेगान नहुँदा कतिपय खेल भोकै खेल्नुपरेको छ ।’ देशका लागि दर्जनौँ पदक जितेर पनि खेलाडीले व्यवसायिक स्थायित्व नपाउनु राष्ट्रिय विडम्बना भएको उनी बताउँछन् । ‘खेलकुद क्षेत्रमा राज्यले लगानी नबढाउने र खेलाडीको जीविकोपार्जन सहज नबनाउने हो भने कि त खेल छाड्नुपर्छ, कि त विदेश पलायन हुनुपर्छ,’ रोशन भन्छन्, ‘खेलकुदमा राजनीतिक हस्तक्षेप र पक्षपात बन्द होस् ता कि आउने पुस्ताले ढुक्कसँग खेलमा भविष्य देख्न सकुन् ।’
अन्तर्राष्ट्रिय स्वर्ण जितेर फर्किँदा दमकमा झापा आइटिएफ, विष्ट फ्याक्ट्री, स्थानीय संघसंस्था, कोशी प्रदेश सरकार (१ लाख), जिल्ला खेलकुद विकास समिति (१० हजार) र नेपाल खेलकुद पत्रकार मञ्च झापा (१ लाख नगद) बाट उनी भव्य रूपमा सम्मानित भए । हाल तेक्वान्दोमा थर्ड डन हासिल गरिसकेका रोशन दमक डोजाङमा प्रशिक्षकको भूमिकामा छन् भने विगतमा पाथीभरा डोजाङ, हिमालय मावि र दमक–९ को सप्तश्री स्कूलमा नयाँ पुस्तालाई प्रशिक्षण गराइरहेका छन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।