कमल ।
कमल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रम, सेवा प्रवाह र प्राप्त उपलब्धिहरूको समीक्षासहित वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा बिहीबार आयोजित समीक्षा कार्यक्रममार्फत गाउँपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती र आगामी कार्यदिशा बारे विस्तृत छलफल भएको हो ।
स्वास्थ्य क्षेत्रमा गत एक वर्षमा भएका कामको वस्तुनिष्ठ मूल्याङ्कन गर्दै सेवाप्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कमल गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दिपक प्रसाद दहालले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूले गत आ.व.मा सञ्चालन गरेका स्वास्थ्य सेवा, कार्यक्रम, उपलब्धि र समस्याबारे जानकारी दिँदै आगामी कार्ययोजना प्रस्तुत गरेका छन् ।
नियमित खोप, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित प्रसूति सेवा, पोषण, परिवार नियोजन, सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा मानसिक स्वास्थ्यलगायतका महत्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूका बारेमा समेत कार्यक्रममा समीक्षा भएको हो ।
कमल गाउँपालिकाले पछिल्लो समय नगर अस्पतालमार्फत सुरक्षित प्रसूति, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे (युएसजी), स्वास्थ्य बीमालगायतका सेवा विस्तार गरेको छ । त्यस्तै, नागरिकलाई विशेषज्ञस्तरको स्वास्थ्य सेवामा सहज, सुलभ र पहुँच पुर्याउने लक्ष्यसहित काम गरिरहेको पालिका अध्यक्ष राईको भनाइ छ ।
उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता र अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए । स्थानीय नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै गाउँघरमा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ स्वास्थ्य पूर्वाधार, आवश्यक उपकरण, दक्ष जनशक्ति तथा सेवाको विस्तारमा निरन्तर जोड दिइएको अध्यक्ष राईको भनाइ छ ।
‘विगतका उपलब्धिहरूको मूल्याङ्कन मात्र नभई सेवा प्रवाहका क्रममा देखिएका कमजोरी र चुनौतीहरूको पहिचान गरी आगामी वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउन वार्षिक समीक्षा कार्यक्रमले महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास लिएका छौँ’ राईले भने ‘उपलब्धिलाई थप सुदृढ गर्दै नागरिकले महसुस गर्ने गरी सेवा विस्तार गर्नु पालिकाको साझा दायित्व हो ।’
जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरू, साझेदार संस्थाहरू फेयरमेड, सहारा नेपाल र एनएलएफ, निजी क्षेत्रबाट भृकुटी अस्पतालका प्रतिनिधिलगायत सरोकारवालाहरूको सहभागिता रहेको सो कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक तथा कार्यक्रम फोकल पर्सन विश्वनाथ श्रेष्ठले सहजीकरण गरेका थिए ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।