पुर्जाले सगरमाथा चुचुरोबाट खिचेको अरोहीहरुको भीडको तस्वीर । फोटो फाइल ।

विराटनगर ।

३० जुलाई २०२६ को त्यो बिहान ब्रोड पिकको आकाश भर्खरै खुले जस्तो देखिन्थ्यो । कञ्चन र सफा मौसमको त्यो रूप हिमालमा एउटा भयावह भ्रम मात्र थियो । बिहान ठीक ८ः३० बजे पाकिस्तानको ब्रोड पिक (८,०५१ मिटर) को ६ हजार ६०० मिटर उचाइमा एउटा विशाल हिमपहिरो खस्यो ।

क्याम्प–२ मा बसेर सेभेन समिट ट्रेक्सका प्रबन्धक जेन्जेन लामाले ग्लेसियर फाटेर त्यो सेतो मृत्युको गर्जन आफ्नै आँखाले देखे । ३० देखि ४५ डिग्रीको भिरालोमा खसेको हिउँको त्यो पहाडले निमेषभरमै १० जना पर्वतारोहीलाई निल्यो । त्यो त्रासदीमा विश्वकीर्तिमानी निर्मल पुर्जा(निम्स दाइ) र नेपाली पर्वतारोहण इतिहासकै अब्बल एलिट गाइडहरू पनि परे ।

नेपालका ख्यातिप्राप्त हिमाल आरोहीहरूको अनुभवमा यो त्रासदी पहिलो होइन र अन्तिम पनि हुने छैन । इतिहासको पाना पल्टाउँदा पाकिस्तान मात्र होइन, नेपालका हिमालहरू पनि हिमपहिरोका कारण वर्षौँदेखि मृत्युको बाटो बन्ने गरेका छन् ।

सगरमाथाको खुम्बु आइसफल, अन्नपूर्णको डेथ जोन, मनास्लु र धौलागिरीका भिराला चट्टानमा थुप्रै अनुभवी नेपाली शेर्पा र विदेशी पर्वतारोहीहरूले हिमपहिरोकै कारण सधैँका लागि आँखा चिम्लिएका छन् ।

दशकअघिको नाङ्गा पर्वतदेखि सन् २०२६ को ब्रोड पिकसम्म र नेपालका हिमालहरूमा निरन्तर भइरहेका यस्ता दुर्घटनाले गम्भीर प्रश्न खडा गरेका छन् । हिमालको हरेक खोँच र प्रकृतिको स्वाभाव बुझेका अनुभवी आरोहीहरू नै किन बारम्बार मृत्युको मुखमा पर्छन् ? अनुभवी आरोहीहरूको सपना किन हिमालमै बिलाउँछ ?

विश्वकीर्तिमानी आरोही लाक्पा शेर्पा, प्रत्यक्षदर्शी जेन्जेन लामा र हिमाल आरोही आशिष गुरुङका अनुभव तथा पर्वतारोहण विज्ञानको ऐनाबाट हेर्दा यस्ता घटनाका कारण विविध छन् ।

इतिहासदेखि वर्तमानसम्म हिमालमा हिमपहिरो कति निर्दयी हुन्छ र यसले कसरी अनुभवीहरूको ज्यान लिन्छ भन्ने कुरा बुझ्न विगतका केही प्रमुख घटनाको भूगोल र प्रकृति हेर्न आवश्यक हुन्छ ।

नाङ्गा पर्वतदेखि ब्रोड पिकसम्म

५ जुन १९३७ मा पाकिस्तानको नाङ्गा पर्वत हिमालको उच्च उचाइमा रहेको जर्मन आरोहण दलको क्याम्पमा विशाल हिमपहिरो खसेको थियो । गहिरो हिउँ र बरफको तहले क्याम्पलाई पूर्णरूपमा पुरेको त्यस घटनामा ७ जना जर्मन आरोही र ९ जना अनुभवी शेर्पा तथा स्थानीय कामदारसहित १६ जनाले ज्यान गुमाएका थिए । त्यसको दशकौँपछि पनि हिमालमा यस्तै नियति दोहोरिइरह्यो ।

