ह्यारिस्बर्ग ।

ज्येष्ठ नागरिकको स्वास्थ्य, पारिवारिक हेरचाह, सामाजिक सरोकार तथा स्वास्थ्य सेवामा पहुँचसम्बन्धी विषयमा काम गर्दै आएको प्रोजेक्ट भालाकुसारीले हालै आयोजना गरेको समीक्षा बैठकबाट कार्यक्रमलाई थप व्यवस्थित, परिणाममुखी र समुदायमैत्री ढङ्गले अघि बढाउन आवश्यक समन्वय, प्रचारप्रसार तथा सहभागिता विस्तारमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।

गत हप्ता प्राजेक्ट भलाकुसारीका कार्यकर्ता, अनुसन्धानकर्ता र सल्लाहकारहरूको विशेष बैठक पेन्सलभेनियाको राजधानी ह्यारिस्बर्गमा सम्पन्न भएको थियो ।

बैठकमा परियोजनाले हालसम्म सञ्चालन गरेका गतिविधि, समुदायसँगको सहकार्य, गुणात्मक अन्तर्वार्ताबाट प्राप्त अनुभव तथा आगामी कार्यक्रमको रूपरेखामाथि विस्तृत छलफल गरेको बताइएको छ ।

बैठकको मुख्य जोड अनुसन्धानको आगामी तेस्रो चरणलाई समुदायको वास्तविक आवश्यकता र अनुभवसँग जोडेर अझ प्रभावकारी बनाउने विषयमा रहेको जनाइएको छ ।

बैठकमा प्रोजेक्टकी अनुसन्धानकर्ता तथा लेहाई विश्वविद्यालयकी सहप्राध्यापक डा। रोशेल एल। फ्रौनफेल्कर, रिसर्च साइन्टिस्ट पूजा थापा, पीएचडी शोधार्थी आस्था सिंह, बीसीसीपीएका कार्यकारी निर्देशक तेज मिश्र, सल्लाहकार केशब बैरागी माइलो र बसुधा रिजाललगायत अन्य कार्यकर्ता तथा सरोकारवाला सहभागी थिए ।

अनुसन्धानकर्ता फ्रौनफेल्करले आगामी कार्यक्रम तथा अनुसन्धानको तेस्रो चरणलाई थप प्रभावकारी बनाउने भन्दै संकलन गरिएका अनुभव, अन्तर्वार्ता र समुदायबाट आएका सुझावलाई आधार बनाएर अनुसन्धानको आगामी चरण अघि बढाउनुपर्ने बताएकी थिइन् ।

उनले समुदायको वास्तविक आवश्यकता, भाषिक सहजता, सांस्कृतिक संवेदनशीलता र स्वास्थ्य सेवामा पहुँचका चुनौतीलाई ध्यानमा राखेर आगामी कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिएकी छन् ।

सल्लाहकार बैरागीले छोटो अवधिमै परियोजनाले उल्लेखनीय काम गरे पनि प्रचार प्रसारको अभावले कार्यक्रम ओझेलमा परेको बताएका थिए । ‘यति छोटो समयमा थुप्रै काम भएको छ, तर मिडियासम्म नपुग्दा प्रोजेक्ट ओझेलमा परेको देखिन्छ,’ उनले भनेका छन्, ‘ परियोजनाले पाएका उपलब्धि समुदायसम्म स्पष्ट रूपमा पुगेमा सहभागिता, स्वामित्व र सहकार्य अझ बलियो बन्ने छ ।’

ह्यारिस्बर्गमा बीसीसीपीएसँगको साझेदारीमा सन् २०२४ को अन्त्यबाट प्रारम्भ भएको प्रोजेक्ट भालाकुसारीले नेपाली तथा भुटानी मूलका ज्येष्ठ नागरिक, उनीहरूका परिवार र हेरचाहकर्ताको अनुभव, आवश्यकता तथा स्वास्थ्यसम्बन्धी चुनौती बुझ्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

यो परियोजना अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थको आर्थिक सहयोगमा सञ्चालित अध्ययन परियोजना हो । यसमा लेहाई विश्वविद्यालयले शैक्षिक साझेदारका रूपमा भूमिका निर्वाह गरिरहेको छ भने बीसीसीपीए सामुदायिक साझेदारका रूपमा संलग्न छ ।

परियोजनाअन्तर्गत २० जना ज्येष्ठ नागरिक, उनीहरूलाई सहयोग तथा हेरचाह प्रदान गर्ने परिवारका २० जना प्रतिनिधि र १० जना स्वास्थ्य सेवा प्रदायकसँग गुणात्मक अन्तर्वार्ता सञ्चालन गरिएको थियो । यसअनुसार ज्येष्ठ नागरिक, परिवारका हेरचाहकर्ता तथा स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत व्यक्तिसहित कुल ५० जनासँग अन्तर्वार्ता सम्पन्न भएको परियोजनाले जनाएको छ ।

ज्येष्ठ नागरिक र उनीहरूलाई सहयोग गर्ने व्यक्तिसँग गरिएका ४० वटा अन्तर्वार्ताको विश्लेषण भइसकेको र त्यसबाट प्राप्त अनुभव, चुनौती तथा आवश्यकतालाई पोस्टरमार्फत प्रस्तुत गरिएको छ ।

अनुसन्धानबाट प्राप्त निष्कर्षलाई सरल र समुदायमैत्री भाषामा सार्वजनिक गर्दै त्यसका आधारमा उपयोगी कार्यक्रम निर्माण गर्ने बारे बैठकमा छलफल भएको हो ।

बैठकमा परियोजनाले ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्दा सामना गर्ने कठिनाइ, स्वास्थ्यसम्बन्धी सूचना बुझ्न आवश्यक सहयोग, पारिवारिक हेरचाहकर्ताको भूमिका, भाषा तथा सांस्कृतिक पक्ष, सामाजिक एक्लोपन तथा उपलब्ध सेवासम्म पहुँचजस्ता विषयमा अध्ययन गरिरहेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्