सेतो जर्सीमा काँकडभिट्टा भेट्रान र हरियो जर्सीमा मिल्स भेट्रान विराटनगर ।

दमक ।

कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप २०८३ को प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलहरुमा क्रमश चन्द्रगढी भेट्रान र काँकरभिट्टा भेट्रानले फराकिलो गोलअन्तरको जित निकाल्दै दोस्रो चरण उक्एिका छन् ।

दोस्रो दिनको पहिलो खेलमा मिक्लाजुङ भेट्रान क्लब पाँचथरलाई ५–० गोल अन्तरले पराजित गर्दै चन्द्रगढी भेट्रानले क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा चन्द्रगढीका कप्तान प्रेम लिम्बूले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए भने दोस्रो हाफमा आक्रमक खेल पस्किँदै चन्द्रगढीले मिक्लाजुङमाथि गोलको वर्षा गरेको थियो ।

दोस्रो हाफको ६औं मिनेटमा चन्द्रगढीका लागि मित्र बसन्त, ११औं मिनेटमा युगल किशोर राई, १६औं मिनेटमा सुवास खड्का र १८औं मिनेटमा कप्तान लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई सानदार जित दिलाएका थिए ।

पहेँलोमा कालो धर्के जर्सीमा चन्द्रगढी भेट्रान र निलो जर्सीमा मिक्लाजुङ भेट्रान ।

त्यस्तै, दोस्रो दिनको दोस्रो खेलमा मिल्स भेट्रान विराटनगरलाई ४–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टा भेट्रानले अघिलो चरण प्रवेश गरेको हो ।

खेलको सुरुवाती दोस्रो मिनेटमै मिल्स भेट्रान विराटनगरका जर्सी नम्बर ८ का सुमित डंगेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६औं मिनेटमा काँकरभिट्टाका राजु गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो गोल गरेको दुई मिनेटपछि काँकरभिट्टाले रमेश बस्नेतको गोलबाट अग्रता बनायो । पहिलो हाफमा अग्रता बनाएको काँकरभिट्टा त्यतिमै रोकिएन । दोस्रो हाफको ४औं मिनेटमा राजु पौडेलले गोल गर्दै टोलीको अग्रता ३–१ बनाए । ७औं मिनेटमा लिला बहादुर जोशीले गोल थप्दै टिमलाई ४–१ को फराकिलो जित दिलाएका थिए ।

प्रतियोगिता अन्तर्गत भोलि शनिबार हुने पहिलो क्वाटरफाइनल खेल विर्तामोड भेट्रान र आयोजक दमक निलो बीच हुनेछ भने दोस्रो खेल ढल्केजोवन उर्लाबारी र आयोजक दमक रातोबीच हुनेछ आयोजक क्लबका अध्यक्ष गेजेन्द्र देवानले जानकारी दिए ।

दमक भेट्रान फुटबल क्लबको आयोजनामा दमक २ स्थित बेलडाँगी खेलमैदानमा २१ असोजसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ नगदसहति ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विधागत रूपमा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजक क्लबका सचिव वीरेन राईले बताएका छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्