दमक ।

पूर्व फुटबलर एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य दीपेन्द्र धिमाल (ड्राइभर)को बिहीबार बिहान निधन भएको छ ।

मोरङको उर्लाबारी–६ निवासी धिमाल लामो समयदेखि प्याङ्क्रियाजको क्यान्सरबाट पीडित थिए । केही समयअघि भारतको तेलङ्गानामा उपचार गराएर घर फर्किएका उनको ५७ वर्षको उमेरमा बिहीबार बिहान ५ बजे निधन भएको हो ।

धिमालको निधनको खबरसँगै उर्लाबारी तथा आसपासको फुटबल क्षेत्र र खेलप्रेमीहरूमा शोक छाएको छ । फुटबल खेलाडीका रूपमा एक समयका चर्चित धिमालले मैदानमा विपक्षीलाई झुक्याउन निपूर्ण कला प्रर्दशनका कारण प्रशंसकहरुबाट ‘ड्राइभर’ उपनाम नै पाएका थिए ।

स्थानीय स्तरमा फुटबलको विकास, खेलाडी उत्पादन र खेल क्षेत्रसँग सम्बन्धित गतिविधिसँगै फुटबलको संस्थागत विकास र व्यवस्थापनका लागि लामो समय योगदान गरेका धिमाल पछिल्लो समय एन्फाको केन्द्रीय सदस्यका रूपमा आबद्ध दिए ।

धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका दिवंगत धिमालका श्रीमती, १ छोरा र १ छोरी छन् ।

उनको आजै धिमाल परम्पराअनुसार अन्त्यष्टि गरिने धिमाल जातीय विकास केन्द्रका महासचिव मात्रिका धिमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्