१८ अप्रिल २०१४ मा सगरमाथाको सबैका लागि परिचित र प्राविधिक रूपमा कठिन मानिने खुम्बु आइसफलमा एउटा विशाल हिमपहिरो खस्यो । रुट फिक्सिङ र सामान ओसारपसारमा व्यस्त रहेका १६ जना नेपाली एलिट शेर्पा गाइड घटनास्थलमै मारिए ।

यो नेपालको पर्वतारोहण इतिहासमै गाइडहरूले एकै दिन ठूलो संख्यामा ज्यान गुमाएको कालो दिन थियो ।
२५ अप्रिल २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पका कारण पुमोरी हिमालबाट आएको भयावह हिमपहिरोले सगरमाथा बेस क्याम्पको एउटा ठूलो हिस्सा तहसनहस पारिदियो । यस प्राकृतिक विपत्तिमा परी २२ जना आरोही र शेर्पाको दुःखद् निधन भएको थियो ।

२६ सेप्टेम्बर २०२२ मा नेपालको चौथो अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को क्याम्प–४ को ठीक तल हिमपहिरो जाँदा प्रख्यात अमेरिकी स्की–आरोही हिलारी नेल्सनसहित अन्य नेपाली गाइडहरूले ज्यान गुमाएका थिए । निम्स दाइको निधनको घटनालाई सम्झिँदै गिनिज बुकमा नाम लेखाउन सफल लाक्पा शेर्पा हिमाल आरोहणलाई युद्धजस्तै मान्छन् । ‘संयोगले हाम्रो टोली ढिलो भयो । साथीहरू अघि गए,’ लाक्पा शेर्पा त्यो क्षण सम्झिँदै भन्छन्, ‘हिमाल आरोहण भनेको युद्धजस्तै हो ।’

उनको भनाइअनुसार हिमाल आरोहणका क्रममा अनुभवी पर्वतारोही र शेर्पाको सल्लाहबिना अघि बढ्नु हुँदैन । अहिले कतिपय आरोहीहरू पर्याप्त तयारीबिना हतारमा अघि बढिरहेको देखिन्छ । लाक्पाका अनुसार अचेल स्थापित मार्ग, अरूले बनाएको बाटो र तयारीको डोरीको भरमा हतार–हतार हिमाल चढ्ने र प्रकृतिको वास्तविक जोखिमलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढेको छ ।

यही हतार र अतिआत्मविश्वासले नेपालका हिमालमा पनि हिमपहिरोले कैयौँको ज्यान लिने गरेको उनको बुझाइ छ । पर्वतारोही आशिष गुरुङका अनुसार हिमालमा भविष्यवाणी गर्न नसकिने कुरा नै प्रकृति हो । ‘जोखिम सिर्जना गर्ने भनेकै मौसम हो । हिमपहिरोलाई निम्त्याउने मुख्य तत्व मौसम नै हो,’ गुरुङ भन्छन् ।

उनका अनुसार जलवायु परिवर्तनका कारण नेपाल र पाकिस्तान दुवैतर्फको मौसम निकै अस्थिर बन्दै गएको छ । अनुभवी आरोही जेन्जेन लामाको अनुभव पनि यस्तै छ । पहिलेको जस्तो लामो समयसम्म स्थिर मौसम रहने अवस्था अहिले छैन । ‘पहिलेको जस्तो १ हप्ता लगातार मौसम राम्रो हुने अवस्था अहिले छैन,’ जेन्जेन भन्छन्, ‘नेपाल र पाकिस्तानको मौसम र हिमाल फरक छ । पाकिस्तानको मौसम नेपालको जस्तो स्थिर छैन । ३–४ दिन मौसम सफा हुने र ५–६ दिन लगातार बिग्रिने समस्या छ ।’

