दमक ।
फुटबलको नियमनकारी निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि गरेको प्रतिबन्ध १०० दिन पूरा भएको छ ।
फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत २४ जुनमा एन्फालाई अनिश्चित कालका लागि निलम्बन गरेको थियो । प्रतिबन्धको समय १०० दिन भैसक्दा पनि नेपाली पक्षले गरेको निलम्बन फुकुवाको अनुरोधलाई फिफाले बेवास्ता गरेको हो । जसका कारण नेपालभर अहिले फुटबल गतिविधि ठप्प छ ।
त्यतिमात्र होइन, निलम्बनमा परेका कारण एन्फाले नेपाली फुटबलको विकास र प्रशासनिक खर्चका लागि फिफाबाट पाउँदै आएको करोडौँ रकम रोक्किएको छ । जसका कारण राष्ट्रिय लिगदेखि ग्रासरुट फुटबल विकास कार्यक्रम, एएफसी वा फिफाको मान्यता आवश्यक पर्ने प्रशिक्षक लाइसेन्ससम्बन्धी कार्यक्रमसमेत रोकिन पुगेको छ ।
त्यस्तै, निलम्बनकै कारण नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिन पाएको छैन । भर्खरै पुरुष फुटबलतर्फ साफ च्यम्पियनसिप नेपालले गामाउन पुगेको छ भने महिला फुटबलतर्फका अन्तर्राष्ट्रिय प्रतियोगिताका छनौट खेलदेखि मैत्रीपूर्ण खेलहरुमा समेत नेपाली टिमले प्रतिबन्धको सामना गरिरहनु परेको अवस्था छ ।
फिफाले यसअघि भारतलाई १० दिन र पाकिस्तानालई २४ दिन लामो निलम्बन गरेको इतिहास छ ।
२५ मार्चमा राष्ट्रिय खेलकुद ऐनको उल्लंघन गरेको भन्दै चुनावी प्रक्रिया रोक्न, विधान संशोधन गर्न र जिल्ला संघलाई आफ्नो विधान संशोधन गरी निर्वाचन गर्न राखेपले निर्देशन दिएको थियो । सरकार त्यस निर्णय फिर्ता लिने पक्षमा छैन भने एन्फा तहगत निर्वाचन गर्ने अडानबाट पछि नहट्दा समस्या सुल्झिएको छैन ।
निलम्बन फुकुवाका लागि एन्फा पदाधिकारीले सहयोग नगरेको सरकारी आरोप छ भने एन्फाले सरकारबाट असहयोग हुँदा निलम्बन अवधि लम्बिएको आरोप लगाउँदै आएको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।