कमल ।
कमल गाउँपालिकाको आयोजना र नेपाल लेप्रोसी फाउन्डेसन (एनएलएफ) को समन्वयमा कमल गाउँपालिकाभित्र सञ्चालनमा रहेका निजी अस्पताल, क्लिनिक र फार्मेसीका प्रतिनिधिहरूका लागि कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कुष्ठरोगको समयमै पहिचान, उचित उपचार तथा समुदायस्तरमा रोगबारे रहेको भ्रम र विभेद न्यूनीकरण गर्ने उद्देश्यले आइतबार अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत निजी अस्पताल, क्लिनिक र फार्मेसीका प्रतिनिधि र स्वास्थ्यकर्मीहरूलाई कुष्ठरोगको अवस्था, पहिचान, उपचार तथा आवश्यक रेफरल प्रक्रियाका विषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले नेपाल लेप्रोसी फाउन्डेसनले कुष्ठरोग नियन्त्रण तथा प्रभावित व्यक्तिहरूको जीवनस्तर सुधारका क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गरे । ‘कुष्ठरोगप्रति अझै पनि समाजमा रहेका भ्रम, डर र विभेद अन्त्य गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक छ,’ राईले भने, ‘स्थानीय सरकार, स्वास्थ्य संस्था, निजी क्षेत्र तथा सामाजिक संघसंस्थाहरूको संयुक्त प्रयासबाट कुष्ठरोगको समयमै पहिचान र उपचारलाई थप प्रभावकारी बनाउन सकिन्छ ।’
कमल गाउँपालिका स्वास्थ्य क्षेत्रमा गुणस्तरीय र पहुँचयोग्य सेवा विस्तारका लागि निरन्तर प्रतिबद्ध रहेको अध्यक्ष राईको भनाइ थियाे ।
कार्यक्रममा नेपाल लेप्रोसी फाउन्डेसन (एनएलएफ) का कार्यक्रम अधिकृत डी.भी. गुरुङले संस्थाको परिचय, कार्यक्रमको उद्देश्य तथा एनएलएफले कमल गाउँपालिका क्षेत्रमा सञ्चालन गर्दै आएका विभिन्न कुष्ठरोग नियन्त्रण तथा रोकथामसम्बन्धी कार्यक्रमहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
त्यसैगरी, कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपकप्रसाद दहालले कुष्ठरोग सम्बन्धी विस्तृत प्रस्तुतीकरण गर्दै रोगको समयमै पहिचान र उपचारले कुष्ठरोगबाट हुने अपाङ्गता रोक्न सकिने बताए ।
कुष्ठरोगका शंकास्पद बिरामी पहिचान भएमा समयमै स्वास्थ्य संस्थामा पठाउन तथा उपचार प्रक्रियामा सहयोग गर्न निजी स्वास्थ्य संस्था, फार्मेसी र क्लिनिकहरूको भूमिका महत्वपूर्ण रहेको प्रमुख दाहालको भनाइ थियो ।
कार्यक्रममा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती, कमल गाउँपालिका अपाङ्गता समन्वय समितिका पदाधिकारीहरू, निजी फार्मेसी, क्लिनिक तथा अस्पतालका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, शान्त जीवन रिहाबिलिटेसन सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।