नेपाली कांग्रेस झापा–५ सभापतिमा  के.सी.को उम्मेद्बारी

नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ को सभापति पदका लागि रवि के.सी. ले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका के.सी.ले लामो समयदेखि पार्टी संगठन र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

विद्यार्थी राजनीतिबाट अघि बढेका उनले नेपाली कांग्रेस दमक नगर समिति सदस्य हुँदै झापा जिल्ला सदस्यको जिम्मेवारी सम्हालिसकेका छन्। त्यसैगरी झापा क्षेत्र नं. ५(ख) को सभापति तथा क्षेत्रीय उपसभापतिका रूपमा समेत काम गरिसकेका छन्। पार्टीका विभिन्न तहमा रहेर संगठन निर्माण, कार्यकर्ता परिचालन र स्थानीय राजनीतिक गतिविधिमा सहभागी हुँदै आएको उनको अनुभव छ।

के.सी.को राजनीतिक यात्रासँगै सामाजिक क्षेत्रमा पनि सक्रियता देखिन्छ। विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुँदै नेतृत्वदायी जिम्मेवारी सम्हालेका उनले स्थानीयस्तरका सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा समेत काम गर्दै आएका छन्। हाल उनी दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।

खानेपानी, सरसफाइ तथा उपभोक्तासँग प्रत्यक्ष जोडिएको संस्थाको नेतृत्व गरिरहेका के.सी.ले सामाजिक नेतृत्वको अनुभवलाई पार्टी संगठनसँग जोडेर अघि बढ्ने बताउँदै आएका छन्। लामो समयको राजनीतिक सक्रियता र संगठनात्मक अनुभवलाई आधार बनाउँदै उनले क्षेत्रीय सभापतिका रूपमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

झापा–५ कांग्रेसभित्र नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धामा के.सी.को उम्मेदवारीलाई पनि चासोका साथ हेरिएको छ। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा पार्टीका विभिन्न तह हुँदै सामाजिक संस्थाको नेतृत्वसम्म पुगेको छ।

अब क्षेत्रीय सभापतिको जिम्मेवारीका लागि उनको उम्मेदवारीले पार्टी संगठनमा कस्तो बहस र प्रतिस्पर्धा सिर्जना गर्छ भन्ने विषय कांग्रेस कार्यकर्तामाझ चासोको विषय बनेको छ। पार्टीभित्र संगठन सुदृढीकरण, कार्यकर्ताबीचको समन्वय र आगामी राजनीतिक चुनौती सामना गर्ने विषय उम्मेदवारका मुख्य एजेन्डा बन्ने देखिन्छ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्