दमक ।
सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन बुझाएका छन् ।
१० साउनमा हिन्दु र मुस्लिम समुदायबीच भएको विवादपछि उत्पन्न झडपमा परेर सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा ३ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहता छन् । कप्तानगञ्ज घटनाको असर सिरहा जिल्लासम्म फैलियो ।
१४ साउनमा सिरहाको गोलबजारमा भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी १८ वर्षीय गणेश यादवको ज्यान गयो । दुवै घटनाका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ ।
मंगलबार गृहमन्त्रीसमक्ष बुझाइएका अलग–अलग प्रतिवेदनमा उल्लेख भए अनुसार मृतक सबैको सुरक्षाकर्मीले चलाएको गोली लागेर ज्यान गएको हो ।
कप्तानगञ्ज घटनाबारे सहसचिव भुपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो ।
मनवीय क्षति हुने गरी भएको दुवै घटनामा प्रहरीले चलाएको गोलीबाटै मृत्यु भएको निष्कर्ष निकालिएको हो । गृह मन्त्रालयका एक उच्च अधिकृतले भनेका छन्, ‘चारैजनाको मृत्यु सुरक्षाकर्मीको गोलीबाट नै भएको छानबिन समितिको निष्कर्ष छ ।’
कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्रले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको छानबिनबाट देखिएको हो । त्यहाँ २० राउण्ड गोली चलेको प्रतिवेदनमा उल्लेख छ ।
कप्तानगञ्जमा भएको झडपमा दुवै समुदायका मानिसहरूले प्रहरीमाथि चिर्पट, ढुंगा, बाँस र लाठीमार्फत आक्रमण सुरु गरेपछि घटनास्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीले गोली चलाउँदा मानवीय क्षति भएको छानबिन समितिको निष्कर्ष छ ।
सिरहाको गोलबजारमा सशस्त्र प्रहरीले गोली चलाएको नपाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको समितिको निष्कर्ष छ । गोलबजारमा ७ राउण्ड ‘डमी राउण्ड’ र पेस्तोलबाट २ राउण्ड गोली चलेको प्रतिवेदनमा उल्लेख छ ।
छानबिन समितिले घटनामा संलग्न सुरक्षा अधिकृतहरूलाई कारबाही गर्न सिफारिस गरेको छ ।
समितिले घटनाको सामाजिक पक्ष, धार्मिक पक्ष र सुरक्षाको दृष्टिकोणबाट विश्लेषण गरेर प्रतिवेदन बुझाएको बताइएको छ । सुझाव खण्डमा भविष्यमा यस्ता घट्ना नदोहोरिन अपनाउनुपर्ने उपायबारे सुझाइएको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।