२४ सय २६ जना अझै बेपत्ता, खोजी कार्य जारी

दमक ।

रसुवाको भोटेकोशीमा गत १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीसम्बन्धी शनिबार बिहान १० बजे अध्यावधि गरेको विवरणअनुसार विभिन्न मानव अङ्गसहित हालसम्म ६ सय २६ जनाको शव फेला परेको हो ।

शव फेला परेका स्थानका आधारमा सबैभन्दा बढी चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ । त्यस्तै, नवलपरासी पूर्वमा १ सय ५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ ।नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार बाढीमा परी अझै २ हजार ४ सय २६ जना बेपत्ता छन् । बाढीका कारण बेपत्ता हुनेमा ठूलो संख्या जलविद्युत् आयोजनाका कामदारहरूको रहेको बताइएको छ । जलविद्युत आयोजनामा काम गरिरहेका मात्रै ९ सय ३३ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका प्राधिकरणले उल्लेख गरेको छ ।

सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना बेपत्ता छन् ।

रसुवामा ५ सय ६२, नुवाकोटमा १ सय १५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन रहेका प्राधिकरणको तथ्यांकमा उल्लेख छ । बेपत्ता हुनेमा विदेशी नागरिक ५ सय १७ जना र बिदा मनाउन आएका विदेशमा बस्ने १ सय २७ जना नेपाली रहेका बताइएको छ । तातोपानी भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी पनि बाढीमा परी बेपत्ता छन् ।

४४ सय ५१ जनाको जीवितै उद्धार, १६ हेलिकोप्टरसहित १५ हजार २२४ सुरक्षाकर्मी उद्धार कार्यमा तैनाथ

हालसम्म ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १ सय ९१ जनालाई जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएको हो । शनिबार बिहानसम्ममा मात्रै ५ सय १७ जनाको हवाई उद्धार गरिएको छ । विदेशी नागरिक १ सय २९ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

हवाई उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत ९९ उडान भरिएको छ । घाइतेमध्ये १ सय १ जनाको अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको उपचारका लागि सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ ।

विपद्ग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका ६ हजार ७ सय ५५, नेपाल प्रहरीका ४ हजार ८ सय ११ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना गरी १५ हजार २ सय २४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चीनतर्फ ७ जनाको मृत्यु, ५५४ अझै बेपत्ता, खोजी सुरु

यसैबीच भीषण बाढी पहिरोमा परी नेपाल–चीन सीमावर्ती तिब्बतस्थित केरुङतर्फ ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता भएका छन् ।

चिनीयाँ समाचार संस्था (सिन्ह्वा) ले जनाएअनुसार शनिबार बिहान १० बजेबाट त्यहाँ आसपास व्यापक खोजी तथा उद्धार कार्य सुरु गरिएको छ । चिनियाँ अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी तथा उद्धारका लागि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले काम सुरु गरेको हो ।

स्थलगत उद्धार टोलीले हेभी मेसिनरी उपकरणका साथै मानवीय जनशक्तिको समेत प्रयोग गरेर घाइते तथा बेपत्ताहरूको खोजी गरिरहेको जनाएको छ सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्