उर्लाबारी । आगलागी तथा अन्य कारणबाट जलनमा परेका नागरिकको उपचारमा सहजता ल्याउने उद्देश्यले उर्लाबारी नगरपालिकाले विशेष उपचार कोष स्थापना गरेको छ । नगरपालिकाले काठमाडौँको कीर्तिपुरस्थित जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल, कीर्तिपुर अस्पतालसँग सहकार्य गर्दै ‘उर्लाबारी जलन उपचार कोष’ स्थापना गर्ने सम्झौता गरेको छ ।
सम्झौताअनुसार नगरपालिकाले कीर्तिपुर अस्पतालमा १० लाख रुपैयाँको कोष स्थापना गर्नेछ । अस्पतालमा भर्ना भई जलनको उपचार गराउने नगरवासीको उपचार खर्च अस्पतालको निर्धारित सेवा शुल्कका आधारमा यही कोषमार्फत सोधभर्ना गरिने व्यवस्था मिलाइएको छ ।
सम्झौतामा उर्लाबारी नगरपालिकाका तर्फबाट नगरप्रमुख गंगाप्रसाद खरेल र कीर्तिपुर अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता साक्षी रहेका छन् ।
यो सुविधा उर्लाबारीका स्थायी बासिन्दा, नगरपालिकाका कर्मचारी तथा उनीहरूका परिवारले प्राप्त गर्नेछन् । नगरभित्रका अनौपचारिक क्षेत्रका श्रमिक, हिंसापीडित, एकल महिला तथा विपन्न वर्गलाई समेत नगरपालिकाको विशेष सिफारिसका आधारमा उपचार सुविधा उपलब्ध गराइने नगरपालिकाको सचिवालयले जनाएको
छ।
कोषमार्फत उपचार सुविधा लिन बिरामीले उर्लाबारी नगरपालिकाको सिफारिस वा स्थायी बासिन्दा प्रमाणित हुने कागजात, अस्पतालको डिस्चार्ज पेपर, अन्तिम बिल–भर्पाई तथा औषधिको सक्कल बिल पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
जलनको उपचारमा आर्थिक अभावका कारण समस्या भोग्नुपर्ने अवस्थालाई कम गर्न स्थापना गरिएको यो कोषले विपद्का बेला नागरिकलाई स्थानीय सरकारको प्रत्यक्ष संरक्षण र सहयोगको अनुभूति गराउने नगर प्रमुख खरेलले बताएका छन्। नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै उर्लाबारी नगरपालिकाले अघि सारेको यो पहललाई मानवीय र सकारात्मक कदमका रूपमा लिइएको छ।
सम्झौताअन्तर्गत जलनसम्बन्धी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भइहालेमा तत्काल गरिने प्राथमिक उपचारबारे जनचेतनामूलक तालिम र अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिनेछ । सम्झौता तीन वर्षका लागि लागू हुनेछ ।
द्विपक्षीय हस्ताक्षर कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ लिम्बू, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश खड्का, जनस्वास्थ्य अधिकृत रेणुकाप्रसाद काफ्लेलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।