ठूला प्रतियोगिता ठप्प, राष्ट्रिय खेलाडी गाउँका प्रतियोगितामा

गौरादह ।

मैदान हिलाम्मे थियो, आकाशबाट दर्किएको झरीले बलको गति र खेलाडीको चाल दुवैलाई चुनौती दिइरहेको थियो । तर, गौरादहमा उपस्थित दर्शकहरूको हुटिङ र खेलाडीको जित्ने हुटहुटीसामु प्रतिकूल मौसम फिक्का बन्यो ।

अन्ततः घरेलु प्रतियोगितामा ‘स्पर्श सामाजिक क्लब, गौरादह’को जर्सी लगाएर मैदान उत्रिएको टिमले प्रथम गौरादह महिला फुटबल प्रतियोगिताको उपाधि चुम्यो । जितपछि खेलाडीहरूको अनुहारमा खुसी त थियो, तर त्यो खुसी पछाडि नेपाली फुटबलको वर्तमान उकुसमुकुस र भविष्यप्रतिको गहिरो चिन्ताले पिरोलिरहेको थियो ।

विजयी टोली कुनै सामान्य स्थानीय खेलाडीहरूको मात्र समूह थिएन । टोलीको नेतृत्व सम्हालेकी सिमरन राई नेपालको यू–२० राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर हुन् । उनीसँगै मैदानमा आयोजकको जर्सीमा देखिएका अञ्जली चन्द, समीक्षा मगर र अनिशा राई, झुमा पोर्तेल, सुजता पालुङ्वा, मनिता तुम्म्रोक, सुशीला चौधरी, प्रतिक्षा राई, सुनिता भुलानजस्ता उमेर समूहमा राष्ट्रिय जर्सी लगाइसकेका खेलाडी मैदानमा उत्रिएका थिए । यी नामहरू राष्ट्रिय उमेर समूह र देशको चर्चित ‘संकटा क्लब’बाट व्यवसायिक फुटबल खेल्ने स्थापित नाम हुन् । चर्चित र व्यवसायिक क्लब संकटाका नियमित खेलाडी र राष्ट्रिय टोलीका उदीयमान ताराहरू मोफसलको सानो प्रतियोगितामा यसरी प्रतिस्पर्धा गरिरहेका भेटिनु आफैँमा दुखान्त कथा हो । संकटा क्लबमा आबद्ध भए पनि अहिले राष्ट्रियस्तरका प्रतियोगिता नभएका कारण क्लबको सम्झौता र अनुमतिमै खेलाडीहरू बाहिर खेल्न पुगेका हुन् ।

अहिले नेपाली फुटबल इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) माथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध र घरेलु लिग तथा प्रतियोगिताहरू पूर्ण रूपमा ठप्प हुँदा मैदानहरू सुनसान छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू नहुँदा सिनियर राष्ट्रिय टोलीका धेरै अनुभवी खेलाडीहरू भविष्य खोज्दै वैदेशिक लिग खेलिरहेका छन् । राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा उत्रन नपाएको महिनौँ भयो । यस्तो निराशाजनक अवस्थामा उमेर समूहका र युवा खेलाडीहरूका लागि भने मोफसलमा हुने साना प्रतियोगिताहरू नै फुटबलसँग जोडिरहने एकमात्र माध्यम बनेका छन् । ‘अहिले नेपालमा ठूला प्रतियोगिता र लिगहरू केही पनि छैनन् । संकटामा हामी ट्रेनिङमै थियौँ, लिगको एउटा मात्र खेल खेल्न पाएका थियौँ । त्यसैबीच प्रतिबन्धको खबर आयो,’ उमेर समूहकी राष्ट्रिय महिला फुटबल खेलाडी  सिमरन राई भन्छिन्, ‘सुरुमा त विश्वास नै गर्न सकिनँ । हाम्रो खेल जीवन नै सकियो कि जस्तो लाग्यो । तर, फुटबललाई सर्वस्व ठानेका हाम्रा लागि अहिले जहाँ भए पनि खेल्न पाउनु नै ठूलो कुरा भइरहेको छ ।’

मिडफिल्डर सिमरन राई । जसले आयोजक स्पर्श सामाजिक क्लब गौरादहको टिमलाई नेतृत्व गरिन् ।

नियमित क्लब छाडेर बाहिरका खुला वा साना प्रतियोगिता खेल्नु खेलाडीहरूका लागि जोखिममुक्त भने छैन । आबद्ध क्लबले खेलाडीको बिमा गरिदिएको हुन्छ, तर बाहिर खेल्दा दुर्घटना वा चोटपटक लागेमा बिमाको सुविधा हुँदैन । यस्ता प्रतियोगितामा खेलाडी घाइते हुने जोखिम रहेको उनी बताउँछिन् । ‘सुरक्षाको हिसाबले बाहिर खेल्दा जोखिम पक्कै छ,’ सिमरनले भनिन्, ‘तर पनि पहाडी तथा मोफसलका भेगमा भइरहने प्रतियोगिताले गर्दा नै हामीले मैदान टेक्न पाइरहेका छौँ । जोखिम भए पनि यो अवस्थामा खेल्न पाउनु नै हाम्रा लागि प्राथमिकता बनेको छ ।’

