जिन्दगीको ‘फाइनल’ जित्ने प्रकाश, गोलीको छर्रा पार गर्दै खेलकुदको शिखरतर्फ
दमक ।
पाँचथरको दुर्गम गाउँमा झुम्रोको बल पछ्याउँदा–पछ्याउँदै युद्धको मोर्चा र घाइते शरीर पार गरेर ब्याडमिन्टन कभर्डहलका अध्यक्षसम्म बनेका प्रकाश राईको कथा एउटा अदम्य खेल–यात्राको जीवित दस्तावेज हो । १८ पुष ०३८ मा बुबा जनप्रसाद राई र आमा फूलमाया चाम्लिङको जेठो सन्तानका रूपमा पाँचथरको फालेलुङ–२ (साबिक एक्तेन–७, जरिंगे) मा जन्मिएका राईको जीवन अभाव, उकाली–ओराली र सास्तीबीच बित्यो । तर, बाल्यकालदेखि नै रगतमा भिजेको खेलप्रतिको भोकले उनलाई जीवनका कुनै पनि मोडमा हार्न दिएन ।
प्रकाशको प्रारम्भिक शिक्षा गाउँकै जरिंगे प्राथमिक विद्यालयबाट सुरु भयो । त्यहाँ कक्षा ५ सम्मको अध्ययन पूरा गरेपछि उनको पढाइको यात्रा अझ कठिन बन्यो । माध्यमिक शिक्षाका लागि उनी जोरपाटीस्थित सिद्धकाली माध्यमिक विद्यालय जानुपर्ने भयो, जुन घरबाट पैदल करिब २ घण्टा ओरालो झरेर बेँसीतिर पुगिन्थ्यो ।
बिहानै भालेको डाकसँगै उठेर घाँस–दाउरा गर्नु, वस्तुभाउलाई सोत्तर हाल्नु र आमाले पकाएको भातसँग आफैँ तरकारी पकाएर खाना खानु र हतार–हतार विद्यालय जानु उनको दैनिकी थियो । स्कुलबाट फर्किएपछि पनि घरको काममा सघाउनै पथ्र्यो । कक्षा १० को परीक्षा (एसएलसी) भने उनले मोरङको टाँडीबाट दिए । त्यसपछि कक्षा ११ र १२ को उच्च माध्यमिक शिक्षा उनले इलामको बाह्रगोठेबाट पूरा गरे ।
प्रकाशको घर ठूलो थियो, घरअगाडि फराकिलो आँगन थियो र आँगनको छेउमा अग्लो चौतारीको गारो (वाल) लगाइएको थियो । गारोका कारण भित्तामा ठोक्किएर बल बाहिर नजाने भएकाले त्यही आँगन उनको पहिलो खेलमैदान बन्यो । उनका आफ्नै काकाहरू स्थानीयस्तरमा फुटबल खेल्ने भएकाले सानै उमेरमा प्रकाशलाई खेलकुदप्रति गहिरो मोह जाग्यो ।
त्यतिबेला गाउँमा फुटबल किन्नु त परको कुरा, प्लास्टिकको बल पाउन पनि मुस्किल थियो । कपडाका पुराना झुम्रा–रुमालहरू कोचेर गोल बनाइन्थ्यो र त्यसैलाई धागोले बेरेर खेलिन्थ्यो । अलि पछि बजारबाट प्लास्टिकको बल ल्याएर खेल्ने गरियो । ‘अलि पछि रसायन बल खेल्ने अवसर मिल्यो । तर, खेल्नलाई जुत्ता थिएन,’ उनी भन्छन्, ‘अनि काम गर्दा लगाउने गमबुटलाई काटेर, तुना (लेस) हाल्ने प्वाल बनाएर आफैँले जुत्ता तयार पारेर फुटबल खेलिन्थ्यो ।’
स्कुलमा फुटबल खेल्ने ठाउँ थिएन । सिद्धकाली माविको मैदान सानो भएकाले त्यहाँ प्रायः भलिबल मात्र खेलिन्थ्यो । फुटबल खेल्न पाउने रहरले गर्दा जरिंगे प्राथमिक विद्यालयको सानो भलिबल मैदानलाई स्थानीय खेलप्रेमी र युवाहरू मिलेर श्रमदान गरी ७–साइडको फुटबल मैदान बनाउने योजना बन्यो । बोराको तान्ने (घिसार्ने) बनाएर माटो बोक्दै, खाल्डाखुल्डी पुर्दै ठूलो दुःख र मेहनतले मैदान तयार पारियो । स्रोत–साधन केही थिएन, तर युवाहरूको जोश र खेलप्रतिको भोकले मैदान तयार भयो ।
