दमक ।
झापाको गौरादह ५ स्थित बालुबथानको जनता माविका ६० जना विद्यार्थीलाई स्वास्थ्य, अनुशासन र आत्मरक्षाका लागि तेक्वान्दो तालिम खेल सिकाउन सुरु गरिएको छ ।
१ भदौदेखि विद्यालयको प्राङ्गणमा नै विद्यार्थीलाई तेक्वान्दो खेल सिकाउन थालिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । विद्यालय समयपछि बुधबार, बिहीबार र शुक्रबार विद्यार्थीले तेक्वान्दो सिक्न थालेका हुन् ।
‘पढाइका अतिरिक्त विद्यार्थीहरुलाई खेलमार्फत अनुशासन र आत्मरक्षामा सघाउ पुगोस् भनेर दमक तेक्वान्दो डोजाङसँग मिलेर यो कार्यक्रम सुरु गरेका हौँ,’ श्रेष्ठले भने, ‘हप्तामा ३ दिन विद्यालय समयपछि खेल सिक्न पाउँदा विद्यार्थी खुसी छन् ।’
खेल सिकेवापत प्रतिविद्यार्थी मासिक करिब २०० रुपैयाँ डोजाङलाई उपलब्ध गराउनु पर्छ । जसका लागि विद्यार्थीले ५० प्रतिशत बुझाउनुपर्छ भने बाँकी ५० प्रतिशत विद्यालयले नै व्यहोर्ने सहमति भएको छ ।
दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमाल विद्यालयका विद्यार्थीहरुको खेलप्रतिको झुकाबका कारण आफूहरुले प्रशिक्षक उपलब्ध गराएर प्रशिक्षणको वातावरण तयार भएको बताउँछन् । विभिन्न विद्यालयहरुमा तालिका मिलाएर प्रशिक्षक खटाइएको अध्यक्ष धिमाल बताउँछन् ।
‘हामीले अन्य विद्यालयहरुमा पनि प्रशिक्षण गराइरहेका छौँ । बालुबथानमा पनि त्यहाँ अध्ययनरत विद्यार्थीहरुको खेलप्रतिको रुची र झुकाबका कारण प्रशिक्षक उपलब्ध गराएर अभ्यास सुरु भएको हो,’ उनी भन्छन्, ‘अहिले ६० हाराहारी विद्यार्थी सहभागी छन् । दशैंतिहार लगत्तै राष्ट्रपति रनिङ शिल्ड हुने भएकाले त्यसको तयारीका लागि पनि विद्यालयलाई मद्दत पुग्छ भन्ने हो ।’
डोजाङकी प्रशिक्षक प्रतिमा तामाङले हप्तामा ३ दिन बालुबथानस्थित जनता माविको प्राङ्गणमा प्रशिक्षण गराउँदै आएकी छन् ।
दमक तेक्वान्दो डोजाङले दमकका विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरुमा पनि तेक्वान्दो प्रशिक्षण गर्दै आएको अध्यक्ष धिमालको भनाइ छ ।
दमक ३ को ढुकारपानी मावि र दमक २ को भृकुटी माविमा डोजाङले प्रशिक्षक उपलब्ध गराएर खेल सिकाइरहेको छ । त्यस्तै, दमक ५ का सर्वोदय र मदरल्याण्ड बोर्डिङ, दमक ७ का झापा मोडल अंग्रेजी स्कूल र पूर्वाञ्चल बोर्डिङ, दमक २ को सनराइज बोर्डिङमा पनि तेक्वान्दो प्रशिक्षण भइरहेको डोजाङले जनाएको हो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।