दमक ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनौट प्रयोजनका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन र छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याइएको रास्वपाले जनाएको छ । सोमबार चस्मतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्यान्डिडेट क्लब’को घोषणा गरे ।
उम्मेदवार बन्न चाहने आकांक्षीको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालगायत विषयको मूल्यांकन गरी योग्य र सक्षम प्रतिनिधि छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याइएको लामिछानेको भनाइ थियो ।
स्थानीय तहको उम्मेदवार बन्नुअघि उम्मेदवारको राजनीतिक तथा अन्य मापदण्ड क्यान्डिडेट क्लबमा जाँच गरिने उनले बताए ।
‘नेतृत्वमा आएका कयौं मानिसहरूका कयौं कुराहरू उठ्दै आउँछन् । त्यसकारणले ‘क्यान्डिडेट क्लब’ भित्र ल्याएर ती सबै कुराहरूलाई हेरेर राजनीतिक रूपमा, सामाजिक रूपमा र अन्य मापदण्डका आधारमा उम्मेदवार चयन गर्नको लागि यो क्लब गठन गरिएको हो,’ सभापति लामिछानेले भने, ‘सुरुवातमा हामी गाउँपालिकाबाट सुरु गर्दैछौं ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँपालिका अन्तर्गतका वडा, वडाका अध्यक्षलगायतका जति पनि पदहरू राजनीतिक पद छन् । त्यसका लागि आवेदन आजबाट औपचारिक रूपमा खुला गर्न गइरहेको छौं आजदेखि आउँदो स्थानीय तह निर्वाचनमा गाउँपालिकामा उम्मेदवारी दिने सबैले पार्टीको क्याण्डिडेट क्लबमा आवेदन दिनसक्नुहुनेछ ।’
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारले सोमबारदेखि आवेदन दिनसक्ने लामिछानेले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप्स ‘आरएसपी’ गएर आवेदन दिन सकिने उनले बताए ।
पार्टीलाई आवश्यक नेतृत्व खोज्ने प्रक्रियामा ‘मेरिटोक्रेसी’ कायम गर्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको उनले बताए ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।