दुई सचिवले बोल्दा हिक्मतलाई बोल्न दिइएन, पुनर्गठन पक्षधरलाई ओलीको कटाक्ष

दमक ।

हिक्मतकुमार कार्की कोशी प्रदेशका मुख्यमन्त्री मात्रै हैनन् । उनी एमालेका केन्द्रीय सचिव पनि हुन् । उनको गृहजिल्ला झापा हो । विगतमा गृहजिल्लामा एमाले पार्टीले आयोजना गर्ने कार्यक्रममा हिक्मतलाई सम्मान दिइन्थ्यो । तर, पछिल्लो समय हिक्मतलाई आफ्नै गृहजिल्लामा अपमान गरिएको छ ।

कार्कीलाई आफ्नै गृहजिल्लामा आयोजित पार्टीको औपचारिक कार्यक्रममा मन्तव्य राख्नबाट वञ्चित गराइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गृहजिल्ला झापामा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ को कार्यक्रममा मुख्यमन्त्री कार्कीलाई बोल्ने कार्यसूचीमा समावेश नगरिएपछि एमालेभित्रको आन्तरिक गुटबन्दी र तिक्तता छताछुल्ल भएको हो ।

झापा एमाले अध्यक्ष ओली र मुख्यमन्त्री कार्की दुवैको गृहजिल्ला हो । कार्की ओलीकै निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ को (१) बाट लगातार दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् । प्रादेशिक सरकारको प्रमुख र पार्टीको केन्द्रीय सचिवजस्तो जिम्मेवार पदमा रहेका नेतालाई आफ्नै भूगोलको मञ्चमा सम्बोधन गर्न नदिनुलाई पार्टी वृत्तमा ‘हिक्मतमाथिको योजनाबद्ध अपमान’ का रूपमा हेरिएको छ । उनकै भूगोलको पार्टीले जिल्लामा पार्टीलाई पुनर्जागरण गर्न आयोजना गरेको कार्यक्रममा हिक्मतले नै बोल्न पाएनन् । जबकि उनकै हैसियतका एमालेका दुई केन्द्रीय सचिवलाई भने बोल्न दिइएको थियो ।

आइतबार बिर्तामोडमा सम्पन्न मिसन पार्टी जागरण अभियानको सो कार्यक्रममा केन्द्रीय नेतृत्वको बाक्लो उपस्थिति थियो । कार्यक्रममा मुख्यमन्त्री कार्की अध्यक्ष ओलीलाई स्वागत गर्न अघिल्लो पंक्तिमै उभिएका थिए । तर, औपचारिक मञ्च सञ्चालनका क्रममा उनलाई बोल्ने समय उपलब्ध गराइएन । रोचक कुरा के छ भने, पार्टीका अन्य २ केन्द्रीय सचिव- संगठन विभाग प्रमुख भानुभक्त ढकाल र कोशी प्रदेश इन्चार्ज शेरधन राईले भने कार्यक्रममा मन्तव्य राख्ने अवसर पाए । प्रदेशको मुख्यमन्त्री र सोही जिल्लाका प्रभावशाली केन्द्रीय सचिवलाई पाखा लगाएर अन्य पदाधिकारीलाई मात्र मन्तव्य राख्न दिनुले जिल्ला र केन्द्रीय नेतृत्वको पूर्वाग्रह प्रस्ट भएको छ ।

पछिल्लो समय एमालेभित्र शीर्ष नेताहरूबीचको शक्ति सन्तुलन र समीकरण बदलिँदो छ । मुख्यमन्त्री कार्की र अध्यक्ष ओलीबीच केही समययता सम्बन्ध चिसिँदै गएको छ । कार्की पछिल्लो समय पार्टी पुनर्गठन अभियानमा सक्रिय हुन थालेका छन् र उनी पार्टी महासचिव शंकर पोखरेलसँग नजिकिएका छन् । महासचिव पोखरेलसँगको बढ्दो निकटता र पार्टी आन्तरिक संरचनामा भिन्न दृष्टिकोण राख्न थालेपछि अध्यक्ष ओली कार्कीप्रति असन्तुष्ट बनेका हुन् ।

