समयमै जाँच गरौँ, ज्यान बचाऔँ

डा. दिनेशकुमार मित – MBBS, MD -Gynecology – NAMS, (प्रसूति गृह, थापाथली)

परिचय

पाठेघरको मुखको क्यान्सर -Cervical Cancer_ महिलामा हुने सबैभन्दा सामान्य क्यान्सरमध्ये एक हो । तर यो एउटा यस्तो क्यान्सर हो, जसलाई समयमै खोप -HPV Vaccine_, नियमित स्क्रिनिङ -Screening_  र प्रारम्भिक उपचारबाट धेरै हदसम्म रोकथाम गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठन (WHO) ले पाठेघरको मुखको क्यान्सरलाई Eliminable Cancer अर्थात् भविष्यमा विश्वबाट लगभग समाप्त गर्न सकिने क्यान्सरको रूपमा घोषणा गरेको छ । दुर्भाग्यवश् नेपालमा अझै पनि धेरै महिलाहरू लाज, डर, जानकारीको कमी वा नियमित स्वास्थ्य जाँच नगर्ने बानीका कारण रोग बढिसकेपछि मात्र अस्पताल पुग्ने गर्छन् । त्यसैले समयमै जाँच गराउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।

नेपाल र विश्वको पछिल्लो अवस्था

    विश्व (GLOBOCAN २०२२) :

हरेक वर्ष करिब ६ लाख ६० हजार नयाँ बिरामी थपिन्छन् ।

करिब ३ लाख ५० हजार महिलाको मृत्यु यसै रोगको कारण हुने गरेको छ ।

 नेपाल (GLOBOCAN २०२२) :

हरेक वर्ष करिब २,१६९ नयाँ बिरामी थपिन्छन् ।

करिब १,३१३ महिलाको मृत्यु हुने गरेको अनुमान छ ।

तथ्यांकको सारः

नेपालमा औसतमा प्रत्येक दिन ३ देखि ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन् ।

WHO को ९०–७०–९० लक्ष्य

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि ९०–७०–९० रणनीति अघि सारेको छ :

९०% किशोरीहरूले १५ वर्ष पुग्नुअघि ज्एख् विरुद्धको खोप लगाउने ।

७०% महिलाले ३५ र ४५ वर्षको उमेरमा गुणस्तरीय स्क्रिनिङ गराउने ।

९०% प्रि–क्यान्सर वा क्यान्सर भएका महिलाले समयमै उचित उपचार पाउने ।

यदि यी लक्ष्यहरू पूरा भए भविष्यमा यो रोग अत्यन्तै न्यून हुने अपेक्षा गरिएको छ ।

यो रोग किन हुन्छ ?

यो क्यान्सर मुख्यतया Human Papilloma Virus -HPV नामक भाइरसको दीर्घकालीन संक्रमणका कारण हुन्छ । 

विशेष गरी HPV Type १६ र HPV Type १८ ले अधिकांश क्यान्सर गराउँछन् ।

यो भाइरस मुख्यतया यौन सम्पर्कबाट सर्ने गर्छ ।

धेरैजसो महिलामा शरीरको रोग प्रतिरोधात्मक शक्तिले १–२ वर्षभित्र भाइरस आफैँ हटाउँछ । तर, केही महिलामा संक्रमण धेरै वर्षसम्म (सामान्यतया १०–१५ वर्ष) रहिरहेमा पाठेघरको मुखका कोषहरूमा परिवर्तन हुँदै अन्ततः क्यान्सर हुन सक्छ ।

जोखिम बढाउने कारणहरू

सानै उमेरमा विवाह वा यौन सम्पर्क हुनु ।

धेरै बच्चा जन्माउनु ।

धूम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गर्नु ।

HVP वा HIV को दीर्घकालीन संक्रमण ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु ।

व्यक्तिगत सरसफाइमा कमी र नियमित स्क्रिनिङ नगर्नु ।

लक्षणहरू

सुरुवाती अवस्थामा यस रोगका कुनै पनि लक्षण नदेखिन सक्छन् । त्यसैले स्वस्थ महिलाले पनि नियमित जाँच गराउनु अत्यन्त आवश्यक हुन्छ ।

रोग बढ्दै जाँदा देखिन सक्ने लक्षणहरू :