भारी हिमपातपछि हिउँ थिग्रिन समय नपाउँदा हिउँको वजन बढ्छ । त्यसपछि ठाडो भूगोलमा हिमपहिरो जाने सम्भावना तीव्र हुने उनको बुझाइ छ । हिमाल बिग्रिसकेपछि कुन भूगोल कति ठाडो, हिउँ बस्ने स्थिति कस्तो छ भन्ने कुरा व्यक्तिगत आँकलन गर्न सक्ने क्षमता आरोहीमा हुनुपर्ने आशिषको बुझाइ छ । तर, ब्रोड पिकको घटनालाई लापरबाहीमात्र भन्न नमिल्ने उनी स्पष्ट पार्छन् । गुरुङ भन्छन्, ‘निम्स दाइको टोलीले २–३ दिनसम्म भारी हिमपात हेरेर मौसम केही सामान्य भएपछि मात्र क्लाइम्बिङ गरेका हुन् ।’

उनका अनुसार हिमालमा एड्भेन्चर सधैँ उच्च तहमा हुन्छ र प्रत्येक पाइलामा जोखिम हुन्छ । सही समयमा त्यो जोखिमलाई सामना गर्न सकिएन भने माथि पुग्ने लक्ष्य सफल हुन गाह्रो हुन्छ । पर्वतारोहण विज्ञानमा ह्युरिस्टिक ट्र्याप अतिआत्मविश्वासका कारण हुने जोखिमको चर्चा हुन्छ । ठूला दुर्घटनाहरू नयाँ सिक्दै गरेका आरोहीभन्दा पनि वर्षौँ बिताएका अनुभवीहरूबाट हुने गरेको अनुभवी आरोहीहरूले बताउने गरेकाछन् ।

निर्मल पुर्जाले अक्सिजनबिना संसारका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेर ऐतिहासिक कीर्तिमान बनाएका थिए । तर, त्यही असाधारण इतिहास रच्ने आरोही पनि ब्रोड पिकको हिमपहिरोबाट जोगिन सकेनन् । कतिपय हिमाल आरोहीहरूकै अनुभव अनुसार महत्वाकांक्षा, कीर्तिमानको भोक र व्यवसायिक एजेन्सीहरूको दबाबले एलिट आरोहीहरूलाई प्रकृतिको चेतावनी बेवास्ता गर्दै ठूलो जोखिम मोल्न बाध्य पार्न सक्छ । ब्रोड पिक त्रासदीको प्रत्यक्षदर्शी जेन्जेन लामाका अनुसार नेपाल र पाकिस्तानका हिमालमा आकाश–जमिनको फरक छ ।

नेपालमा निजी हेलिकप्टर र उद्धार टोली तुलनात्मक रूपमा छिटो परिचालन हुन सक्छन् । तर पाकिस्तान सैन्य नियन्त्रित देश भएकाले त्यहाँका अधिकांश हिमाल कुनै न कुनै देशको संवेदनशील सीमाभित्र पर्छन् । ‘नेपालमा जस्तो पाकिस्तानमा तुरुन्त उद्धार हुँदैन,’ जेन्जेन भन्छन्, ‘तत्काल जनशक्ति र हेलिकप्टर पाइँदैन ।’
यही भौगोलिक र राजनीतिक जटिलताका कारण अनुभवी गाइडहरूले पाकिस्तानमा अझ कडा जोखिम बहन गर्नुपर्ने बाध्यता रहेको उनको बुझाइ छ ।

