विजयिनीको कभर फेसबुकको वालमा देख्ने बित्तिकै किन्न लोभ लागेको हो । तर, पुषतिर मात्रै महेन्द्रचौक झर्दा सम्पूर्ण किताब पनि पुगेँ । दीपेन्द्र घिमिरे भाइलाई सोधेँ– नयाँ के–के छन् ?
भाइले एकभारी नयाँ पुस्तक थुपारी दिएँ । त्यसमा विजयिनी पनि थियो, मैले विजयिनी पनि छानेँ । जाडोमा पढौँला भनेको, अन्य कामले पढ्न सकिनँ । चुनाव आउँदै थियो, राजनीतितर्फ चासो मरेको थियो । त्यसैले चुनावको समय मैले पढ्ने वातावरण बनाएँ । सानो चिटिक्कको विजयिनीमा मेरो पहिलो आँखा पुग्यो । एक बसाईमा एक कथा पढिसक्थेँ, पढिसकेपछि एकछिन गम खान्थेँ ।
सामान्य कथावस्तु, तर सुक्ष्म विश्लेषणले भरियुक्त सङ्ग्रहको एउटा कथा पढ्न थालेपछि नसकी उठ्दिनथेँ । एवम् रीतले करिब ५ दिनमा पूरै पुस्तक पढिसकेँ ।
पूर्वीतराईका जनजीवनका कथाहरू, ब्राम्हण क्षेत्री समुदायका कथा, तराईका आदिवासी कथा र पहाडबाट तराई झरेका राई–लिम्बूका कथाहरू रहेछन् । ब्राम्हण क्षेत्री समुदायमा चाहिँ बुहारीलाई गर्ने हेलाहोचो गरिने कुरा समाचार र साहित्यमा बेस्सरी छाइएका हुन् । त्यो अवोध बुहारीको टिठलाग्दो अवस्था अधवैंशे या प्रौढ बनेपछि कहाँ हराउँछ ? ऊ भुुक्तभोगी हो भने सुधारको बाटोमा नलागेर किन अर्को बुहारीलाई हेलाहोँचो गर्न तम्सिन्छ ? यी प्रश्नले अग्घोरै घेरेका छन् मलाई ।
नेपाल बनिसकेपछि पनि सयौँ वर्ष भइसक्यो नेपाली समाज बनेको तर अझै पनि अन्तरजातीय विवाहको संस्थागत स्वीकार्य किन भएन ? त्यसो हुँदाहुँदै थोरै जमिनदार रहेको राई जातिले बाहुनको छोरी जबरजस्ती लैजादा प्रतिकार नभएर उल्टै छोरीलाई माइत आवतजावत बन्दको निर्णयले निकै पुरानो स्थिति जनाउँछ । मुलुक ऐन जारी हुनुअघि त गैरआर्यनले ब्राम्हण महिला विवाह गरेको खण्डमा कानुनी कठाघरामा उभ्याइन्थ्यो ।
जबरजस्ती छोरी लगिदिएपछि कानुनी उपचार खोज्न सक्थ्यो र खोज्नुपर्थ्यो भन्ने ममा उब्जिएको कुरा । तर, जातप्रथाले छोपिएको समाजमा बाँदर समूहबाट खसेपछि ढेडु बनाउने प्रथा जीवित छ । आदिवासी समुदायमा महिलाहरूको अवस्था अलि खुला छ भन्ने कुरा कथामा छर्लङ्ग छ । बदाम लिम्बुनीले लामो समयसम्म विदेशिएका श्रीमान पर्खँदा ‘यति लामो त हामी बाहुनीहरूले पनि पर्खँदैनौँ हौँ’ भनेर जिस्क्याएको प्रसंग होस् या दशैँनीले रक्सी खाएर ढलेको । ‘हद’ कथा पढ्दा आत्मसुन्तुष्ट जाग्छ ।
सहँदा–सहँदा श्रीमतीले जब श्रीमानमाथि जाइलाग्छिन्, जुन कुरा सासु–ससुराले पनि देखेनदेखेझैँ गर्दछन् । हद भएपछिको अवस्था हो, हाम्रो समाजमा हदसम्म नपुगोस्, सबैले यस्ता कथा पढुन् । ‘म सारथी होइन, साथी हुँ’ कथाले महिला पुरुष बराबरको नारालाई बोक्न खोजेको छ भने मायरी कथाले परिवारले छोरीको विवाहको चिन्ता लिने तर छोरीले आफ्नो जीवनसाथी आफैँले रोज्ने द्वन्द्वमा रुमलिएको छ । ओस्लान् अर्थात् वन साइडेड लभ एसोसिएन अफ नेपालको कन्सेप्ट कस्तो दामी ।
