नेकपा एमाले र नेपाली कम्यनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनका लागि भएको मोर्चाबन्दीले तीनवटा प्रदेशमा सरकार बनाउन समस्या देखिएको छ । ती प्रदेशमा सरकार बनाउन जोड नगर्ने पक्षमा नेकपा देखिएको छ ।
गण्डकी र मधेश प्रदेशमा नेकपा र एमाले मिलेर सरकार बन्ने अवस्था छैन । ती प्रदेशमा अर्को सरकार बनाउन जोडबल नगर्ने पक्षमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । नेकपा स्रोतका अनुसार ती प्रदेशमा सरकार बनाउन धेरै प्रयास नगर्ने प्रस्ताव प्रचण्डले एमाले अध्यक्ष ओलीलाई पनि राखिसकेका छन् ।
स्रोतले भन्यो, ‘गण्डकी र मधेशको नयाँ सरकार बनाउन खासै जोडबल नगर्ने भन्ने छ । अहिले बागमतीमा समस्या देखिएको छ । त्यसमा पनि सके बनाउने नसके छोड्दिने, सरकार बनाउनैपर्छ भनेर नलाग्ने भन्ने छ ।’
मधेश, गण्डकी र बागमतीमा अहिले कांग्रेसको नेतृत्वमा सरकार छ । मधेश प्रदेशमा भने तीन दल एमाले, कांग्रेस र नेकपा मिलेर सरकार बनाएका छन् । मधेशकेन्द्रित दललाई छोडेर उनीहरूले सरकार बनाएका हुन् । बरु मधेशकेन्द्रित दललाई समेट्ने प्रयास हुनसक्ने पनि नेताहरूले बताएका छन् ।
यता, गण्डकी प्रदेश पनि एमाले र नेकपा मिलेर सरकार बन्ने अवस्था छैन । त्यसैले, कांग्रेसका सुरेन्द्र पाण्डेले नै मुख्यमन्त्रीमा निरन्तरता पाउने सम्भावना छ । बागमती प्रदेशको हकमा भने केही समस्या देखिएको छ । एमाले र नेकपा मिल्दा दुई सिटले बहुमत नपुग्ने अवस्था छ ।
दुई सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) अहिले कांग्रेसको टिममा लागिसकेको छ । त्यसैले, उसले नेकपा र एमालेलाई साथ दिने सम्भावना कम छ । त्यसको विकल्पमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ दिनुपर्ने हुन्छ । १४ सिट रहेको राप्रपाले साथ दिएमा नेकपा र एमालेको सहजै सरकार बन्छ ।
तर, राप्रपा भने कुनै पनि सरकारमा सहभागी नहुने लाइनमा उभिएको छ । राप्रपाको केन्द्रीय नीति सरकारमा सहभागी नहुने भन्ने रहेको छ । तर, प्रदेशका केही सांसद भने सरकार बनाउनुपर्ने पक्षमा रहेका छन् । संसदीय दलका नेता उद्धव थापासहित केही नेताहरू सरकार बनाउनुपर्ने पक्षमा छन् । तर, पार्टीको निर्देशन सरकारमा नजाने भएपछि उनीहरूलाई पनि ग्राह्रो छ । त्यसैले बागमती सरकार पनि सजिलै बन्ने अवस्था छैन ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।