दमक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का लुम्बिनी प्रदेश सांसदले एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएको घटनालाई लिएर अग्रगामी मोर्चाले असन्तुष्टि जनाएको छ ।
जसपा नेपालको नीतिविपरीत प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिरले सोमबार कार्कीलाई विश्वासको मत दिएका थिए । जसपा नेपाल अग्रगामी मोर्चाको घटक दल हो । मोर्चामा अन्य ७ वटा दल सहभागी छन् ।
लुम्बिनी प्रदेश सभामा जसपा नेपालका ५ जना सांसदमध्ये अम्बिका काफ्ले भने सोमबार अनुपस्थित थिइन् । उनी हालै समायोजित जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन् ।
जसपा नेपालले भदौ १ नै आफ्ना सांसदहरुलाई लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो, तर प्रदेश संसदीय दलले त्यसविपरीत आचार्यलाई विश्वासको मत दिएको हो ।
अग्रगामी मोर्चाले मंगलबार जारी गरेको विज्ञप्तिमा सो कार्यलाई संसदीय व्यवस्थाको मूल्य, मर्यादा विपरीत र जसपा नेपालको निर्णय र निर्देशनको खिलाफ रहेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा जसपा नेपालका सांसदले एमालेका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिएको घटनालाई मोर्चाले अनैतिक भन्दै असंसदीय कार्य सच्याउन भनेको हो ।
अग्रगामी मोर्चाले मंगलबार नै आगामी प्रदेश सभा निर्वाचनसम्म मोर्चाका कुनै घटक दलहरु प्रदेश सरकारमा सहभागी नहुने निर्णय भएको विज्ञप्तिमार्फत जनाएको छ ।



प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।