सबै मानिसहरूले ओस्लानकै सदस्य होलान् भन्ने मेरो अनुमान । मायरी लेखिँदै जाँदा ६७ सालदेखि ७८ आउने र फेरि ६९ साल नै आएको छ । यो चाहिँ सम्पादनको क्रममा त्रुटी भएको कुरा होला । लिम्बू जातिमा बेहुलीको साथमा आउने महिलाहरूलाई मात्रै लोकन्ती भनिन्छ । बेहुली पुर्याउन महिलामात्रै जाने, थोरै पुरुष चेलीसम्फे (चेली पुर्याउने)को रूपमा जान्छन् । तर, उनीहरूलाई चेलीको विवाहको भोज खान मिल्दैन । उनीहरूलाई छुट्टै घरमा खानपिनको व्यवस्था गरिन्छ । ‘लोकन्ती आएका जितेन्द्र’ भन्दा भाषा मिलेन । यसै कथामा जितेन्द्र मलेसियामा थुनिएर ५ वर्ष जेल बसी आएको कथा छ । तर, जेलबाट निस्केपछि फेरि मलेसियाकै भूमिमा बस्न पाउँदैन, अनिवार्य आफ्नो देश डिपोर्ट गरिन्छ । डिपोर्टको प्रोसेस पनि निकै लामो छ । जेल भुक्तान भएपछि घरफिर्ती केन्द्र भनिने जेलमा राखिन्छ । कुन देशको हो, त्यो देशका दूतावासमा खबर पुग्छ । दूतावासले उसको घर ठेगाना बुझेर गाविसबाट हो भन्ने सिफारिस पत्र र टिकट पुगेपछि मात्रै दूतावासले ट्राभल पासपोर्टको साथमा नेपाल पठाउने प्रोसेस चलाउँछ । त्यसैले कथा कथा मात्रै बन्यो ।
दोसल्ला भिर्ने लालसामा उभिने सासूहरूहरूलाई मैले पनि मेरो गाउँ सुनसरीको प्रकाशपुरमा देखेको छु । छिमेकीले थापिदिँदा झगडा भएको चस्मादित् गवाह पनि हुँ ।
अर्को कुरा, बारको आधारमा नाम शेर्पा जातिले राख्थे । सन्थाल जातिले पनि राख्दा रहेछन् । यस कथा पढिसकेपछि जानुका खतिवडाको उपन्यास ‘आताओडा’ र रमशेचन्द्र अधिकारीको ‘माझिहडाम’ खरिद गरेर पढ्ने धोको बढेर गएको छ । सुकोलको परिवार क्रिश्चियन बनेपछि निको हुँदै गएको कारण चाहिँ खुल्दैन । खुलाइएको छैन । मेरो आफ्नै अनुभवमा चाहिँ चर्चमा हुने मेडिटेसनबाट रोगको निको हुन्छ ।
मैले देखेको, एउटा जिउभरी घाउ भएको मानिस, जसलाई ओछ्यानमा या गुन्द्रीमा राख्दा पनि पिपले टाँसिने हुँदा केराको पातमा राखेर चर्चमा पुर्याइएको थियो । पाष्टरले यो मान्छले पाप गरेको थियो, प्रभुले सजाय दियो, अब प्रभुमा आयो छिट्टै ठीक हुन्छ । सबै प्रार्थना गरिदिउँ भन्यो । बिरामीलाई केही राहत मिल्यो । चर्चमा छिर्दा होस् निस्कदा, खाँदा खाँदा होस् या विश्राम गर्दा बिरामीको स्वास्थ्यलाभको कामना गर्दा मन र तन अलग्गियो । मन पूरै प्रभुमा पुग्यो, तन कतिखेर निको भयो बिरामीलाई थाहै भएन । उसलाई मन र तन अलग्याउने मेडिटेसन गराइएको थियो भन्ने बुझ्दै–बुझेन, बुझ्यो त प्रभुले बचायो । अनि प्रभुको विरोध गर्यो कि पाखुरा सुर्कनेमा अगाडि सथ्र्यो । साथीको कारण चर्चमा गरहने म क्रिश्चिन चाहिँ कदापि होइन ।
साङ्ग्रिला बुक्सद्वारा प्रकाशित पुस्तकमा ११ वटा कथा छन् । पुस्तकको मूल्य ३७५ रहेको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।