दमक ।
चितवन प्रशासनले बाढीमा परी मृत्यु भएका र अहिलेसम्म पहिचान हुन नसकेका शवहरू जमिनमुनि व्यवस्थापन गर्ने भएको छ ।
शवहरू सड्न थालेको र त्यसले महामारीको जोखिम बढेका कारण शनिबार पहिचान हुन नसकेका २२९ शवहरू जमिन मुनि व्यवस्थापन गर्ने निर्णय गरेको चितवन प्रशासनले जनाएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी विज्ञप्तिमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिकाअनुसार सबै शव जमिनमुनि व्यवस्थापन गर्ने निर्णय भएको हो ।
प्रशासनले शनिबार बिहानसम्म २३३ वटा शव संकलन भएको र तीमध्ये ४ वटा शवको मात्रै पहिचान खुलेको जनाएको हो । २२९ वटा शव तथा शवका अवशेष होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन् ।
‘होल्डिङ्ग सेन्टर र स्वास्थ्य संस्थाहरु तथा नदी तटबाट संकलन भएका शव र शवका अवशेषहरु सडेगलेका र अब पहिचान हुन/गर्न नसकिने अवस्थामा छन्, प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘तत्कालीक व्यवस्थापकीय प्रबन्धबाट राखिएका त्यस्ता शवहरु दुर्गन्धित बन्दै गएका कारण संक्रमण/महामारी फैलिन सक्ने भन्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुको राय/विश्लेषण रहेको छ ।’
पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै शवहरु जमिनमूनि व्यवस्थापन गर्ने निर्णय भएको भन्दै चितवन प्रशासनले ती शवहरू गाढ्नु अघि डिएनए नमूना संकलन गरेर राखिने जनाएको हो ।
‘यस निर्णय बमोजिम सबै शवहरुको डिएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राख्ने गरी आजैदेखि भरतपुर महानगरपालिका वडा नं. १ देवघाटस्थित खुला स्थानमा व्यवस्थापन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।