प्रविधिको कमजोरीले पनि ब्रोड पिकको घटनामा समस्या थप्यो । बेस क्याम्पमा इन्टरनेट नहुँदा जीपीएसको खतरनाक लोकेसन ड्रपलाई समेत समयमा पहिचान गर्न सकिएन । यसले उद्धारमा ढिलाइ भएको उनको अनुभव छ । जेन्जेनले काठमाडौंस्थित हेडक्वार्टरमा फोन गरेर स्याटेलाइट ट्र्याकर चेक गर्न लगाएपछि मात्र टोली अचानक करिब ५ हजार फिट तल खसेको पत्ता लागेको थियो । तर, त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो । उनका अनुसार हिमपहिरोमा पुरिएका व्यक्तिको हिउँमुनि अक्सिजन रहने समय १५ देखि ३५ मिनेटजति मात्र हुन सक्छ । त्यसैले दुर्घटना भएको स्थान समयमै पत्ता लगाउन सक्नु उद्धारका लागि निर्णायक हुन्छ ।

ब्रोड पिक त्रासदीमा विश्वले निर्मल पुर्जा (निम्स दाइ)को चर्चित अनुहार मात्र देख्यो । तर लाक्पा शेर्पाका अनुसार हिमालमा सफल अभियानको पछाडि काम गर्ने शेर्पाहरूको योगदान पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । ‘मिडियाले निम्स दाइलाई मात्र चर्चामा ल्यायो, तर उहाँलाई हिमाल चढ्न सिकाउने र अभियान सफल बनाउन साथ दिने टोलीमा रहेका शेर्पाहरूको योगदान पनि कम थिएन,’ लाक्पा भन्छन् ।

यसपटकको हिमपहिरोमा संखुवासभाका नावाङ शेर्पा, निमा शेर्पा र पुरबहादुर गुरुङ ‘युक्ता’ जस्ता एलिट आरोहीले पनि ज्यान गुमाए । आफ्नै पसिना बगाएर, जोखिम मोलेर बाटो बनाएका र हिमालसँग वास्तविक सम्बन्ध गाँसेकाहरूको नाम भने मिडियाको एकाङ्की नजरका कारण प्राय ओझेलमा पर्ने गरेको उनको भनाइ छ ।

राज्य संयन्त्र कमजोर, भविष्य असुरक्षित

हिमालमा रगत, पसिना बगाएर देशको नाम विश्वभर फैलाउने नेपाली गाइडहरूको सामाजिक सुरक्षा भने अझै कमजोर छ । ‘यो क्षेत्रमा काम गर्ने भनेको उमेर हुन्जेल मात्र हो,’ जेन्जेन लामा भन्छन्, ‘न सरकारले हाम्रा छोराछोरीका लागि केही गरिदिएको छ, न हाम्रो भविष्यका लागि कुनै दिगो आर्थिक पाटो छ ।’

आशिष पनि गाइडहरूले राज्यबाट पर्याप्त संरक्षण नपाएको बताउँछन् । ‘हामीले देशलाई माया मार्न नसकेर मात्र यो जोखिम मोलेको हो,’ उनी भन्छन्, ‘नत्र संसारको जुनसुकै देशमा गएर पनि हामी केही गर्न सक्थ्यौँ । हामी विदेशी लोभमा नफसी नेपालमै बसेर देशको सेवा गरिरहेका छौँ ।’ त्यसैले पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आबद्ध नेपालीहरूको सुरक्षित भविष्य र प्रोत्साहनका लागि दीर्घकालीन नीति आवश्यक रहेको उनी बताउँछन् ।

उनीहरूको मागअनुसार दुर्घटना बीमाको रकम र दायरा बढाउनुपर्छ । स्वास्थ्य उपचारमा विशेष सहुलियत र राज्यबाट निश्चित कोटाको व्यवस्था गर्नुपर्छ । आरोहीहरूले कति वर्ष सेवा गरे भन्ने आधारमा तह छुट्याएर अनिवार्य पेन्सनको व्यवस्था गरिनुपर्ने पनि आरोहीहरूको जोड छ । इच्छुक र नयाँ आरोहीहरूको क्षमता विकासका लागि पर्वतारोहण तालिमलाई पहुँचयोग्य बनाउनुपर्ने र तालिम महँगो हुने भएकाले सरकारले सहुलियतपूर्ण दर वा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको आशिष बताउँछन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्