१६ वर्षमा ८० जनाको मृत्यु, २९ हात्ती मारिए

झापा ।

झापामा मानव र जङ्गली हात्तीबीचको द्वन्द्व दिनप्रतिदिन उग्र बन्दै गएको छ । हात्तीको आक्रमणबाट मानिसको मृत्यु हुने र मानिसका कारण हात्ती मारिने प्रवृत्ति बढ्दै गएको छ । डिभिजन वन कार्यालय झापाको तथ्यांकअनुसार झापामा पछिल्लो १६ वर्षको अवधिमा हात्तीको आक्रमणबाट ८० जना मानिसले ज्यान गुमाएका छन् भने २९ वटा जङ्गली हात्ती मारिएका छन् ।

झापाको मेचीनगरस्थित बाहुनडाँगीमा त हात्ती समस्या चुनावी एजेन्डा नै बन्दै आएको छ । भारतबाट हूलका हूल पस्ने हात्तीले प्रताडित बनेका स्थानीयले निर्वाचनमा उम्मेदवार बन्नेलाई आफ्ना समस्या समाधान गर्न माग गर्दै आएका छन् । यहाँबाट निर्वाचित हुने सांसदले पनि हात्ती समस्याका बारेमा संसद्मा पटक–पटक विषय उठाउँदै आएका छन् ।  तर, हात्ती–मानव द्वन्द्व समाधान हुन सकेको छैन । वर्षौँदेखि यो समस्या ज्यूँकात्यूँ छ ।

झापामा हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको संख्या जस्तै मानिसका कारण हात्तीको मृत्यु हुने संख्या पनि धेरै छ । हात्ती मृत्युको कारणमा कतिपय मानवीय कारण अर्थात् मान्छेले लगाएका करेन्ट, मानिसले गोली प्रहार गर्नुलगायतबाट हात्ती मारिँदै आएका छन् ।

वाइल्ड नेपालले सार्वजनिक गरेको तथ्यांकअनुसार हात्तीको प्राकृतिक बासस्थानमाथि भएको अतिक्रमण र जैविक मार्ग (कोरिडोर) खण्डित हुँदा यो समस्या संकटका रूपमा चुलिएको हो । ०६७ सालयताको तथ्यांक हेर्दा झापामा हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढी रहेको छ । ०६७ सालमा २ जनाको मृत्यु भएकोमा ०८० सालमा आइपुग्दा यो संख्या बढेर एकै वर्षमा ८ पुगेको थियो ।

तथ्यांक अनुसार ०६८ र ०६९ मा ७/७ जना, ०७० मा ३ जना, ०७२ मा ४ जना, ०७३, ०७४, ०७७, ०७८ र ०७९ मा ५/५ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाको तथ्यांकमा उल्लेख छ । यस्तै ०८१ मा ४ जना तथा ०८२ र ०८३ मा ६/६ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउने ८० जनामध्ये १० जना गैरनेपाली रहेको डिभिजन वन झापाले जनाएको छ ।

गत वर्ष मात्रै हात्तीको आक्रमणबाट झापामा ६ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका थिए । हात्तीमाथि पनि संकटद्वन्द्वका कारण मानिस मात्र नभई वन्यजन्तु आफैँ पनि असुरक्षित बनेका छन् । ०६२ सालदेखि हालसम्म झापामा २९ वटा जंगली हात्ती मारिएका छन् । विशेष गरी ०८२ सालमा मात्रै ६ वटा हात्ती मारिएका थिए, जुन अहिलेसम्मकै उच्च संख्या हो ।

राहत वितरण र द्वन्द्वका कारण हात्तीको आक्रमणबाट प्रभावित र पीडित परिवारलाई डिभिजन वन कार्यालयले हालसम्म झण्डै २ करोड रुपैयाँ राहत रकम वितरण गरिसकेको जनाएको छ । तर, स्थानीय बासिन्दाहरूले भने आर्थिक राहतभन्दा स्थायी सुरक्षाको माग गर्दै आएका छन् । विज्ञहरूका अनुसार हात्तीको प्राकृतिक बासस्थान नष्ट हुनु, जंगलभित्र खाद्य स्रोतको कमी हुनु, बसोबास क्षेत्रको तीव्र विस्तार, रातको समयमा बालिनजिक चर्को आवाज र तीव्र बत्ती बालेर हात्ती धपाउन खोज्नु तथा पाकेको कृषि बाली खाने क्रममा मानिस र हात्ती आमनेसामने हुनु नै यी द्वन्द्वका मुख्य कारण हुन् ।  

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हात्तीको बासस्थान संरक्षण, हात्तीमैत्री पूर्वाधार (विद्युतीय तारबार र पर्खाल) निर्माण, समुदायस्तरमा सचेतना अभिवृद्धि र क्षतिपूर्ति वितरणलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको डिभिजन वन झापाका सूचना अधिकारी अमृतबहादुर लिम्बूले बताए ।

सर्तक रहन वनको आग्रह

एआई निर्मित तस्वीर ।

झापामा दिनप्रतिदिन बढ्दै गएको मानव–हात्ती द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति रोक्न डिभिजन वन कार्यालय, झापाले विशेष सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गरेको छ । वनले आफ्नो वेब साइटमा निर्देशिका जारी गर्दै ‘मानव–हात्ती सह–अस्तित्वका लागि हाम्रो सहकार्य’ कायम गर्न आग्रह गरेको हो ।

