गौरादह ।
झापाको गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा ‘पहिलो गौरादह महिला फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन हुन लागेको हो ।
प्रतियोगिता भदौ १९ गतेदेखि गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । सोमबार आयोजक स्पर्श सामाजिक क्लबले पत्रकार सम्मेलन गरेर खेल तालिकासहित ट्रर्फी सार्बजनिक गरेको हो ।
‘गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्देश्य महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्नुका साथै युवालाई लागूऔषधविरुद्ध सचेत गराउनु रहेको क्लबका अध्यक्ष उज्वल दहालको भनाइ छ ।
विभिन्न ८ टीमा सहभागी हुने साे प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता, प्लेयर अफ द टुर्नामेन्टलगायतका विधामा खेलाडी पुरस्कृत हुने खेल सम्योजक युवराज खड्काले बताए ।
महिला फुटबलको विकास र स्थानीय खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितालाई गौरादहमा महिला खेलकुदको विकासका लागि महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ ।



प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।