‘जरिंगे टिम’ का गोलकिपर प्रकाश
गाउँमा ७–साइडको मैदान बनेपछि खेलको स्तर ह्वात्तै माथि उठ्यो । प्रकाश फुटबलमा गोलकिपरको भूमिकामा थिए । उनको उत्कृष्ट गोलरक्षण र टिमको अनुशासित खेलका कारण ‘जरिंगे फुटबल टिम’ जुनियर लेभलमा एकाएक नामी बन्यो । पाँचथरको माथिल्लो क्षेत्रमा हुने जुनसुकै प्रतियोगितामा पनि जरिंगे टिम प्रायः फाइनल पुग्ने गर्थ्यो ।
जरिंगे टिम भनेपछि आयोजक र दर्शकहरूमा छुट्टै क्रेज र ‘हाईहाई’ हुन्थ्यो । यही क्रममा पाँचथर सदरमुकाम फिदिमको चर्चित ‘फिदिम स्पोर्टिङ क्लब’ ले प्रकाशलाई अनुबन्धित गर्यो । उनले नेपालका विभिन्न जिल्ला मात्र होइन, सीमापारि भारतका विभिन्न स्थानमा पुगेर पनि फुटबल प्रतियोगिताहरू खेले ।
तर, खेलकुदसँगै जीवन चलाउन आर्थिक अभाव मुख्य तगारो थियो । शनिबार स्कूल बिदा भएको दिन प्रकाशले ४ घण्टाको पैदल बाटो धाएर पसलका सामान बोक्ने ‘भारी बोके’ काम गरे । प्रतिकिलो २ रुपैयाँ ज्याला पाइन्थ्यो । त्यसरी भारी बोकेर कमाएको थोरै पैसाले हप्ताभरिको पढाइ र व्यक्तिगत खर्च टार्नु पर्थ्यो । उता दिनभर भारी बोकेर थाकेको शरीर लिएर पनि साँझ परेपछि फुटबल खेल्न भने उनले कहिल्यै छुटाएनन् ।
माओवादी जनयुद्धको पिएलएसम्म

०५६ सालमा कक्षा ९ मा पढ्दा–पढ्दै देशमा माओवादी जनयुद्ध उत्कर्षतिर जाँदै थियो । प्रकाश माओवादीको विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) मा आबद्ध थिए । भूमिगत रूपमा राजनीतिक गतिविधि गर्दागर्दै उनी ४–५ वटा माध्यमिक विद्यालयको संयुक्त इकाई कमिटी अध्यक्ष बने । ०५७ सालमा एसएलसी परीक्षा दिने तयारी गरिरहँदा राज्यपक्षबाट उनको खोजी तीव्र भयो । गाउँमा बसेर पढ्ने वातावरण बनेन । त्यसपछि उनी पढाइ र घर छाडेर पूर्णकालीन माओवादी कार्यकर्ताका रूपमा भूमिगत भए ।
माओवादीमा ०५८ सालमा जनमुक्ति सेनाको युद्धमोर्चामा प्रत्यक्ष आबद्ध भए । उनका कान्छा काका जिल्लास्तरीय फुटबल खेल्दाखेल्दै इन्डियन लाहुरे भइसकेका थिए । ‘यदि म त्यो बेला जनयुद्धमा नलागेको भए गाउँघरमै बसिन्थ्यो होला, फुटबल खेलमा निरन्तर लागिन्थ्यो होला अनि काकाजस्तै इन्डियन आर्मीमा भर्ती भइन्थ्यो होला,’ उनी भन्छन् । तर, जीवनले अर्कै मोड लियो । युद्ध मैदानमा होमिएका राई ८ चैत ०६२ मा झापाको बिर्तामोडमा भएको भीषण मुठभेडका क्रममा गम्भीर घाइते भए । शरीरभरि गोली र छर्रा लागेर ढेलेका उनलाई सहयोद्धाहरूले बचाएर उपचारका लागि सीमापारि पु¥याए । धेरैले उनलाई बाँच्ने आशा मारिसकेका थिए । तर, भारतको पञ्जाबमा लगेर ६ महिनासम्म गरिएको जटिल उपचारपछि उनले नयाँ जीवन पाए ।
उपचार पूरा नहुँदै ०६३ मा नेपाल फर्कँदा देशमा ऐतिहासिक परिवर्तन भइसकेको थियो, शान्ति प्रक्रिया सुरु भइसकेको थियो । उनी त्यो बेला जनमुक्ति सेनाको कम्पनी सह–कमान्डर थिए । नेपाल फर्किएपछि पनि काठमाडौंलगायतका विभिन्न अस्पतालहरूमा उनको उपचार निरन्तर चलिरह्यो ।
