दमक ।

नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनमा आउने भएको छ ।

तातोपानी नाका करिब डेढ महिनापछि सञ्चालनका लागि अन्तिम चरणमा पुगेको हो । यस नाका जोड्ने कोदारी राजमार्गका डाक्लाङ, चारकिलो, इको र लिपिङ क्षेत्रमा गएको पहिरोका कारण यातायात अवरोध उत्पन्न हुँदा तातोपानी नाका बन्द भएको थियो ।

सडक मर्मत कार्य सम्पन्न भएसँगै अबको १ हप्ताभित्र सो नाका सञ्चालनमा आउन लागेको हो ।

पहिरोले सडक अवरोध हुँदा तातोपानी भन्सारको लार्चा यार्डदेखि लिपिङसम्म करिब ३० वटा मालवाहक कन्टेनर बाटोमै अलपत्र परेका छन् । रोकिएका छन् । राजर्माअन्तर्गत डाक्लाङ क्षेत्रको सडक खुलिसकेको हो भने कोदारीको इको क्षेत्रमा सोमबारबाट यातायात आवागमन खुलेको हो ।

लिपिङ क्षेत्रको सडकको मुनिको जमिन नै पहिरोले बगाएका कारण सो क्षेत्रमा समस्या बाँकी रहेको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।

सडकको माथिल्लो भागमा बस्ती र सडक भन्दा मुनिको भागमा भोटेकोशी नदीले निरन्तर कटान गरिरहेका कारण पुनः निर्माण कार्यमा समस्या उत्पन्न भएको कार्यालयको भनाइ छ ।

बाटोमाथिको भागमा अतिक्रमित संरचना हटाउँदै सडक सुचारु गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर नेत्रविलास पौडेलले जानकारी दिए ।

तातोपानी नाका बन्द हुँदा फलफूल, लत्ताकपडा, इलेक्ट्रोनिक्सलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने र बजार मूल्य बढ्नसक्ने चिन्ता व्यवसायीको छ । उनीहरुले चाडवाडको समयलाई मध्यनजर राखेर सडक पुनः निर्माण कार्यलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।

पहिरोबीच फसेका कन्टेनर र मालवाहक सवारीसाधनलाई नेपालतर्फ ल्याउने वातावरण बनाउने कार्य उच्च प्राथमिकताका साथ भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको भनाइ छ ।

तातोपानी चीनसँगको सबै भन्दा छोटो र प्रमुख व्यापारिक नाका हो । सडक अवरोधका कारण दसैंका लागि आयात गर्न लागिएका सामानसमेत तातोपानी नाकाबाट ल्याउन चिनियाँ ट्रान्सपोर्ट कम्पनीले अस्वीकार गरेको व्यवसायीहरुको दुखेसो छ ।

गत आर्थिक वर्ष ०८२/०८३ मा तातोपानी भन्सार कार्यालयले करिब १७ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षका लागि भने २५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य सरकारको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्