हिजो ‘आवारा’ बनाएकालाई आज ‘सडकछाप’ बनाइदिए ओलीले

दमक ।

कोशी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सचिव हिक्मतकुमार कार्कीलाई गृह जिल्ला झापामै छायाँ पारिएको छ । आइतबार झापाको बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्की छायाँमा परेका हुन् ।

उनीसमानका अन्य दुई एमाले केन्द्रीय सचिव शेरधन राई र भानुभक्त ढकाललाई सम्बोधन गर्न दिइए पनि कार्कीलाई भने बोल्न दिइएन । राई एमालेको कोशी प्रदेश इन्चार्ज हुन् भने ढकाल एमाले संगठन विभाग प्रमुख हुन् । सचिवद्वयले अध्यक्ष ओलीको बचाउ गर्दै पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विपक्षमा बोलेका थिए ।

पछिल्लो समय पार्टी पुनर्गठन अभियानमा लागेका कार्की र एमाले अध्यक्ष ओलीबीच केही समययता सम्बन्ध चिसिएको छ ।

कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन चाहेका ओली भलै त्यस कार्यमा सफल नभए पनि एमाले झापाले शुभारम्भ गरेको मिसन पार्टी जागरण कार्यक्रममा कार्कीलाई बोल्न नदिने योजनामा भने सफल भएका हुन् ।

त्यसो त शनिबार काठमाडौंबाट भद्रपुर विमानस्थलमा अवतरण भएका ओलीलाई स्वागत गर्न पनि मुख्यमन्त्री कार्की पुगेनन् । यसअघिका दृश्य ठीक उल्टा हुने गरेका थिए ।

कार्कीलाई वक्तामा रोकेर मात्रै रिस साम्य नभएपछि ओलीले आफ्नो बोल्ने पालोमा कार्कीतर्फ इंगित गर्ने अरूलाई अवसर दिँदा ‘बरुक्क उफ्रिन खोजेको’ समेत भन्न भ्याएका थिए ।

उनले आफू इतर समूहतर्फ लक्षित गर्ने पार्टीबाट पटक–पटक अवसर लिएकाहरु नै असन्तुष्ट भएको आरोप लगाएका थिए । ‘किर्नाले पनि टन्न खाएर अघाएपछि भौँसीको जीउबाट पुक्लुक्क भुँइमा झर्छ । एमालेलाई पनि भैंसी बनाउन खोजका छन्, साथीहरुले । खाइञ्जेल खाने, खाएर टिल्ल भएपछि छाड्दिने,’ ओलीले भने ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा एमालेको सर्मनाक हार भएपछि एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण गर्नुपर्ने बहस सतहमा छ । ओली इतर पक्षले नेतृत्व हस्तान्तरणका लागि दबाब दिन हस्ताक्षर अभियान नै सञ्चालन गरेका छन् ।

ओलीले भने अध्यक्ष हटाउने कुरा ‘सडकछाप’ भएको टिप्पणी गरेका छन् । शनिबार इलाममा ओलीले इतर समूहतर्फ लक्षित गर्दै ‘आवारा’ हुन् भनेका थिए ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्