कोशी सरकारमा नेकपाको इन्ट्री, ज्वाइँलाई भौतिक पूर्वाधार मन्त्रालय
दमक ।
३ बुँदे सहमति गरेर नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेशमा सत्ता समीकरणको सहमति भयो । सहमति गर्दै–गर्दा कोशीमा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बन्न रोक्नु प्रचण्डको एउटै उद्देश्य थियो । तसर्थ, यसअघि पनि मुख्यमन्त्री पद पाउने मुखमै पुगेर अड्किएका आङ्बोलाई यसपटक भने प्रचण्ड आफैँले रोके । उनले एमालेलाई कोशी प्रदेशको नेतृत्व गर्न दिने गरी सहमति गरिदिए । यसको सबैभन्दा ठूलो असर आङ्बोलाई प¥यो । उनको मुख्यमन्त्री बन्ने सपनामा नै ब्रेक लाग्यो ।
विगतमा पार्टी फुट्दा मोहन वैद्यसँग लागेर पछि प्रचण्डतिरै फर्किएका आङ्बोलाई प्रचण्डले अझै विश्वास गर्दैनन् भन्ने यो गतिलो प्रमाण पनि हो । तसर्थ, कोशीमा प्रचण्ड आङ्बो रोक्न सफल बने । त्यति मात्र हैन पार्टीमा जनयुद्धकालदेखि योगदान गर्दै आएका नेता–कार्यकर्तालाई रोकेर आफ्ना कान्छा ज्वाइँ जीवन आचार्य (गंगा दाहालका श्रीमान)लाई सरकारमा पठाउन सफल भए । आचार्यको पार्टीमा योगदानभन्दा पनि प्रचण्डको ज्वाइँ भनेर परिवारमा योगदान गरेको योग्यता धेरै छ ।
आचार्यलाई सत्तामा पटकपटक अवसर दिँदा पार्टीमा योगदान गरेका अन्य नेता–कार्यकर्ता भने असन्तुष्ट छन् ।
आङ्बोलाई रोक्न र ज्वाइँलाई मन्त्री बनाउन प्रचण्ड सफल हुँदैगर्दा एमाले अध्यक्ष केपी शर्मा ओली भने आफ्नै गृहप्रदेशमा असफल बनेका छन् । पार्टी पुनर्गठन भन्दै ओलीविरुद्ध लागेका हिक्मतकुमार कार्कीलाई यसपटक मुख्यमन्त्रीमा निरन्तरता नदिने ओलीको योजना थियो । उनी दलका उपनेता तीलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चहान्थे । पार्टीभित्र यो विषयले ठूलो बहस सृजना ग¥यो । तर, हिक्मतको अडानका पछाडि ओलीको केही चलेन । अन्ततः ओली पछि हटे । उनी आफ्नै गृहप्रदेशमा असफल बन्न पुगे ।
ज्वाइँलाई भौतिक पूर्वाधार मन्त्रालय
कोशी प्रदेशमा नेकपाले प्रचण्डका ज्वाइँ जीवन आचार्यसहित पाँच जनालाई सरकारमा पठाएको छ । जसमा एक राज्यमन्त्री पनि छन् । यद्यपि सरकारको नेतृत्व भने इलामकी खिनु लङ्वा लिम्बूले गरेकी छन् । उनले पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हाल्लेकी हुन् । उनी माओवादीसँग एकता हुनुअघि नेकपा एकीकृत समाजवादीमा थिइन् । यस्तै, प्रचण्डका कान्छा ज्वाइँ आचार्य भौतिक पूर्वाधार विकास, सोलुखुम्बुका गोम्बू शेर्पाले आन्तरिक मामिला तथा कानुन र मोरङकी गीता तिम्सिना सामाजिक विकास मन्त्रालय समालेका छन् । यस्तै, सुनसरीकी सपना दर्जी राज्यमन्त्री बनेकी छन् ।
लिम्बू अघिल्लो कार्यकालमा पर्यटन वन तथा वातावरण मन्त्री बनेकी थिइन् । यस्तै, आचार्यले कोशी सरकारमै यसअघि आर्थिक मामिला तथा योजना मन्त्रालय र पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
शेर्पा भने पहिलोपटक मन्त्री बनेका हुन् । उनी कोशी सरकारमा मन्त्री बन्ने शेर्पा समुदायको पहिलो व्यक्ति भएका छन् । उनी सदनमा फरक प्रस्तुति दिएर चर्चामा आएका सांसद हुन् । उनले सदनमा गीत गाएर सरकारविरुद्ध खबरदारी गर्दै आएका थिए । नवनियुक्त मन्त्रीहरूले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।