कमल ।

सन् २०२७ को नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन झापाको कमल गाउँपालिकामा आयोजना हुने तय भएको छ । कमलनगर जेसीजको आतिथ्यतामा हुने सम्मेलनका लागि आवश्यक बिडिङ प्रक्रिया पूरा भएसँगै सम्मेलन कमल गाउँपालिकामा आयोजना गर्ने औपचारिक घोषणा भएको हो ।

नेपाल जेसीजले हरेक वर्ष आयोजना गर्दै आएको क्षेत्रगत सम्मेलनअन्तर्गत सन् २०२७ को क्षेत्र ‘क’ सम्मेलन कमलमा आयोजना गर्न कमलनगर जेसीजले बिडिङ प्रस्तुत गरेको थियो । चारआली जेसीजको आतिथ्यतामा शुक्रबार र शनिबार असोज ९ र १० गते सम्पन्न वर्ष २०२६ को क्षेत्र ‘क’ सम्मेलनका क्रममा बिडिङ प्रक्रिया पूरा गरिएको कमलनगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी देवराज भण्डारी (महेश)ले जानकारी दिए ।

कमलनगर जेसीजका बिडिङ चियरपर्सन जेसी नारायण बस्नेतले सम्मेलन आयोजना गर्न आवश्यक सम्पूर्ण तयारीसहित बिडिङ पूरा गरिएको बताए । बिडिङ स्वीकृत भएपछि आगामी वर्षको क्षेत्र ‘क’ सम्मेलन कमल गाउँपालिकामा आयोजना गर्ने घोषणा गरिएको हो ।

कमलनगर जेसीज वर्ष २०२६ का अध्यक्ष भण्डारीले सम्मेलन कमलमा आयोजना हुनु यस क्षेत्रका युवाको नेतृत्व तथा क्षमता विकासका लागि महत्वपूर्ण अवसर हुने दावी गरे । ‘सम्मेलनले १८ देखि ४० वर्ष उमेर समूहका युवालाई नेतृत्व विकास, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय बनाउन सहयोग पुग्नेछ,’ उनले भने, ‘साथै, कमल गाउँपालिका तथा आसपासका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सम्मेलन महत्वपूर्ण माध्यम बन्ने अपेक्षा छ ।’

सम्मेलनमा क्षेत्र ‘क’ अन्तर्गतका विभिन्न जेसीज शाखाका युवाको सहभागिता रहनेछ । सम्मेलनका क्रममा नेतृत्व विकास, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व तथा युवासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाइ छ ।

कमलनगर जेसीजले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न स्थानीय सरकार, विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवालासँग सहकार्य गर्दै आवश्यक तयारी अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्