निर्देशिका अनुसार गाउँ तथा बस्ती आसपास हात्ती देखिने बित्तिकै नआत्तिई तुरुन्तै सुरक्षित स्थानतर्फ जान र हात्ती धपाउनुपरेमा एक्लै नभई सामूहिक प्रयास गर्दै सुरक्षित दूरी कायम राख्न आग्रह गरिएको छ । त्यसैगरी हात्ती आवत–जावत गर्ने जैविक मार्गमा यात्रा गर्दा विशेष सचेत रहन र मदिराजन्य पदार्थ सेवन गरेर रातिको समयमा हिँडडुल नगर्न भनिएको छ । हात्तीलाई आकर्षित गर्ने नुन, अन्न तथा मदिराजन्य पदार्थहरू सुत्ने कोठानजिक नराख्न र घर वरिपरि सधैँ पर्याप्त बत्ती बालेर उज्यालो बनाइराख्न वन कार्यालयले सुझाएको छ ।

विशेष गरी बिहान, साँझ वा रातिको अँध्यारो समयमा अनावश्यक हिँडडुल नगर्न तथा छावा (बच्चा) साथमा भएको वा मात्तिएको हात्ती निकै आक्रामक हुने भएकाले उनीहरूबाट विशेष सावधानी अपनाउन निर्देशिकामा जोड दिइएको छ । यसैगरी हात्ती गाउँ वा बस्तीतर्फ आएको बेला जङ्गल वा वन क्षेत्रभित्र प्रवेश नगर्न र धनमाल वा कृषि बालीभन्दा पहिले आफ्नो ज्यान जोगाउने कार्यलाई पहिलो प्राथमिकता दिन डिभिजन वन झापाको अनुरोध छ ।

हात्तीको मृत्युमा हुँदैन अनुसन्धान

२ वर्षअघि झापाको मेचीनगर मेचीनगर–११ स्थित कालिका सामुदायिक वनमा करिब ४० वर्ष उमेरको वयस्क भाले हात्ती हत्या गरिएको अवस्थामा भेटियो । डिभिजन वन कार्यालय झापाका अनुसार त्यसबेला मृत हात्तीको दाह्रा र रौँ हराएको थियो । उक्त हात्ती तस्करीकै लागि हत्या गरिएको हुनसक्ने वनको आशंका थियो । तर, डिभिजन वनले बेवास्ता गर्दै हात्ती गाड्यो । अधिकारकर्मीको दबाबपछि ५ दिनपछि निकालेर हेर्दा उक्त हात्तीको गोली लागेर मृत्यु भएको पुष्टि भयो ।

पछिल्लो १६ वर्षमा झापामा २९ वटा हात्तीले ज्यान गुमाएका छन् । कतिपय हात्तीको शरीरमा गोली भेटिएको छ भने कतिपयलाई करेन्ट लगाएर मारिएको छ । तर, डिभिजन वन कार्यालयले अनुसन्धानमा खेलाँची गर्दा हात्तीको मृत्युको कारण नै पत्ता लाग्न सक्दैन । अनुसन्धान फितलो हुँदा हात्ती मार्ने कानुनी दायरामै आउन सक्दैनन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार हात्ती मार्न, बिक्री–वितरण गर्न निषेध छ । यदि कसुर ठहर भएमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । तर, यो ऐनअनुसार झापामा कारबाही भएको रेकर्ड डिभिजन वनसँग छैन । झापामा हालसम्म हात्तीको अङ्ग तस्करी गर्ने कोही पनि पक्राउ परेको उदाहरण नै छैन । दाह्रा, खुर, रौँ, हड्डीलगायत शरीरका विभिन्न अङ्गको तस्करीका लागि हात्तीको हत्या हुने गरेको छ । 

डिभिजन वन झापाका सूचना अधिकृत अमृतबहादुर लिम्बू नै हात्ती मारिएको घटनामा कोही व्यक्ति पक्राउ परेको नपरेको विषयमा बेखबर छन् । तर, डिभिजन वन स्रोतका अनुसार हालसम्म हात्तीको हत्यामा संलग्न भएको आरोपमा कसैलाई कारबाही भएको छैन । हात्तीको हत्याको विषयमा अनुसन्धान नै नहुने गरेको स्रोतको दाबी छ ।

झापामा लामो समय हात्ती–मानव द्वन्द्व न्यूनीकरणमा काम गरेका मेचीनगर नगरपालिका ४ का वडाध्यक्ष अर्जुन कार्की पूर्वमा हात्ती मारिएको घटनामा कसैलाई कारबाही गरेको सुन्नमा नआएको बताउँछन् । प्रशासनको कायरताले हात्ती मारिँदा पनि अनुसन्धान नभएको उनको भनाइ छ । ‘हात्ती मारेर दाह्रा लगेका घटना पनि छन् । तर, त्यस्तो संवेदनशीले विषयमा अनुसन्धान भएर कोही पक्राउ परेको थाहा छैन । वन्यजन्तुसँग मान्छेको द्वन्द्व त छ । तर, यो पृथ्वीमा हात्तीले पनि बाच्न पाउने अधिकार छ,’ उनी भन्छन्, ‘प्रशासन दर्बिलो नहुँदा अनुसन्धान फितलो बन्छ । यो प्रशासनको कायरता हो । किन यसरी कायरता देखाइरहेको छ, हामीले पनि बुझ्न सकेका छैनौँ । यो त लज्जास्पद अवस्था हो ।’

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्