बर्सेनि करोडौँको बाली सखाप, राहत नपाउँदा विस्थापित हुने जोखिम
दमक ।
नेपालको अन्न भण्डारका रूपमा परिचित झापाका कृषकहरूका लागि बर्खा र वर्षायाम खुसीभन्दा बढी त्रास र मानसिक तनाव लिएर आउँछ । आकाशमा कालो बादल मडारिन थालेपछि झापा गाउँपालिका–७ मदरगाँछका कृषक समीर अलीको मुटुको धड्कन बढ्न थाल्छ । ‘कतै बाढीले फेरि त खेती लैजाँदैन ?’ भन्ने चिन्ताले उनलाई रातभर निद्रा पर्दैन ।
कडा मिहिनेत, चर्को घाम र पसिना बगाएर उमारेको बाली घर भित्र्याउने बेलामा बाढी र बेमौसमी वर्षाले सोत्तर बनाइदिँदा यहाँका किसान वर्षौँदेखि पीडित हुँदै आएका छन् । ‘गत वर्ष पनि १२ बिघा कन्काई माईले खेती बगायो,’ आफ्नो वेदना पोख्दै समीर ‘पाक्नै लागेको धान सबै बाढीमा बग्यो, कहीँबाट केही राहत पनि पाइँदैन ।’
झापाका किसानका लागि यो समस्या समीर अलिका लागि मात्र होइन, जिल्लाभरका हजारौँ कृषकको साझा नियति र दैनिकी बनेको छ । एकातिर बाली लगाउने समयमा रासायनिक मल, गुणस्तरीय बीउ र सिँचाइ नपाएर छटपटाउनुपर्ने बाध्यता छ भने अर्कोतिर अनेकौँ सास्ती सहेर मुस्किलले उब्जाएको खेतीबाली पनि प्राकृतिक विपत्तिको शिकार हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र झापाको तथ्यांकलाई विश्लेषण गर्दा जिल्लाको कृषि क्षेत्रले प्राकृतिक प्रकोपका कारण बर्सेनि ठूलो आर्थिक क्षति व्यहोर्दै आएको देखिन्छ । ०७८ सालयता बेमौसमी वर्षा, डुबान, असिनापानी र हावाहुरीका कारण अर्बौँ रुपैयाँ बराबरको बालीनाली नष्ट भइसकेको छ । ०७८ सालको असोज महिनामा आएको बेमौसमी पानी र डुबानका कारण झापाको मुख्य बाली धान खेतीमा व्यापक क्षति पुगेको थियो । सो समयमा मात्रै ३७ करोड ६४ लाख २३ हजार २९१ रुपैयाँ बराबरको धान बाली बाढी र डुबानले नष्ट पारेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, ०७९ सालको चैत महिनामा परेको बेमौसमी असिनापानीका कारण मकै र तरकारी खेतीमा ठूलो क्षति पुग्यो । असिनापानीले ६ कराेड ५१ लाख ९० हजार ६१५ रुपैयाँ बराबरको मकै र तरकारी बाली सोत्तर बनाएको थियो । सोही वर्ष अर्थात् ०७९ सालको असोज महिनामा पुनः दोहोरिएको बेमौसमी वर्षाले किसानलाई थप प्रताडित बनायो । त्यस बेमौसमी वर्षाका कारण धान र तरकारी बालीमा ५ करोड २८ लाख ८१ हजार रुपैयाँ बराबरको ठूलो क्षति हुन पुग्यो ।
प्रकोपको यो सिलसिला यतिमा मात्रै रोकिएन । ०८२ असोजमा परेको अविरल पानी र त्यसपछिको डुबानले झापाको कृषि क्षेत्रलाई पुनः ध्वस्त पार्यो । त्यतिबेला धान, तरकारी र केरा खेतीमा गरी ६ करोड ३ लाख ९३ हजार ७८० रुपैयाँ बराबरको क्षति भयो । धान पाकेर भित्र्याउनु ठीक अघि भएको यो डुबानले किसानको मुखमा आएको माड खोसेको थियो ।
