हरेक बुधबार अस्पताले माङसेबुङ ३ मा निःशुल्क विशेषज्ञ चिकित्सक सेवा उपलब्ध गराउने
दमक ।
झापाको दमक ५ स्थित लाइफलाइन अस्पताल र माङसेबुङ गाउँपालिका इलामबीच विशेषज्ञ स्वास्थ्य सेवालगायत विषयमा ७ बुँदे सम्झौता भएको छ ।
सम्झौताअन्तर्गत लाइफलाइन अस्पतालले हप्तामा १ दिन (बुधबार) माङसेबुङ गाउँपालिका ३ स्थित आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्र इलाममा विशेषज्ञ चिकित्सकबाट बहिरङ्ग (ओ.पी.डी.) सेवा उपलब्ध गराउने भएको छ ।
त्यस्तै, माङसेबुङ गाउँपालिकाभित्र बसोबास खुल्ने कागजातका आधारमा अस्पतालमा उपचार गर्न आउने बिरामीका हकमा स्वास्थ्य सेवा लिएवापत लाग्ने शुल्कमा २० प्रतिशत छुट दिइने सम्झौता भएको हो ।
सम्झौताअन्तर्गत दुई पक्षको आपसी समझदारीमा विशेषज्ञ स्वास्थ्य सेवा बारे टुङ्गो लगाइने सम्झौतामा उल्लेख छ ।
बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रममा बीच लाइफलाइन अस्पतालका अध्यक्ष बालचन्द्र सुब्बा र माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता आर्थिक वर्ष २०८३÷०८४ भर कायम हुने बताइएको छ ।
कार्यक्रममा बोल्दै माङसेबुङ गाउँपालिकाका अध्यक्ष राईले अस्पतालले माङसेबुङवासीको स्वास्थ्यलाई ध्यानमा राखेर उपलब्ध गराएको सेवाले माङसेबुङका नागरिकलाई ठूलो लाभ मिल्ने बताए ।
‘हाम्रो पालिकाका नागरिकका लागि विशेषज्ञ स्वास्थ्य सेवा र स्वास्थ्य उपचारमा २० प्रतिशत छुट उपलब्ध गराएर लाइफलाइन अस्पताल परिवारले लगाएको गुणको हामी सधैँ ऋणी रहनेछौँ,’ राईले भने, ‘माङसेबुङवासीका तर्फबाट यो सुविधाका लागि मुरीमुरी धन्यवाद व्यक्त गर्दछु ।’
त्यस्तै, अस्पतालका तर्फबाट अध्यक्ष सुब्बाले माङसेबुङका नागरिकसम्म विशेषज्ञस्तरको स्वास्थ्य सेवा पुर्याउन पाउँदा आफूहरुलाई खुशी लागेको बताए ।
‘हामीले उपचारमा २० प्रतिशत छुट दिने सम्झौता गरेका छौँ । सँगै हामीकहाँ नर्मल डेलीभरी निःशुल्क छ । कथमकदाचित रातविरात बिरामीलाई बच्चा जन्माउन गाह्रो परको खण्डमा अपरेसन गर्नुपर्ने अवस्थाका लागि मात्र ९ हजार रुपैयाँ डाक्टर, नर्स, अन्य स्वास्थ्य कर्मचारी, प्रशासन सबैले खट्नै पर्ने अवस्थाका लागि लिइएको हो । त्यो पनि अति विपन्न परिवारका बिरामीको हकमा छुट दिने गरेका छौँ,’ अध्यक्ष सुब्बाले भने, ‘कम्तिमा बच्चाको आमा–बाबु हुँदैगरेकाले केही रकम त जोहो गरेर राखेका हुन्छन् । सस्तो र सुलभ उपचार सेवा प्रदान गरौँ भन्ने हाम्रो पनि धेय रहन्छ नै ।’
सोही अवसरमा उनले लाइफलाइन अस्पतालमा मृगौला रोगीका लागि उपलब्ध निःशुल्क डायालासिस सेवा अतिविपन्नका लागि प्रदान गर्ने नीति रहेको भए तापनि त्यसो हुन नसकेको दुखेसो पोखे । ‘आर्थिक रूपले शुल्क तिर्न सक्ने अवस्थाका बिरामीले निःशुल्क सेवा नलिइदिए वास्तविक विपन्नका लागि राहत हुनेमा पनि ध्यान पुगेदेखि हुन्थ्यो भन्ने हाम्रो अनुरोध हो ।’
कार्यक्रममा माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङ, स्वास्थ्य शाखा प्रमुख प्रदिप राई, इन्जिनियर टंक मगर, युवराज दाहाललगायत सहभागी थिए ।
त्यस्तै लाइफलाइन अस्पतालका तर्फबाट सञ्चालक बोर्डका सदस्य कृष्ण थापा, डा. सूर्यनारायण साह, मेडिकल सुपरिटेन्डेन्ट डा. निरज साह, प्रशासन प्रमुख सिम्रिक गिरी, सूचना अधिकारी विशाल आङ्देम्बेलगायत सहभागी थिए ।



प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।