 –यौन सम्पर्कपछि रगत देखिनु ।

 – महिनावारी रोकिएपछि (Menopause) पुनः रगत आउनु ।

 – दुर्गन्धित सेतो पानी बग्नु ।

 – तल्लो पेट वा ढाड निरन्तर दुखिरहनु ।

 – यौन सम्पर्क गर्दा दुख्नु ।

 – पिसाब वा दिसा गर्दा रगत आउनु (ढिलो अवस्थामा) र खुट्टा सुन्निनु (अन्तिम चरणमा) ।

स्क्रिनिङ (Screening) समयमै जाँच, समयमै बचाउ

नेपालमा राष्ट्रिय कार्यक्रम अन्तर्गत मुख्य रूपमा ३०–४९ वर्षका महिलालाई प्राथमिकताका साथ स्क्रिनिङ गरिन्छ । चिकित्सकको सल्लाहअनुसार ३०–६५ वर्षसम्म नियमित जाँच गराउनु उपयुक्त हुन्छ ।

उपलब्ध जाँचहरू :

 –VIA -Visual Inspection with Acetic Acid_M सरल, सस्तो तथा तुरुन्तै रिपोर्ट आउने विधि ।

–Pap Smear / Liquid Based Cytology -LBC_M पाठेघरको मुखका कोषहरूको सूक्ष्म परीक्षण ।

 –HPV DNA Test M HPV भाइरस नै पहिचान गर्ने सबैभन्दा संवेदनशील र आधुनिक परीक्षण ।

सामान्य जाँच अन्तराल :

  • HPV DNA Test सामान्य भए ५ वर्षमा एक पटक ।
  • Pap Smear सामान्य भए ३ वर्षमा एक पटक ।
  • VIA सामान्य भए ३–५ वर्षमा चिकित्सकको सल्लाहअनुसार ।
  • HPV खोप (HPV Vaccine)

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने सबैभन्दा प्रभावकारी उपायमध्ये ज्एख् खोप एक हो । नेपाल सरकारले १०–१४ वर्षका किशोरीहरूका लागि राष्ट्रिय HPV खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।

WHO को सिफारिसः अधिकांश ९–१४ वर्षका स्वस्थ किशोरीहरूलाई एक मात्रा -Single–dose_ HPV खोप पर्याप्त मानिएको छ ।

 यौन सम्पर्क सुरु हुनुअघि खोप लगाउँदा यसको प्रभाव सबैभन्दा राम्रो हुन्छ ।

यदि रिपोर्ट असामान्य आयो भने के हुन्छ ?

सबै असामान्य रिपोर्ट क्यान्सर हुँदैनन् । प्रारम्भिक परिवर्तन -Pre–cancer_ भेटिएमा निम्न आधुनिक उपचारबाट क्यान्सर हुनुअघि नै रोग पूर्ण रूपमा निको पार्न सकिन्छ :

Thermal Ablation

 – Cryotherapy

 – LEEP -Loop Electrosurgical Excision Procedure

 – Cold Knife Conization

यदि क्यान्सर नै पुष्टि भएमा रोगको चरणअनुसार शल्यक्रिया (Surgery), रेडियोथेरापी, र केमोथेरापीको प्रयोग गरिन्छ ।

कसरी बच्ने ?

 – समयमै HPV खोप लगाउने ।

 – नियमित स्क्रिनिङ गराउने ।

 – धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।

 – सुरक्षित यौन व्यवहार अपनाउने ।

 – कुनै पनि असामान्य रक्तस्राव वा दुर्गन्धित पानी बगेमा तुरुन्त स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्ने ।

थप महत्वपूर्ण सुझाव तथा जनचेतना

 भ्रमबाट मुक्त रहौँ :

‘बच्चा भइसकेका वा उमेर ढल्किसकेका महिलालाई मात्र क्यान्सर हुन्छ’ भन्ने गलत धारणा समाजमा अझै छ । ३० वर्ष नाघेपछि सबै महिलाले नियमित स्क्रिनिङ गराउनु अनिवार्य हुन्छ ।

पुरुषको भूमिका :

HPV संक्रमण रोकथाममा पुरुषहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ । सुरक्षित यौनसम्पर्क र समुदायमा खोप तथा स्क्रिनिङप्रतिको सकारात्मक सोचका लागि परिवार र समाजले महिलालाई सक्रिय रूपमा प्रोत्साहन गर्नुपर्छ ।

‘आजको सानो जाँचले भोलिको ठूलो समस्या रोक्न सक्छ ।’

डा. मित दमक ६ स्थित पञ्चमी अर्जेन्ट केयर क्लिनिकमा कार्यरत छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्