त्यसैगरी, ०८२ फागुन र चैतमा आएको तीव्र हावाहुरी र असिनापानीले मकै, तरकारी र केरा खेतीमा १ अर्व ७२ करोड ७३ लाख ७४ हजार ६०० रुपैयाँ बराबरको नोक्सानी पुर्यायो । पछिल्लो समय ०८३ को जेठ महिनामा चलेको बिनामौसमी तीव्र हावाहुरीले झापामा फस्टाउँदै गएको व्यावसायिक केरा खेतीलाई निशाना बनायो । हावाहुरीका कारण केरा घारी ढलेर २ करोड १६ लाख ८६ हजार २९२ रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाको विवरणले देखाउँछ ।

बर्सेनि करोडौँको क्षति हुने गरे पनि पीडित किसानसम्म राज्यको राहत वा क्षतिपूर्ति रकम पुग्न सकेको छैन । बाढी र प्रकोपले बाली सखाप पारेपछि बैंकको किस्ता कसरी तिर्ने ? परिवारको गुजारा कसरी चलाउने ? र आगामी सिजनमा खेती कसरी गर्ने ? भन्ने चिन्ताले झापाका किसानहरूलाई पिरोलिरहन्छ । सरकारले कृषकको हितमा काम गर्न नसकेको झापा गाउँपालिका ३ स्थित साधना संस्कृति नमुना कृषि प्रालिका सञ्चालक चन्द्र बस्नेत बताउँछन् ।
‘सरकारको कृषि नीति नै बदल्नुपर्छ । नभए किसानले कहिल्यै सहजता पाउँदैनन् । नयाँ सरकारबाट केही अपेक्षा थियो । तर, गत फागुन, चैत र जेठमा आएको हावाहुरीले केरा खेती सखाप बनाउँदा पनि राज्यले हेरेन । नयाँहरूको सरकार पनि यस्तै रहेछ भन्ने लाग्न थाल्यो,’ उनी भन्छन्, ‘क्षति भएपछि राज्य चाहिँ आउँछ । तर, रेकर्ड मात्रै लिएर जान्छ । हामीले निवेदन चाहिँ दिएका छौँ । राहत आउने टुङ्गो छैन ।’ कृषि बालीमा एकपटक बीमा गरेपछि निरन्तर नवीकरण मात्रै गर्नुपर्ने नीति नल्याएसम्म किसान सधैँ मर्कामा पर्ने उनको भनाइ छ ।
समयमा मल, बीउ नपाउने उत्पादन भएपछि बजार नपाउने र प्राकृतिक प्रकोपले पनि कृषिमै क्षति हुँदा किसान मर्कामा रहेको कमल गाउँपालिकाका कृषक हरिप्रसाद सेढाई बताउँछन् । ‘खेती गरेर केही फाइदा छैन । तर, खेती नगरेर पनि भएको जग्गामा के गर्ने ? समयमा मल पाइँदैन । धानको मूल्य पनि छैन,’ उनी भन्छन्, ‘बाढीले पनि कृषकलाई नै दुःख दिन्छ । तर, राहत कतैबाट पाइँदैन । चुनावका बेला यस्तो गर्छौँ, उस्तो गर्छौँ भन्ने नेताहरू चुनाव सकिएपछि हराउँछन् । कृषकलाई हेर्दैनन् ।’
कृषि ज्ञान केन्द्र झापाले प्राकृतिक प्रकोपले क्षति पु¥याएको कृषि बालीको विवरण जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारसम्म पुर्याउने गरेको छ । तर, कृषकले राहत पाउन नसकेको ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । ‘क्षतिपूर्ति त क्षतिको सबै पाउने भयो । तर, किसानले राहत पनि पाएका छैनन् । ०७८ मा सङ्घीय सरकारले कार्यविधि बनाए पनि राहत पाएका छैनन् । किसानलाई खाता खोल्न लगाएर पनि पैसा निकासा भएन,’ उनी भन्छन्, ‘हामी प्रदेशमा पठाउँछौँ । प्रदेशबाट सङ्घीय मन्त्रालय जान्छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्घीय सरकारसम्म पनि पुग्छ । किसानले क्षतिपूर्ति नभए पनि राहत दिनु भनेर आउने गरेका छन् । केरामा एउटै किसानको धेरै क्षति भएको छ ।’ रातहभन्दा पनि कृषि बीमालाई प्राथमिकता दिनुपर्ने उनी बताउँछन् । कृषि बीमा बाध्यकारी बनाउनुपर्ने उनको तर्क छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।