०६३ सालमा जनमुक्ति सेनालाई अस्थायी ब्यारेकमा राख्ने निर्णय भएपछि उनी १ नम्बर डिभिजनअन्तर्गत मोरङको टाँडीस्थित ब्रिगेडमा बस्न थाले । ब्यारेकमा बसे पनि प्रकाशभित्रको खेलप्रेमी मन मरेको थिएन । उनले ब्यारेकभित्रै एउटा नयाँ अवधारणा ल्याए, ‘पिएलए स्पोर्टिङ क्लब’ ।
त्यतिबेला काठमाडांै उपत्यका बाहिर खेलाडीहरूलाई मासिक तलब दिएर राख्ने कुनै व्यवसायिक क्लब थिएनन् । प्रकाश पिएलए क्लबको म्यानेजर बने । क्लबले काठमाडौं बाहिर पहिलोपटक खेलाडीहरूलाई महिनाको ८ हजार रुपैयाँ नगद तलब, प्रत्येक खेलको भत्ता, निःशुल्क खाना र बस्ने पूर्ण व्यवस्था गर्यो ।
पिएलए क्लबले मेची र कोशी अञ्चल (हालको कोशी प्रदेश) मा खेलकुदको विकास र प्रवद्र्धनमा ऐतिहासिक योगदान पु¥यायो । क्लबमा राष्ट्रियस्तरका दिग्गज खेलाडीहरू आबद्ध थिए । फुटबलतर्फ क्लबमा ए डिभिजनका स्टार खेलाडीहरू कर्ण लिम्बू, योगेश गुरुङ, विजय धिमाल, आजात प्रधानलगायत थिए । महिलातर्फ पनि राष्ट्रिय टोलीका चर्चित खेलाडीहरू दीपा अधिकारी, लीला लाम्गादेलगायतका खेलाडी थिए ।
भलिबलतर्फ राष्ट्रिय खेलाडीहरू प्रेमचन्द्र राई, राजु श्रेष्ठलगायत आवद्ध थिए । प्रकाश स्वयं पनि भलिबल खेलाडीका रूपमा सक्रिय भए । उनले कोशी प्रदेश पूर्वकप्तान मुस्कान लिम्बूहरूसँगै विराटनगरमा क्षेत्रीय सेलेक्सन गेमसम्म खेले । पिएलए क्लबअन्तर्गत मार्सल आर्टका खेलहरू पनि सञ्चालन गरिएका थिए ।
०६७ सालमा नवलपरासीमा जनमुक्ति सेनाका ७ वटै डिभिजन ब्यारेकहरूबीच आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आयोजना भयो । १ नम्बर डिभिजनको तर्फबाट मेन्स डबल्समा प्रकाश राई र सपन राईको जोडीले तेस्रो स्थान हासिल गर्न सफल भयो । त्यस प्रतियोगिताको तयारीका लागि झापा झिलझिलेका सिनियर खेलाडी पर्वत थुलुङलाई १ महिनाका लागि ब्यारेकमै ल्याएर बेसिक ट्रेनिङ लिइएको थियो । यही ट्रेनिङ र सफलताले प्रकाशलाई फुटबल र भलिबलपछि ब्याडमिन्टन खेलतर्फ गहिरो रूपमा आकर्षित गर्यो ।
०६८ सालमा उनी जिआइजेड संस्थाको सहयोगमा दोलखाको जिरी प्राविधिक शिक्षालयमा १८ महिने सब–ओभरसियर कोर्ष पढ्न गए । कोर्ष सकेर फर्किँदा सेना समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । उनले नेपाली सेनामा समायोजन हुनुभन्दा स्वेच्छिक अवकाश लिने निर्णय गरे । अवकाशपछि उनी मोरङको मंगलबारेमा बसाइँ सरे । त्यसपछि उनी झापाको दमक आए । दमकमा उनले होटल व्यवसाय र स्पोट्र्स (खेलकुद सामग्री) पसल सँगै सुरु गरे । अनुभवको कमीका कारण होटल व्यवसायबाट उनले ठूलो आर्थिक घाटा व्यहोरे । स्पोर्टस पसललाई भने निरन्तरता दिए । दमकमा खेलकुद सामग्रीको व्यवसायिक पसल चलेपछि उनको आर्थिक स्थिति सुध्रँदै गयो । यही व्यवसायले उनलाई स्थानीय खेलकुदमा पुनः जोडिने बलियो आधार दियो ।