उमेर समूहकी अर्की राष्ट्रिय महिला फुटबलर अनिशा राई यो अवस्थामा खेल्न पाउनु नै आफूहरूका लागि ठूलो कुरा भएको बताइन् । ‘लिग र अन्तर्राष्ट्रिय खेल नभएको यो परिस्थितिमा गौरादहमा खेल्न पाउनु र जित्नु हाम्रा लागि ठूलो कुरा हो,’ उनले भनिन्, ‘अब अर्को प्रतियोगिता भइदिए अझ इन्गेज भइन्थ्यो, तर प्रतियोगिताहरू एकदमै कम छन् ।’

अर्की राष्ट्रिय फुटबलर अञ्जिली चन्द भने प्रतियोगिता ठूलो र सानो नहुने बताउँछिन् । अहिलेको अवस्थामा फुटबल खेल्न पाउनु नै ठूलो कुरा भएको उनको भनाइ छ । ‘एन्फा प्रतिबन्धले गर्दा अझै कति समय फुटबल नहुने हो टुङ्गो छैन । गौरादहमा हामीलाई यति धेरै माया गरेर बोलाउनुभयो, त्यो अवसरलाई हामीले सदुपयोग गर्न पायौँ,’ उनले भनिन्, ‘प्रतियोगिता सानो वा ठूलो भन्ने हुँदैन, व्यवस्थापन र दर्शकको मायाले त्यसको महत्व बढाउँछ । कुनै प्रतियोगिता पुरस्कार राशीले सानो भए पनि व्यवस्थापन हेर्दा सानो जस्तो लाग्दैन ।’

उमेर समूहकी अर्की राष्ट्रिय खेलाडी समीक्षा मगर एन्फा प्रतिबन्धको समयमा साना प्रतियोगिता भए पनि खेल्न पाउनु आफ्ना लागि ठूलो उपलब्धि भएको बताउँछिन् । ‘फिफाले एन्फालाई प्रतिबन्ध गरेपछि अहिले फुटबल शून्य छ । यस्तो अवस्थामा गौरादहले हामीलाई सम्झनु हाम्रा लागि भाग्यको कुरा हो,’ उनी भन्छिन्, ‘हामी खेलाडी खेल्न नै मन पराउँछौँ । यस्तो अवस्थामा यो प्रतियोगिता खेलेर विजेता हुनु हाम्रा लागि ठूलो उपलब्धि हो ।’

एन्फाको प्रतिबन्धनले भविष्य अन्योल

फुटबल खेलमा आफ्नो उमेर र भविष्य सुम्पिएका यी युवा खेलाडीहरूको मुख्य चिन्ता अबको बाटो के ? भन्ने नै हो । लिग र प्रतियोगिताहरू निरन्तर नहुने हो भने खेल जीवनमा नकारात्मक असर पर्ने निश्चित छ । ‘यस्तै अवस्था रहिरहे र स्थिति नसुध्रिए फुटबलमै भविष्य छ भन्न गाह्रो छ,’ सिमरनले भनिन्, ‘न लिग छ, न त प्रतियोगिता । तर पनि समस्याको समाधान हुन्छ भन्ने आशा छ । समाधान भएमा फुटबललाई नै आफ्नो भविष्य बनाउने हो ।’

सानो प्रतियोगिता, ठूलो ओज

प्रथम गौरादह महिला फुटबल प्रतियोगिताको फाइनल खेलका लागि बल हस्तान्तरण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । साथमा झापा प्रहरी प्रमुख बसुन्धरा खड्का र क्बलका अध्यक्ष उज्वल दाहालबीचमा ।

पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणी क्षेत्र गौरादहमा खेलकुदका गतिविधिमा प्रायः ओझेलमा पर्दै आएको थियो । यस क्षेत्रलाई खेलकुदका माध्यमबाट अगाडि बढाउने अठोटका साथ भर्खरै स्थापित स्पर्श सामाजिक क्लबले यो महत्वाकांक्षी प्रतियोगिताको आयोजना गरेको हो ।

नगरस्तरीय प्रतियोगितामा राखिने पुरस्कारको राशी जस्तै थियो यो प्रतियोगिताको राशी । प्रथम हुने टिमले नगद १ लाख ११ हजार ११ रुपैयाँ मात्रै पाए । पुरस्कार राशी र सहभागी टिम हेर्दा प्रतियोगिता सानो थियो ।

तर, क्लबहरूले खेलाडी भने उमेर समूहमा राष्ट्रिय टिमको जर्सी लगाएका ल्याउँदा खेलको स्तर नै फरक रहन गयो । त्यति मात्रै हैन दर्शकको साथले प्रतियोगिताको ओझ ह्वातै बढ्यो । प्रायः सबै खेलमा मैदानको वरिपरि भरिभराउ दर्शक देखिन्थे । जसले यो सामान्य र सानो प्रतियोगिता जस्तो मात्रै नभई ठूलो प्रतियोगिताको झल्को दिन्थ्यो ।

‘गौरादहमा महिला फुटबल गराउने मेरो धेरै वर्ष अघिदेखिको सोच थियो, तर त्यो बेला आर्थिक अभाव थियो,’ स्पर्श सामाजिक क्लबका अध्यक्ष उज्वल दाहाल भन्छन्, ‘यसपटक घाटा भए पनि बेहोर्ने आँट गरेर टिमसँगको सल्लाहमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेका छौँ । नाफा–घाटाभन्दा पनि गौरादहलाई खेलकुदमा स्थापित गर्नु हाम्रो प्राथमिकता हो ।’

यो प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको अध्यक्ष दाहाल बताउँछन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्