गाउँका उकाली–ओरालीबाट सुरु भएको पुष्पाको दौड हङकङको ६२ मिनेटमा ब्रेक भएको ‘वर्ल्ड रेकर्ड’सम्म
पुष्पाको दौडने क्षमता कुनै आधुनिक जिम वा सेन्थेटिक ट्रयाकमा तयार भएको होइन । यो त पहाडी जीवनशैली, दैनिक परिश्रम र उनको आफ्नै तीव्र हिँडाइको उपज थियो ।
दमक ।
पाँचथरको दुर्गम गाउँ साराङडाँडामा उकाली–ओराली गर्दै हुर्किएकी एउटी सानी केटी, जसको उचाइ जम्मा ४.११ फिट छ । तर, आज तिनै सानी केटीले आफ्नो पाइलाको गतिले देश–विदेशको खेलकुद मैदानलाई चुनौती दिइरहेकी छन् । पाँचथरदेखि हङकङको कठिन ‘ट्रेल रन’सम्म स्वर्ण पदकको झण्डा गाड्न सफल नाम हो, पुष्पा शेर्मा ।
जीवनका अनगिन्ती उकाली–ओराली, सानै उमेरमा आमासँगको वियोग, भौगोलिक विकटता र खेलकुदका पूर्वाधारको अभावका बाबजुद पुष्पाले जे हासिल गरेकी छन्, त्यो केवल एउटा खेलाडीको सफलता मात्र होइन— अदम्य साहस, दृढ इच्छाशक्ति र अथक मिहिनेतको सजीव उदाहरण हो ।
यसरी बित्यो बाल्यकाल
पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ (साबिक साराङडाँडा–६) मा बाबु रनबहादुर शेर्मा र आमा रनकुमारी सम्बाहाम्फेको कोखबाट पुष्पाको जन्म भएको हो । पुष्पा सानैदेखि चकचके र तीव्र चञ्चले स्वभावकी थिइन् ।
उनको प्राथमिक शिक्षा गाउँकै सिद्ध भगवती निमावि साराङडाँडामा भयो । पढाइमा उनी सधैँ अब्बल थिइन्— कक्षा ५ सम्म निरन्तर प्रथम र कक्षा ५ देखि ८ सम्म दोस्रो स्थान हासिल गरिरहिन् । तर, जीवन सधैँ सोचेजस्तो सरल कहाँ हुन्छ र ? कक्षा ८ मा पढ्दै गर्दा पुष्पाकी आमाको असामयिक निधन भयो । आमाको सामीप्य र माया गुमाएपछि पुष्पाको मानसपटलमा गहिरो चोट पुग्यो, जसको असर उनको पढाइमा पनि प¥यो । आमाको काख छुटेपछि पढाइलाई जसोतसो निरन्तरता दिँदै उनी इलामको माङसेबुङ–५ स्थित आमाको दिदी (ठूलीआमा) को घरमा आइन् र सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा भर्ना भइन् ।
फुटबलको चोटबाट सुरु भएको दौडको यात्रा
माङसेबुङ आएपछि पुष्पाको खेलकुद यात्राले नयाँ मोड लियो । सुरुमा उनलाई भलिबलमा अलिअलि रुची थियो । पछि फुटबलतर्फ उनको यात्रा मोडियो । कक्षा १० मा पढ्दा उनी माङसेबुङबाट यु–१८ खेलका लागि छनोट भइन् । जिल्लाको तर्फबाट खेल्दै ओखलढुङ्गामा भएको प्रतियोगिता जितेर फर्किइन् । त्यो बेला उनी हालकी स्टार खेलाडी जेनिफर मगरसँगै मैदानमा उत्रिएकी थिइन् ।
तर, नियतिले उनलाई फुटबल मैदानमा धेरै टिक्न दिएन । माङसेबुङ–५ को आत्मानन्द खेलमैदानमा अभ्यासका क्रममा पुष्पाको खुट्टामा गम्भीर चोट लाग्यो । यही चोटका कारण उनले फुटबल सधैँका लागि छाड्नुप¥यो ।
फुटबल छुटे पनि उनको भित्री ऊर्जा र क्षमता मरेको थिएन । २०७९ को एसईई परीक्षापछि कक्षा ११ मा पढ्दा उनलाई १४औँ राष्ट्रपति रनिङ शिल्डमा भाग लिने अवसर मिल्यो । विद्यालय र पालिका तहको दौडमा उनी प्रथम भइन् ।
त्यसपछिको १५औँ राष्ट्रपति रनिङ शिल्ड पुष्पाको जीवनको निर्णायक मोड बन्यो । उनी स्कूल, पालिका, जिल्ला र कोशी प्रदेशमा प्रथम हुँदै राष्ट्रियस्तरको प्रतियोगिता (नेपाल) सम्म पुगिन् । राष्ट्रियस्तरमा १५ सय मिटर दौडमा प्रथम (स्वर्ण पदक) र ३ हजार मिटरमा चौंथो स्थान हासिल गर्दै उनले इतिहास रचिन् । इलाम जिल्लाको इतिहासमा राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फ स्वर्ण पदक भित्र्याउने पुष्पा पहिलो खेलाडी बनिन् ।