दमकको सब्जी मण्डीदेखि ५ पटक झापा च्याम्पियनसम्म

दमक आएपछि उनलाई ब्याडमिन्टन खेल्ने तीव्र इच्छा थियो । त्यतिबेला दमक ६ स्थित फलफूल तथा सब्जी मण्डीभित्र रहेको कभर्डहलमा ब्याडमिन्टन खेलिन्थ्यो । तर, सुरुवाती चरणमा दमकका स्थानीय खेलाडीहरूसँग उनको चिनजान थिएन । नचिनेका कारण कसैले उनलाई कोर्टमा खेल्ने अवसर नै दिँदैनथे । उनी दिनहुँ कभर्डहल पुग्थे । अरूले खेलेको हेरेर फर्कन्थे । विस्तारै १–२ महिनाको निरन्तरता पछि खेलाडीहरूसँग चिनजान बढ्यो । कोर्टमा छिर्ने मौका पाएपछि उनको पुराना खेल कौशल र लगनशीलताले गर्दा खेलमा प्रगति भयो ।
सुरुका २ वर्षसम्म उनले पूर्वका विभिन्न स्थानमा पुगेर दर्जनौँ टुर्नामेन्ट खेले । तर, कुनै पनि उपाधि जित्न सकेनन् । लगातार हार्दा पनि उनले हिम्मत हारेनन् । खेल्न छाडेनन् । ०७० सालदेखि भने प्रकाश राई र सुदेन राईको जोडीले झापा जिल्लामा एकछत्र राज ग¥यो । यो जोडी लगातार ५ पटक झापा जिल्ला च्याम्पियन बन्न सफल भयो ।
प्रकाश राई केवल खेलाडी मात्र थिएनन् । खेल व्यवस्थापनका दूरदर्शी सोच भएका व्यक्तित्व हुन् ।०७१ सालमा उनले सब्जी मण्डीको कोर्टमा ‘बी डिभिजन ब्याडमिन्टन प्रतियोगिता’ को नयाँ अभ्यास सुरु गरे । त्यतिबेलासम्म पूर्वमा मात्र होइन, देशभरि नै ‘बी’ वा ‘सी’ डिभिजन प्रतियोगिता भन्ने परिपाटी थिएन । उनले पनि ब्याडमिन्टनमा विभिन्न प्रतियोगिता जिेतका छन् । हालसम्म उनले राष्ट्रिय, प्रदेश र स्थानीय स्तरका गरी ५० देखि ६० वटाभन्दा बढी उपाधि आफ्नो नाममा पारेका छन् भने ४०–५० वटा प्रतियोगितामा सेमिफाइनल र फाइनल यात्रा तय गरेका छन् ।
०८० सालमा दमकका जनप्रतिनिधि श्याम कार्कीले दमकमा एउटा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न कभर्डहल बनाउने अवधारणा ल्याए । त्यतिबेला प्रकाश राई दमक ब्याडमिन्टन खेल विकास समितिको सचिव थिए । हल निर्माणका लागि दमक नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिएको थियो । प्रकाश राईको मुख्य सक्रियता, स्थानीय खेलप्रेमीहरूको चन्दा र लगानी, दमक नगरपालिका तथा कोशी प्रदेश सरकारको बजेट समन्वयमा २ वर्षभित्रै चौतर्फी प्रशंसायोग्य काम भयो । ‘दमक नमुना ब्याडमिन्टन एकेडेमी’ को ४ वटा कोर्ट भएको सुविधासम्पन्न कभर्डहल निर्माण सम्पन्न भयो ।
आज यो एकेडेमी पूर्वकै उत्कृष्ट खेल केन्द्र बनेको छ । जहाँ विगत २ वर्षदेखि प्रशिक्षक सुदेन राईको प्रशिक्षणमा २० जना नयाँ उदीयमान खेलाडीहरूले नियमित प्रशिक्षण लिइरहेका छन् । एकेडेमीमा प्रकाशको तत्परतामा ठूला–ठूला प्रतियोगिता सम्पन्न भइसकेका छन् । उनी अहिले एकेडेमीका अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।