साप्ताहिक बहस ।
भारतको कक्रोच जनता पार्टी (सीजेपी)ले आउँदो अक्टोबर २ मा मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने भएको छ । पार्टीका संस्थापक अभिजीत दिप्केले सोमबार जेल भरो आन्दोलनको घोषणा गरेसँगै सीजेपीबारे आम चासो बढेको छ । यसले भारतीय राजनीतिमा नयाँ तरङ्ग पैदा गर्ने देखिन्छ ।
‘जेल भरो आन्दोलन’ को पृष्ठभूमि भने भारतका राष्ट्रपिता महात्मा गान्धी जयन्ती (अक्टोबर २) मा सीजेपीले मुम्बईको शिवाजी पार्कमा गर्न चाहेको प्रदर्शनसँग जोडिएको छ । सीजेपीले प्रर्दशनको माग गर्दै मुम्बई प्रहरीसँग अनुमति मागेको थियो । तर, उसको अनुरोधलाई मुम्बई प्रहरीले अस्वीकार गरेपछि संस्थापक दिप्केले ‘नागरिकको आवाज दबाउने प्रयास स्वीकार्य नहुने’ भन्दै प्रदर्शनलाई ‘जेल भरो आन्दोलन’ का रूपमा आह्वान गरेका हुन् ।
बम्बई उच्च अदालतको आदेश र महाराष्ट्र सरकारबाट जारी आदेशलाई उद्धृत गर्दै मुम्बई प्रहरीले शिवाजी पार्कमा सीजेपीलाई प्रदर्शनका लागि अनुमति दिन नसकिने भन्यो । सम्भावित ध्वनि प्रदूषण, सवारीसाधनको चाप, सर्वसाधारणको आवागमनमा पर्न सक्ने असर जस्ता कारण देखाउँदै प्रहरीले सीजेपीलाई प्रदर्शनका लागि वैकल्पिक स्थान खोज्न भनेपछि सीजेपीले जवाफमा जेल भरो आन्दोलन घोषणा गरेको हो ।
सीजेपीले गर्न लागेको प्रदर्शन भने भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लक्षित छ । नयाँ आन्दोलनको प्रमुख एजेन्डा भारतको निर्वाचन आयोगसँग जोडिएको छ । सीजेपीले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेको छ । मतदाता नामावली परिवर्तनसम्बन्धी निर्णय, मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ (एसआईआर) अभ्यासलाई लिएर निर्वाचन आयोग विवादमा परेपछि सीजेपीले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै मुख्य आयुक्तको राजीनामाको मुद्दा अगाडि ल्याएको हो । सीजेपीले सन् २०२५ जनवरीको मतदाता सूची पुनःस्थापना गर्न र सन् २०२३ को निर्वाचन आयोगसम्बन्धी कानुन खारेज गरी सुधार गर्नुपर्ने माग राखेका छन् ।
भारतीय युवाहरूले सामाजिक सञ्जालबाट सुरु गरेको व्यङ्ग्यात्मक र डिजिटल क्रान्तिका रूपमा सन् २०२६ को मे महिनाबाट आकार लिएको सीजेपी यतिबेला भारतको सत्तासिन भारतीय जनता पार्टीकै लागि खतरा बन्दै गएको छ । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरूलाई ‘कक्रोच’ र ‘समाजका परजीवी’ भनेर सस्तो टिप्पणी गरेपछि त्यस भनाइप्रति असन्तुष्ट युवा पंक्तीले त्यसको कडा प्रतिवाद गर्न सुरु गरेका थिए । युवाहरुले सामाजिक सञ्जालमा ‘म पनि कक्रोच’ भन्ने नारासहित सीजेपी आन्दोलन जन्मन पुगेको थियो ।
सामाजिक सञ्जालमा सक्रिय युवाले सुरु गरेको सीजेपी आन्दोलनले भारतमा व्याप्त बेरोजगारी, चिकित्सा अध्ययन (नीट परीक्षा) मा हुँदै आएको प्रश्नपत्र लिक र त्यसले निम्त्याएका समस्याविरुद्ध सशक्त आन्दोलन गरिसकेको छ । सजिेपीको शान्तिपूर्ण प्रर्दशनको सामना गर्न नसकेर भारतमा शक्तिशाली मानिएको नरेन्द्र मोदी सरकारका शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट राजीनामा दिन बाध्य पारेको थियो ।
कुनै खास विचार वा जातिरसमुदायबाट प्रेरित भएको नभई सीजेपी आन्दोलन देशको खस्किँदो शैक्षिक प्रणाली, बेरोजगारी, सम्पत्तिको अत्यधिक केन्द्रीकरण (सीमित मानिससँग अत्यधिक सम्पत्ति थुप्रिनु) र सरकारी संस्थाप्रतिको अविश्वासका कारण सिर्जित युवा आक्रोशको समग्र रूप मानिएको छ ।
एजेन्सीहरुको सहयोगमा ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।