यसअघि कोशी प्रदेशमा सरकार गठन र समीकरण परिवर्तनका क्रममा पनि ओली र कार्कीबीचको दूरी बाहिर आएको थियो । नेकपासँग सहकार्यमा प्रदेश सरकार पुनर्गठन हुँदा अध्यक्ष ओली कार्कीलाई हटाएर उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्थे । त्यसका लागि ओलीले गुण्डु र पार्टी तहबाट व्यापक कसरत र दबाब पनि सिर्जना गरेका थिए । तर, कार्कीले प्रदेशसभा नै विघठन गर्ने धम्की दिएपछि अन्ततः ओली आफ्नो अडानबाट पछि हट्न बाध्य भएका थिए । यही राजनीतिक जित नै कार्कीका लागि संस्थापन पक्षबाट असन्तोषको कारण बन्दै आएको थियो । कार्यक्रममै ओलीले कार्कीमाथि ब्यङ्यसमेत गरेका थिए । उनले अर्काले पाउने हुँदा बुरुक्क उफ्रिएको आरोप लगाए । तर, हिक्मतको नाम भने लिएनन् ।

ओलीले आफूविरुद्ध लाग्नेलाई किर्नाको संज्ञासमेत दिन भ्याए । उनले आफ्नै पार्टी सदस्यहरुलाई ‘सडकछाप’ र ‘आवारा’समेत भने । ‘पार्टीबाट अवसर लिने नै असन्तुष्ट छन् । किर्नाले पनि टन्न खाएर अगाएपछि भैँसीको जीउबाट पुक्लुक्क भुँइमा झर्छ । एमालेलाई पनि भौँसी बनाउन खोजका छन्, साथीहरूले । खाइञ्जेल खाने खाएर टिल्ल भएपछि छाड्दिने । एमाले त्यस्तो पार्टी हैन,’ ओलीले भने, ‘राधे राधे ओढ्ने भित्र छुरी राखेर हिँड्ने प्रवृत्ति एमालेमा हुँदैन । केही नपाएकाले यसपटक पनि भोट हाले । केही पाएकाले यसपटक पनि भोट हालेनन् । केही मान्छे यस्तो निस्किए जो पाइरहन चाहन्छन् । अर्काले पाउने भयो भने बुरुक्क उफ्रिन्छन् ।’ ओलीले आफ्नै कार्यकर्तामाथि गाली गरिरहँदा मुख्यमन्त्री कार्कीमा भने छटपटाहट देखिन्थ्यो । मञ्चमा बसेका उनी स्थिर हुन सकेका थिएनन् ।

विमानस्थल पुगेनन् हिक्मत

यसअघि अध्यक्ष ओली झापा वा कोशी प्रदेशका जुनसुकै जिल्ला जाँदा पनि मुख्यमन्त्री कार्की स्वागतका लागि विमानस्थल वा कार्यक्रम स्थलमा अग्रपंक्तिमा पुग्ने गर्दथे । तर, यसपटकको भ्रमणमा भने सम्बन्धको चिसोपन प्रस्टै देखियो ।

शनिबार अध्यक्ष ओली भद्रपुर विमानस्थल हुँदै इलामको सूर्योदय नगरपालिकामा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल केन्द्रीय समितिको चौथो बैठकलाई सम्बोधन गर्न पुगेका थिए । तर, सधैँझैँ ओलीलाई स्वागत गर्न भद्रपुर पुग्ने कार्की यसपटक भने शनिबार झापा वा इलामको कार्यक्रममा सहभागी भएनन् । कार्की शनिबार ओलीको स्वागतमा नगएपछि उनीहरूबीचको दूरी झनै बढेको चर्चा चुलिएको थियो ।

यद्यपि, आइतबार बिर्तामोडमा आयोजित एमाले झापाको कार्यक्रममा भने कार्की ओलीलाई स्वागत गर्न पुगेका थिए । तर, शनिबारको अनुपस्थितिको बदलास्वरूप वा आन्तरिक गुटबन्दीकै कारण आइतबारको मूल कार्यक्रममा उनलाई बोल्नै नदिई उपेक्षा गरियो ।

