दमक ।
झापाको दमकमा भोलि (बिहिबार)देखि कोशी प्रदेश जिल्लास्तरीय भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदैछ । २१ असोजसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशभित्रका विभिन्न १२ वटा टिम सहभागी हुँदैछन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिएका छन् ।
प्रतियोगितामा खेलाडीका हकमा भेट्रान उमेर र संख्यासमेत तोकिएको छ । जसमा ५० वर्ष उमेर समूहका १ जना, ४७ वर्ष उमेर समूहका ३ जना, ४२ वर्ष उमेर समूहका ४ जना र ४० वर्ष उमेर समूहका ३ जना खेलाडी समावेश गर्नुपर्ने छ ।
दमक–२ को बेलडाँगी खेलमैदानमा हुने प्रतियोगितामा फाइनल खेल बाहेक प्रत्येक दिन २ वटा खेल खेलाइने क्लबका अध्यक्ष देवानले बताए । दैनिक २ खेल भएकाले सहभागी टिम र खेलाडीहरुले समयलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अनुमानित ७ लाख खर्च हुने सो प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालगायत विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने क्लबका सचिव वीरेन राईले जानकारी दिए ।
प्रतियोगिताको खर्च क्लबका पदाधिकारी, सदस्य, खेलाडी, शुभेच्छुकहरु र खेलप्रेमीहरुबाट सहयोग सङ्कलन गरिएको अध्यक्ष देवानले बताए । पछिल्लो समय खेलकुदका गतिविधिमा कमी आएकोले खेलाडीमा उत्साह र उत्प्रेरणा बढाउन र स्थानीयस्तरमा फुटबल खेललाई टेवा दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।