दमक ।
कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप २०८३ मा आयोजक निलो र उद्घाटन खेलमा जदाहा भेट्रान क्लब मोरङलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको छ ।
उसले १७ गते विर्तामोड भेट्रान क्लबसँग दोस्रो चरणको भिडन्त पक्का गरेको छ ।
दमक भेट्रान फुटबल क्लबको आयोजनामा दमक २ बेलडाँगी खेलमैदानमा बिहीबार नै सम्पन्न अर्को खेलमा ढल्केजोवन भेट्रान उर्लाबारी मोरङ विजयी हुँदै क्वार्टर फाइनल प्रवेश गरेको हो ।
धरान बुढासुब्बा भेट्रान सुनसरी विरुद्ध ३–० गोल अन्तरको सहज जित निकाल्दै दोस्रो चरण उक्लिएको ढल्केजोवनले सेमिफाइनल प्रवेशको लागि आयोजक दमक (रातो) भेट्रानसँग १७ गते प्रतिस्पर्धा गर्नेछ ।
असोज १५ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालगायत विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने क्लबका सचिव वीरेन राईले जानकारी दिएका छन् ।
पूर्वखेलाडी सम्मानित

उद्घाटन समारोहका बीच दमकका विभिन्न खेलमा आबद्ध पूर्व खेलाडीहरुलाई सम्मानसमेत गरेको छ ।
सम्मानित हुनेहरुमा बक्सिङतर्फ केशर मगर, फुटबलतर्फ लक्ष्मी रिजाल, धनजीत रुमाहाङ राई, हस्तबहादुर दर्लामी मगर, नारदमणी राई, शनबहादुर धिमाल, गजु देवान, मीनबहादुर दर्लामी मगर, सुन्दर धिमाल, धिरेन सुब्बा, गणेश कुमार चाम्लिङलगायत छन् ।
उनीहरुलाई दमक नगरपालिकाकी उपप्रमुख एवम् प्रमुख अतिथि रेगिना भट्टराई प्रसाईंले सम्मान–पत्रसहित सम्मानित गरेकी थिइन् ।
आज २ खेल हुँदै
प्रतियोगिताअन्तर्गत आज मिक्लाजुङ भेट्रान र चन्द्रगढी भेट्रानबीच पहिलो खेल हुँदैछ भने दोस्रो खेल मिल्स भेट्रान र काँकडभिट्टा भेट्रानबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।