उनले सहकारीलाई केवल बचत तथा ऋण कारोबारमा सीमित नराखी सदस्यको आर्थिक तथा सामाजिक विकासको साझेदार संस्थाका रूपमा थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्।
दमक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी निर्वाचनमा सञ्चालक सदस्य पदका उम्मेदवार सुजन खरेलले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। खरेलले संस्थाको सञ्चालक सदस्य पदका लागि क्रम संख्या १६ बाट उम्मेदवारी दिएका हुन्।
आगामी असोज १० गते हुने निर्वाचनलाई लक्षित गर्दै खरेलले सहकारीको संस्थागत विकास, सदस्यको हित तथा प्रभावकारी नेतृत्वलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
खरेलले सहकारी सञ्चालनमा पारदर्शिता, सुशासन र जवाफदेहितालाई विशेष महत्व दिनुपर्ने बताएका छन्। सदस्यको बचत तथा संस्थाको सम्पत्तिको सुरक्षित व्यवस्थापन, नियमित आर्थिक विवरण तथा सूचना प्रवाह, प्रभावकारी लेखा परीक्षण र निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने उनको धारणा छ।
त्यस्तै, सहकारीमा देखिन सक्ने आर्थिक तथा व्यवस्थापकीय जोखिमको पहिचान गरी उचित जोखिम व्यवस्थापन गर्नुपर्ने, सञ्चालक समिति र व्यवस्थापनबीच जिम्मेवारी स्पष्ट हुनुपर्ने तथा सदस्यका गुनासा र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनले बताएका छन्।
खरेलले सहकारीको दीर्घकालीन विकासका लागि युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई समेत जोड दिएका छन्। प्रविधिमैत्री सेवा विस्तार गर्दै युवा, महिला तथा सबै सदस्यको अर्थपूर्ण सहभागिता बढाउने र सदस्यलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनेतर्फ सहकारी अघि बढ्नुपर्ने उनको भनाइ छ।
उनले सहकारीलाई केवल बचत तथा ऋण कारोबारमा सीमित नराखी सदस्यको आर्थिक तथा सामाजिक विकासको साझेदार संस्थाका रूपमा थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्।
खरेलले सहकारीको समृद्धिका लागि संगठित, सक्षम, पारदर्शी र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै निर्वाचनमा आफूलाई क्रम संख्या १६ मा अमूल्य मत प्रदान गर्न सदस्यहरूसँग आग्रह गरेका छन्।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।