दमक ।
नेपाली कांग्रेसका सभापति गगन थापाले विपी कोइरालाको विचारलाई अपव्याख्या गरिएको भन्दै टिप्पणी गरेका छन् ।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले आफ्नो आवश्यकताका आधारमा मात्रै विपीको नाम जोड्ने प्रवृत्ति बढेको बताएका हुन् । उनले बीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई अवमूल्यन गरिएको बताएका हुन् ।
आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न कांग्रेसका केही नेताहरुले ‘राष्ट्रिय मेलमिलाप’ को प्रसङ्गमा बीपी कोइरालालाई सम्झिने गरेको थापाको भनाइ थियो ।
‘हाम्रो परम्परा आफूलाई जहाँ निर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँ निर प्रयोग गर्ने रह्यो,’ थापाले भने, ‘अहिले पनि ठाउँ–ठाउँमा भएका छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको प्रसङ्ग एकदम व्यापक आइरहेको छ । नेताहरूले फेरि रातारात बीपीलाई सम्झिनुभएको छ ।’
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले गरेको राष्ट्रिय भेलातर्फ इंगित गर्दै उनले आफैं राजनीतिक निर्णय गर्न नसकेर नेताहरूले बीपीको नामको सहारा खोजेको आरोप लगाए ।
थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने तर्क गरे ।
विपीले लोकतन्त्र र सामाजिक न्यायप्रतिको आफ्नो मूल प्रतिबद्धता कहिल्यै परिवर्तन नगरेको सभापतिको भनाइ थियो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।