डेढ महिनामा २ करोड बढीको सामान बरामद, काँकडभिट्टामा कुकुरसहितको निगारी
दमक । सीमा क्षेत्रमा हुने अवैध चोरी–पैठारी, तस्करी, लागूऔषध ओसारपसार तथा नदीजन्य दोहन नियन्त्रणमा सशस्त्र प्रहरी बलले आफ्नो सक्रियता तीव्र पारेको छ ।
सशस्त्र प्रहरी बल नम्बर २ गण झापाले सीमामा हुने अपराध नियन्त्रणका लागि रणनीति तय गर्दै अघि बढेको हो । सशस्त्र प्रहरीको २ नम्बर गणले आफू मातहतका गुल्म तथा बिओपीलाई सक्रिय बनाउँदै चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमै २ करोड ३४ लाख ६५ हजार ६७ बराबरको अवैध सामान, सवारी साधन, काठ तथा पशुचौपाया नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको तथ्यांकअनुसार साउन महिनामा मात्रै भन्सार छली ल्याइएका १४ वटा सवारी साधनसहित अवैध सामान बरामद गरी १ करोड २६ लाख ४ हजार ७९१ भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बल नम्बर २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए । सोही अवधिमा १५ लाख ५० हजार ५०० मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई नियमानुसार नष्ट गरिएको उनले बताए ।
यस्तै, सीमा नाकाबाट हुने लागूऔषध ओसारपसार नियन्त्रणमा समेत सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । साउन महिनामा सशस्त्र प्रहरीले ७५.८२ ग्राम ब्राउन सुगर र १९ बोतल सिरफसहित १२ जना व्यक्ति र १ वटा सवारीसाधन नियन्त्रणमा लिइएको सूचना अधिकारी रसाइलीले जानकारी दिए ।
यस्तै, साउन महिनामा १० लाख ४६ हजार ३३५ मूल्य बराबरको ५१४ क्युबिक फिट अवैध काठ बरामद गरिएको उनले बताए । यस्तै, नदीजन्य सामाग्रीको गैरकानुनी उत्खननमा संलग्न १० वटा सवारी साधन नियन्त्रणमा लिइएको उनले बताए । यसको २ लाख ५० हजार जरिवाना कायम गरिएको उनको भनाइ छ । यस्तै, सीमानाकाबाट अवैध रूपमा भारततर्फ लैजान लागिएका १ लाख १४ हजार मूल्य बराबरका अवैध पशुचौपाया नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी, भदौको १४ दिनसम्मको अवधिमा सशस्त्र प्रहरीले भन्सार छलीका सवारी साधन (१९ लाख ७५ हजार मूल्य बराबरको) र ५२ लाख ११ हजार ४१ बराबरका सामान गरी कुल ७१ लाख ८६ हजार ४१ भन्सार दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ । यो अवधिमा २ लाख ६७ हजार ९०० मूल्य बराबरको गैरकानुनी सामग्री नष्ट गरिएको छ । भदौको १४ दिनमा ११.८७ ग्राम ब्राउन सुगरसहित ४ जना नियन्त्रणमा लिइएको, ८० हजार मूल्य बराबरको ४२ क्युबिक फिट काठ बरामद गरिएको तथा नदीजन्य सामाग्रीको अवैध उत्खननमा प्रयोग भएका ८ वटा सवारी साधन नियन्त्रणमा लिई २ लाख जरिवाना गराइएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै, अवधै रूपमा भारततर्फ तस्करी गर्न लागिएको १ लाख ६५ हजार ५०० मूल्य बराबरका पशुचौपाया नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक रसाइलीले जानकारी दिए ।
झापामा भारतसँगै सीमा जोडिएको १४४ दशमलव ०२ किलोमिटर खुला सीमाना छ । भारतसँग खुला सीमा जोडिएको झापाका विभिन्न नाकाहरूमा सशस्त्र प्रहरीले पैदल गस्ती, सर्च अभियान चलाएर सक्रियता बढाएपछि तस्करी नियन्त्रण र राजस्व अभिवृद्धिमा उल्लेख्य सुधार आएको छ । सूचना अधिकारी रसाइलीले सीमामा हुने तस्करी तथा लागुऔषध ओसारपसारको प्रवृत्ति अनुसन्धान भइरहेको र नियन्त्रणका लागि त्यअनुसार रणनीति बनाएर काम गरिरहेको बताए । उनले नाकामा डिजिटलाइज बोर्डर कन्सेप्टमा काम भइरहेको उनले बताए । ‘सीमानामा लागुऔषध ओसारपसारको नयाँ–नयाँ प्रवृत्ति देखिएको छ । लागुऔषध ओसारपसारमा बच्चा तथा वृद्धवृद्धाको प्रयोग गर्ने, खाद्य सामग्रीमा लुकाएर ल्याउने प्रवृत्ति छ । यो प्रवृत्तिको अध्ययन गरेर त्यहीअुसार नियन्त्रणको प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘सीमामा डिजिटलाइज बोर्डर कन्सेप्टमा काम गरिरहेका छौँ । नाकामा गोप्रो क्यामारा, मेटल डिटेक्टर, सिसी क्यामेराको प्रयोग गरेर अपराध नियन्त्रयणमा काम गरिरहेका छौँ ।’
यस्तै, नेपाल–भारत सीमामध्ये सबैभन्दा धेरै आवतजावत हुने नाकाका काँकडभिट्टामा सशस्त्र प्रहरीको ‘जोजो’ र ‘साथी’ नामक तालिम प्राप्त दुईवटा कुकुरले सीमामा आवतजावत गर्नेको निगरानी गरिरहेको छ । नाकामा पछिल्लो २ वर्षदेखि यी २ कुकुरले सीमाबाट हुन सक्ने लागुऔषध र हातहतियार ओसारपसार नियन्त्रणमा काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक रसाइलीले जानकारी दिए । उनका अनुसार जोजोले लागुऔषध नियन्त्रणमा काम गर्छ भने साथीले अवैध हातहतियार ओसारपसार नियन्त्रणमा काम गर्दै आएको छ । ‘काँकडभिट्टा झापाको मुख्य नाका हो । यहाँ सीमामा हुने आपाराधिक गतिविधि हुन सक्छ,’ उनले भने, ‘तसर्थ यो नाकामा हामीले संवेदनशीलता अपनाउँदै तालिम प्राप्त कुकुरको प्रयोग गर्दै आएका छौँ ।’


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।