कमल ।
कमल गाउँपालिकामा सञ्चालन भएको जापानिज ईन्सिफ्लाइटिस् (जेई) विरुद्धको खोप अभियान–२०८३ अन्तर्गत ५ गतेदेखि १५ असोजसम्म १० हजार ४५० महिला र ७ हजार ४५२ जना पुरुष गरी १७ हजार ९०२ जनाले जेईविरुद्धको खोप लगाएका छन् ।
गाउँपालिकाको कुल लक्षित जनसंख्या २६ हजार ४६८ मध्ये ६७.६ प्रतिशतलाई खोप दिइएको कमल गाउँपालिकाले जानकारी दिएको हो । जेई संक्रमणको जोखिम न्यूनीकरण तथा नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सफलतापूर्वक अभियान सम्पन्न भएको पालिकाले जनाएको हो ।
अभियानअन्तर्गत ३० वर्षदेखि ६० वर्ष उमेर समूहका १३ हजार २३७ जना र ६० वर्षमाथिका ४ हजार ६६५ जना नागरिक खोप अभियानमा सहभागी भएका कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहालले बताए ।
खोप अभियानका क्रममा खोप लगाउन छुटेका नागरिकलाई पालिकाले सम्बन्धित स्वास्थ्य केन्द्रहरु र खोप केन्द्रहरुमा सम्पर्क गरी खोप लगाउनसमेत अनुरोध गरेको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।