दमक ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये ६६९ जनाको शव फेला परेको छ । क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेर नेपाल प्रहरीले शनिबार अपरान्ह ४ बजे दिएको तथ्यांकअनुसार पछिल्लो जानकारी प्राप्त भएको हो ।

प्रहरीका अनुसार विभिन्न जिल्लामा शव भेटिएका छन् । जसअनुसार नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१, चितवनमा २४८ र रसुवामा १३ वटा शव फेला परेका हुन् ।

बाढीमा परी उद्धार गरिएको संख्या २ हजार ३७१ पुगेको छ । नेपाल प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले रसुवामा ६७६, नुवाकोटमा १ हजार ६२२ र धादिङमा ३ जनाको उद्धार गरेको बताइएको छ ।

जलविद्युत आयोजनामा फसेका ३६१ को उद्धार, ८९८ जना छैन सम्पर्कमा

बाढीका कारण विभिन्न जलविद्युत् आयोजना ध्वस्त भएका छन् भने निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत ८९८ जना सम्पर्कमा छैनन् ।

जलविद्युत आयोजनाहरुमा कार्यरत र अन्य फसेकाहरु मध्ये उद्धार टोलीले हालसम्म ३६१ जनाको उद्धार गरेको बताइएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपलब्ध गराएको विवरणअनुसार भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् भने ती अयोजनामा कार्यरत ८९८ जना बेपत्ता छन् ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट मात्रै त्यहाँ कार्यरत २५४ जना कर्मचारी र श्रमिकको उद्धार भएको इप्पानले जनाएको छ । त्यहाँको सुरुङमा अझै करिब ३०० जना फसेको हुन सक्ने इप्पानको अनुमान छ ।

त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जना र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट ९१ जनाको जीवितै उद्धार गरिएको इप्पानले पुष्टि गरेको हो ।

उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालित छ । सरकारी भनाइ अनुसार जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरुको उद्धार कार्यमा जटीलता र चुनौती रहेको छ ।

सुरुङभित्र थुनिएकाहरूलाई बाहिर निकाल्न थप प्राविधिक जनशक्ति र उद्धार टोली परिचालन गर्नुपर्ने बताइएको छ ।

चीनबाट उद्धार टोली आएपछि फसेकाहरूको उद्धारका लागि थप सहयोग जुट्ने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्