बिना प्रशिक्षकको संघर्ष
इलाम र कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा पुग्दा पुष्पाले नेपाली खेलकुदको तीतो यथार्थलाई नजिकबाट महसुस गरिन् । गण्डकी र बागमतीजस्ता प्रदेशहरू अनुभवी, ४–५ पटक खेलिसकेका खेलाडी र व्यक्तिगत प्रशिक्षक (कोच) का साथ मैदानमा उत्रिन्थे । तर, पूर्वबाट गएकी पुष्पाका लागि यो पहिलो अनुभव थियो । ‘अनुभवी खेलाडीहरूसँग खेल्दा निकै प्रेसर पथ्र्यो । मलाई लाग्थ्यो— किन मैले अलिक पहिल्यैदेखि दौडिन थालिनँ होला ?,’ पुष्पा भन्छिन् ।
माङसेबुङका दौड प्रशिक्षक दिपसल राईले उनलाई निरन्तर हौसला दिन्थे, ‘जितेर आउनुपर्छ !’ उनको प्रेरणा र पुष्पाको अथक मिहिनेतले स्वर्ण त दिलायो, तर प्रादेशिक तहमा प्रशिक्षक र उचित व्यवस्थापन नहुँदा अझ राम्रो नतिजा निकाल्न नसकिएको गुनासो उनी गर्छिन् । ‘यदि हामीसँग पनि अनुभवी प्रशिक्षक भइदिएको भए त्यो बेला अझ धेरै स्वर्ण पदक आउँथ्यो होला,’ उनी भन्छिन् ।
पुष्पाको दौडने क्षमता कुनै आधुनिक जिम वा सेन्थेटिक ट्रयाकमा तयार भएको होइन । यो त पहाडी जीवनशैली, दैनिक परिश्रम र उनको आफ्नै तीव्र हिँडाइको उपज थियो । माङसेबुङमा गुरु आश्रममा बस्दा पुष्पा विद्यालयको पढाइ सकेर कोठामा फर्कनासाथ दौडिँदै महमाईको पलासेसम्म खेतीपातीको काम गर्न पुग्थिन् । उनी मावली घर पाँचथरको कुरुम्बाबाट बिहान १० बजे हिँडेर माङसेबुङ–३ को रतुवा खोला किनारमा काम गर्न आइपुग्थिन् ।
हिँड्दा पनि सधैँ छिटो–छिटो हिँड्ने उनको बानी थियो । एकपटक खेतमा दौडिँदै पुग्दा गुरुआमाले अचम्म मान्दै सोध्नुभएको थियो, ‘केबेरा आङ केयाबी ?’ (उडेर पो आयौ कि के हो ?) ‘सानैदेखि जे पनि छिटो गर्नुपर्छ भन्ने लाग्थ्यो । ममा एउटा अद्भूत जिद्दीपन थियो,’ उनी भन्छिन्, ‘जे सोचेँ, त्यो जसरी पनि गरेरै छाड्नुपर्छ । यही स्वभावले मलाई धाविका बन्न सहज बनायो ।’
स्थानीय प्रतियोगितादेखि हङकङको कीर्तिमानसम्म

राष्ट्रपति रनिङ शिल्डपछि पुष्पाले लगातार स्थानीय तथा राष्ट्रिय ट्रेल रन र म्याराथनहरूमा आफ्नो वर्चस्व कायम गर्न थालिन् । उनी पवित्रहाङमा म्याराथन (४.७ कि.मि.) २०८१ मा दोस्रो, २०८२ मा प्रथम, भोजपुरको बाँसीखोरा र आमचोक रन जितेर भोजपुरबाट ‘ह्याट्रिक’ उपाधि ल्याइन् । यस्तै, गोर्खा ट्रेल ब्लेजर (१० कि.मि., धरान) २०८२ मा प्रथम भएसँगै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हङकङ जान छनोट पनि भइन् ।
३१ जनवरी २०२६ मा हङकङमा आयोजित ‘तेस्रो गोर्खा सेमि ट्रस्ट रन (१२ कि.मि.)’ मा पुष्पाले भाग लिइन् । २८ देशका उत्कृष्ट धावकहरू सहभागी उक्त प्रतियोगितामा पुष्पाले १ घण्टा २ मिनेटमा दूरी पार गर्दै नयाँ विश्व कीर्तिमान कायम गरिन् । यसअघि सो खेलको रेकर्ड १ घण्टा ४७ मिनेटको थियो, जसलाई पुष्पाले भारी अन्तरले तोडिदिइन् । चर्चित अन्तर्राष्ट्रिय धाविका मीरा राईपछि यो उपाधि जित्ने उनी दोस्रो नेपाली महिला बनेकी छन् । ‘विजेता देशको एउटैमात्र झण्डा राखिएको थियो,’ उनी भन्छिन्, ‘जब मैले नेपालको झण्डा त्यहाँ फहराउन पाएँ, त्यो मेरो जीवनकै सबैभन्दा खुसी र गर्वको क्षण थियो ।’
