कमल ।
झापाको कमल गाउँपालिकाले १ देखि ४ नम्बर वडाका संस्थागत विद्यालयका शिक्षकलाई कुष्ठरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ ।
गाउँपालिकाको आयोजना र नेपाल कुष्ठरोग सङ्गति (एनएलएफ)को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
आयोजित कार्यक्रममा विद्यालय तहबाटै कुष्ठरोगका सम्भावित लक्षण पहिचान गर्ने, समयमै स्वास्थ्य संस्थामा परीक्षण र उपचारका लागि पठाउने र कुष्ठरोगका कारण हुन सक्ने जटिलता तथा अपाङ्गता रोकथाममा शिक्षकको भूमिकाबारे जानकारी गराइएको हो ।
कार्यक्रममा बोल्दै कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले विद्यालयस्तरमै कुष्ठरोगको शंका भएका विद्यार्थी पहिचान गरी नजिकको स्वास्थ्य संस्थामा परीक्षणका लागि पठाउन शिक्षकहरूले समन्वय गर्न सके रोग सुरुकै चरणमा पत्ता लगाउन सकिने बताए ।
विद्यालय तहबाटै स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुपर्ने धारणा राख्दै अध्यक्ष राईले कुष्ठरोग समयमै पहिचान गरी परीक्षण तथा उपचारमा ल्याउन सके रोगबाट हुन सक्ने जटिलता र अपाङ्गता रोकथाममा महत्वपूर्ण योगदान पुग्ने दावी गरे ।
कार्यक्रमको सहजीकरण कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहाल र कमल नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठले गरेका थिए ।
कुष्ठरोगको प्रारम्भिक पहिचान, परीक्षण, उपचार तथा रोकथामका साथै रोगसँग जोडिएका भ्रम, डर र गलत धारणाको अन्त्यका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
स्वास्थ्य शाखा प्रमुख दाहालले कमल गाउँपालिका स्वास्थ्य शाखा र एनएलएफले कुष्ठरोग नियन्त्रण तथा रोकथामका क्षेत्रमा गरिँदै आएका विभिन्न गतिविधि बारे जानकारी दिँदै विद्यालय र शिक्षकहरूको सहयोगबाट समुदायमा लुकेर रहेका सम्भावित कुष्ठरोगका बिरामीलाई समयमै स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सकिने बताए ।
अभिमुखीकरणका क्रममा सहभागी शिक्षक–शिक्षिकालाई कुष्ठरोगका प्रमुख लक्षण तथा चिन्ह, रोग सर्ने अवस्था, प्रारम्भिक पहिचान, परीक्षण तथा उपचार, रोकथाम, अपाङ्गता न्यूनीकरण र समुदायमा कुष्ठरोगसम्बन्धी जनचेतना अभिवृद्धिलगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा नेपाल कुष्ठरोग सङ्गति (एनएलएफ)का कार्यक्रम अधिकृत डि.बी. गुरुङ, शिक्षा शाखाका अधिकृत रविन गौतम, सिनियर अनमि प्रतीक्षा शाह, कमल गाउँपालिका अपाङ्गता समितिका पदाधिकारीहरू, वडा नं. १ देखि ४ सम्मका संस्थागत विद्यालयका शिक्षकलगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।