माङसेबुङ ।

बिहीबारबाट लगातार ४ दिनसम्म भारीदेखि अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको चेतावनीसँगै माइसेबुङ गाउँपालिकाले उच्च सतर्कताका लागि आह्वान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वसूचना र जिल्ला सुरक्षा समिति, इलामको जानकारीका आधारमा बुधबार बसेको पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय बासिन्दा, पर्यटक तथा सरोकारवालालाई सतर्कता अपनाउन अनुरोध गरेको हो ।

बैठकपछि माङसेबुङ गाउँपालिकाले जारी गरेको सूचनामा स्थानीयवासीलाई रातिको समयमा सवारीसाधन सञ्चालन नगर्न, खोला, खोल्सा, नदी, झरना र पहिरोको जोखिम भएका क्षेत्रमा नजान आग्रह गरेको हो ।

पहिरोको जोखिम रहेका सडक तथा भिरालो क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सम्भव भएसम्म लामो दूरीको यात्रा स्थगित गर्नसमेत पालिकाको अनुरोध छ ।

त्यसैगरी घर, गोठ तथा सम्भव भएसम्म अन्य सार्वजनिक भौतिक संरचनाको आसपास पानी निकास व्यवस्थित गरी वर्षाको पानी जम्न नदिन पूर्वतयारी गर्न अनुरोध गर्दै पालिकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारलाई आफ्ना महत्त्वपूर्ण कागजात, खाद्यान्न, औषधि, लत्ताकपडा तथा अत्यावश्यक सामग्री सुरक्षित स्थानमा राख्न सुझाएको हो ।

पालिकाले जारी गरेको सूचनामा विपद्को जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिलाई विशेष सावधानीपूर्वक सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

जोखिमयुक्त पर्यटकीय क्षेत्रमा भ्रमण नगर्न÷नगराउन अनुरोध गर्दै गाउँपालिकाले सम्भावित विपद्को अवस्थामा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, वडा कार्यालय वा गाउँपालिकाको सम्बन्धित शाखामा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

साथै, जोखिमलाई मध्यनजर गरेर सबै वडा कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य संस्था, विद्यालय, स्थानीय संघसंस्था र सरोकारवालालाई आवश्यक पूर्वतयारी अवस्थामा रहन भनेको छ ।

इलाममा ४ रात गाडी गुड्न नदिइने

गाउँपालिकाले विपद्सम्बन्धी थप जानकारी तथा समन्वयका लागि विपद् सम्पर्क व्यक्ति तथा इन्जिनियर युवराज दाहाललाई (८४२(७(६६१ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

भारी वर्षाको उच्च जोखिम रहने भन्दै मेची राजमार्गमा बिहीबारदेखि ४ दिनसम्म रातिको समयमा सवारी सञ्चालन गर्न प्रतबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार बेलुका ७ बजेदेखि आइबार बिहानसम्मका लागि मेची राजमार्गसहित मेची करिडोरलगायत सडकमा रातको समयमा सवारी आवागमन रोकेको हो ।

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएसँगै इलाम जिल्ला प्रशासनले सावधानीसहित सवारी आवागमनमा कडाइ गरेको हो ।

प्रशासनले जारी गरेको सूचनामा असोज ११ गते बिहानसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मोची करिडोरलगायत इलाम जिल्लाका सडकहरुमा सवारी आवागमन बन्द गर्ने निर्णय भएको उल्लेख छ ।

अत्यावश्यक परेमा नजिकको प्रहरीको सहयोग लिएर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको हो ।

गत वर्ष असोज १८ राति इलाम जिल्लामा अति वर्षाका कारण आएको बाढी र पहिरोका कारण इलाम जिल्लाका मेची राजमार्गसहित अन्य भित्री सडकमा क्षति पुगेको थियो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्