यसको लगत्तै फेब्रुअरी ८ मा चीनले आयोजना गरेको ‘फोर मिनी ट्रेल (१६ कि.मि.)’ को उपाधि पनि पुष्पाले नै आफ्नो पोल्टामा पारिन् । हाल उनी २०२६ जनवरीदेखि ‘गोर्खा ब्लड हङकङ’ संस्थासँग आबद्ध भएर खेल्दै आएकी छन् । जसले उनको वैदेशिक यात्रा, प्रशिक्षण र व्यवस्थापनमा सहयोग गरिरहेको छ ।

हङकङबाट फर्किएपछि उनले हाफ र फुल म्याराथनमा पाइला बढाएकी छन् । संखुवासभा (२१ कि.मि. हाफ म्याराथन) मा प्रथम भइन् । यस्तै, इलाम रेडपाण्डा रन (४८ कि.मि.)मा पाँचौँ (सबैभन्दा कान्छी प्रतिस्पर्धीको रूपमा) सहभागी भइन् । भोजपुर (पहिलो मुन्दुम ट्रेल ४२ कि.म.)मा आर्मीका अनुभवी धावकलाई ४६ सेकेन्डले पछाडि पार्दै प्रथम हुन सफल भइन् । काठमाडौँ (मञ्जुश्री ट्रेल ५० कि.म.)मा उनी चौंथो भइन् ।
तराई (झापा) मा प्रशिक्षण गरेर उच्च पहाडी तथा हिमाली भेगमा खेल्न जाँदा पुष्पाले अनेकौँ कष्ट सहनुप¥यो । २०८३ वैशाखमा भएको जुम्ला रारा अल्ट्रा म्याराथन (२२०० मि. देखि ४४०० मि. सम्मको उचाइ) र २०८३ जेठमा भएको अन्नपूर्ण म्याराथन (४२ कि.मि.) मा उनले तीव्र ‘हाई अल्टिच्युड’ (लेक लाग्ने)को सामना गरिन् । ‘झापामा ट्रेनिङ गरेकाले उचाइमा सातो जान्थ्यो । टोपी र ज्याकेट लगाएर दौडनुपथ्र्यो,’ उनी भन्छिन्, ‘अन्नपूर्णमा त ३२ सय मिटरमा पुगेपछि यति गाह्रो भयो कि साथमा ल्याएको लसुन र अदुवा खाएर बसेँ । पछि मेडिकल टोली आएर औषधि दिएपछि मात्र अगाडि बढेँ ।’
त्यस्तै, पूर्वी रुकुमदेखि रोल्पासम्मको ७औँ जोइन्ट गुरिल्ला अल्ट्रा ट्रेल रेस (६० कि.मि.) जित्दाको क्षण पनि उनका लागि अविस्मरणीय छ । अत्यधिक गर्मी, बाटो बिर्सिने समस्या र उचाइका बीच सशस्त्र प्रहरीकी आश्मा विकसँग प्रतिष्पर्धा गर्दै अन्तिम २ कि.मि. मा उछिनेर पुष्पा प्रथम भइन् । ‘त्यो खेल मेरो जीवनकै सबैभन्दा कठिन थियो । तर, अप्ठ्यारो पर्दा हामी प्रतिस्पर्धीले पनि एक–अर्कालाई पानी दिँदै, सहयोग गर्दै दौडियौँ,’ उनी भन्छिन्, ‘खेलमा जित मात्र ठूलो कुरा होइन, मानवीय संवेदना पनि चाहिन्छ ।’
पुष्पाको यो अभूतपूर्व उपलब्धिलाई कदर गर्दै विभिन्न संघसंस्थाले उनलाई सम्मान गरेका छन् । उनलाई इलाम जिल्ला खेलकुद विकास समितिले २५ हजार नगदसहित सम्मान गरेको छ । हङकङमा २ वटा स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय खेलकुद समिति, काठमाडौँले सम्मान गर्यो । झापा जिल्ला खेलकुद समिति, आत्म पवित्रहाङमा खेलकुद समिति (माङसेबुङ), पाँचथर एथ्लेटिक्स संस्था, माङसेबुङ गाउँपालिकालगायत संघसंस्थाले उनलाई सम्मान गरिसकेको छ ।
झापाको दमक बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत पुष्पा ‘दमक रन’सँग जोडिएर नियमित अभ्यास गरिरहेकी छन् । औपचारिक पढाइसँगै उनले आफ्नो मातृभाषा र लिपिको अध्ययनलाई पनि अगाडि बढाएकी छन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।