गौरादह ।

झापाको गौरादह–५ बालुबथानस्थित जनता माध्यमिक विद्यालयमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

दमक थुलुङ डेन्टल केयर सेन्टरका विशेषज्ञ डाक्टरहरुसहितको प्राविधिक सहयोगमा शुक्रबार आयोजित दन्त शिविरबाट २ सय ११ जना लाभान्वित भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । सेवा लिनेमा ६० जना अभिभावक र अन्य विद्यालयका विद्यार्थी रहेका थिए ।

शिविरमा सेवा लिन आएका मध्ये ३३ जनाको किराले खाएर बिग्रिएका दाँत झिकिएको र दन्त परीक्षण भएकाबाट २७ जनाको दाँत स्वस्थ रहेको पाइएको दन्तरोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले बताइन् ।

दन्त रोग विशेषज्ञका रूपमा लामो समयदेखि लाइफलाइन अस्पतालमा कार्यरत थुलुङले निजी रूपमा थुलुङ डेन्टल केयर सेन्टर सञ्चालन गर्दै आएकी छन् ।

शिविरमा थुलुङसहित डाक्टर हाङमा माखिम, करुणा कार्की, धनमाया घिमिरे र शरद राजवंशीलगायतको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।

सो विद्यालयका विद्यार्थीहरुमा दाँतको हेरचार, रोकथाम र उपचारका बारेमा बुझाउन जरुरी देखिएको चिकित्सक टोलीले सुझाव दिएका थिए ।

प्रअ कटुवालको बिदाइ

यसैबीच जनता माध्यमिक विद्यालय बालुबथानका निवर्तमान प्रधानाध्यापक रत्नबहादुर कटुवाललाई सोहीअवसरमा बिदाइ गरिएको हो । उमेरहदका कारण सेवा निवृत्त भएका कटुवालाई विद्यालयका तर्फबाट बिदाइ गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

विद्यालयका नयाँ प्रधानाध्यापकमा डिल्लीराम लुईटेललाई ८ साउनमा नै नियुक्ति गरिसकिएको छ ।

(साप्ताहिक बहसको २७ साउन ०८३ मा प्रकाशित)

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्