एमालेको बलियो पकड मानिने झापामै मुख्यमन्त्री र केन्द्रीय सचिव तहको नेतालाई यसरी सार्वजनिक मञ्चबाटै उपेक्षा गरिनुले एमाले झापा र कोशी प्रदेश कमिटीभित्रको आन्तरिक द्वन्द्वलाई बाहिर ल्याइदिएको छ । आफ्नै गृहजिल्ला र आफ्नै दलको प्रमुख कार्यक्रममा प्रदेश सरकारको मुख्यमन्त्रीलाई बोल्न नदिनु राजनीतिक संस्कारविपरीत भएको कार्की पक्षधर नेता–कार्यकर्ताहरूको बुझाइ छ ।

पार्टी पुनर्गठन, महासचिव पोखरेलसँगको सहकार्य र विगतमा मुख्यमन्त्री पद जोगाउन कार्कीले गरेको राजनीतिक संघर्षकै परिणामस्वरूप अध्यक्ष ओली र झापा एमालेको संस्थापन पक्षले कार्कीलाई नियोजित रूपमा अपमानित गरेको विश्लेषण गरिएको छ । यस घटनाले कोशी प्रदेश एमालेभित्र ओली र कार्की गुटबिचको तिक्तता आउँदा दिनमा अझ तीव्र हुने संकेत गरेको छ ।

दाबी नरम, बोली छुद्र

बिर्तामोडमा ओलीले आफूले कसैप्रति कडा स्वरमा नबोलेको दाबी गरे । उनले कसैलाई हप्कीदप्की नगरेको बताए । तर, उनको छुद्र बोलीले भने पार्टी कार्यकर्ता र आमजनता दिक्क छन् । यसको परिणाम २१ फागुनमा सम्पन्न प्रतिनिधिसभालाई लिन सकिन्छ । उनी कति छुद्र छन् भन्ने अर्को प्रमाण हो, यसपटक पूर्वभ्रमणमा उनले दिएको अभिव्यक्ति ।

पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा बहस गरिरहेका नेता–कार्यकर्तालाई अध्यक्ष ओलीले ‘आवारा’ को संज्ञा दिए । पार्टीमा आफ्नो विकल्प खोज्नेलाई अनुशासनहीन व्यक्तिहरू भन्न भ्याए । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सुझाव कार्यदलले तयार पारेको नेतृत्व पुनर्गठन र पद छाड्नुपर्ने विषय समेटिएको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै ‘होल्ड’ राखेका ओलीले पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् । उनले महाधिवेशनले नै आफूलाई अध्यक्ष चुनेको र अर्को महाधिवेशनसम्म नेतृत्व नछाड्ने जिकिर गरे । ओलीको विकल्प खोज्नुपर्ने बहस फराकिलो हुँदै गएका बेला ओलीले नेतृत्वमा आफ्नो निरन्तरता रहने स्पष्ट पारेका हुन् ।

एमालेभित्र ओलीको विकल्प खोजिँदै आएको छ । विगतमा उनीनिकट महासचिव शंकर पोखरेलसहितका नेता अहिले विपक्षमा छन् । उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा बनेको कार्यदलले पनि ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव दिएपछि ओली आफ्नै नेता–कार्यकर्तासँग आक्रोशित भए । ‘पार्टीमा अहिले अनुशासनहीनता र अराजकता बढेको छ । पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन् । अध्यक्ष हटाउने कुरा ठट्टा हो ? पार्टी सदस्य छ कि छैन ? उरन्ठेउलाहरू भेला भएका छन् । चिया खाएको छ, अध्यक्ष हटाउने हो, कहिले हटाउने हो, छिटो हटाउन भनेका छन्,’ ओलीले भने, ‘के मजाक हो यो ? कोही अध्यक्ष हटाउन हस्ताक्षर गर्दै हिँडेको छ । त्यसका पछाडि केही दम छैन । कति बेला के गर्ने भन्ने पार्टीको विधि, प्रक्रिया र समय हुन्छ । अस्ति भर्खर पार्टीको महाधिवेशन भएको छ । हामीलाई पनि थाहा छ । कोही केन्द्रीय सदस्य बनेको होला । जति बेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भएको छ, पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा यतिबेला अध्यक्ष हटाउँछ भनेको छ । तर, केही हुनेवाला छैन । यी सबै बेकारका कुरा हुन् ।’

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्