दमक ।
झापाको कमल गाउँपालिकामा हात्तीपाइले रोगविरुद्ध सञ्चालन गरिएको आम औषधि सेवन अभियानको प्रभावकारिता मूल्याङ्कनका लागि आइडीए इम्प्याक्ट सर्भे १ सम्पन्न भएको छ ।
हात्तीपाइले रोगविरुद्धको औषधि सेवनको प्रभावकारिता जाँच्न आयोजित सर्भेअन्तर्गत कमल गाउँपालिकामा समन्वय बैठकदेखि रगतको नमूना संकलनसम्मका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका बताइएको हो ।
२ साउनदेखि कमल गाउँपालिकाका सबै वडामा स्वास्थ्यकर्मी, प्राविधिक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यालय झापाका कर्मचारी, संकल्प परियोजनाका कर्मचारीहरू समुदायमै पुगेर रगतको नमुना संकलन गरी आइडीए इम्प्याक्ट सर्भे १ सम्पन्न गरेका हुन् ।
तीन दिनसम्म सञ्चालित सर्वेक्षणमा प्रत्येक वडाबाट करिब १०८ जनाका दरले नमुना संकलन गरिएको हो । कमल गाउँपालिकाभर ६०० जना भन्दा बढीको रगत नमुना संकलन गरिएकोमा ती नमुनाको परीक्षण कमल नगर अस्पतालको प्रयोगशालामै भइरहेको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले जानकारी दिएका छन् ।
हाल स्वास्थ्य कार्यालय झापाको विज्ञ टोलीले संकलित नमुना जाँच गरिरहेको छ । प्राप्त नतिजाअनुसार ११ जनामा संक्रमण पुष्टि (पोजिटिभ) भएको छ भने अन्य परीक्षण प्रतिवेदन आउने क्रम जारी रहेको बताइन्छ । संक्रमण पुष्टि भएका व्यक्तिका परिवारलाई हात्तीपाइले रोगविरुद्धको आम औषधि वितरण कार्यसमेत अघि बढाइएको अध्यक्ष राईले बताए ।

कार्यक्रम सञ्चालनमा सहारा नेपाल, फेयरमेड तथा संकल्प परियोजनाको महत्वपूर्ण प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहेको छ भने समग्र कार्यक्रमको नेतृत्व स्वास्थ्य कार्यालय झापाले गरिरहेको छ ।
स्वास्थ्य कार्यालय झापाको समन्वयमा ३२ असारमा कमल गाउँपालिकाका वडा नम्बर २, ४ र ५ मा, त्यसैगरी १ साउनमा वडा नम्बर ६ र ७ मा वडास्तरीय समन्वय बैठक सम्पन्न गरिएको थियो ।
बैठकमा वडा अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रतिनिधि, वडा सचिव तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कार्यक्रम फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक विष्णुनाथ श्रेष्ठले सर्वेक्षणको उद्देश्य, कार्यविधि तथा नमुना संकलन प्रक्रियाबारे सहजीकरण गरेका थिए ।
अध्यक्ष राईले भनेका छन्, ‘कमल गाउँपालिकालाई हात्तीपाइले रोगमुक्त गाउँपालिका बनाउने हाम्रो स्पष्ट लक्ष्य र दृढ प्रतिबद्धता छ । यसका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विकास साझेदार संस्था तथा सम्पूर्ण नागरिकको सक्रिय सहभागिता आवश्यक छ । समयमै परीक्षण, आवश्यक औषधि सेवन र समुदायको सहयोगबाट हामी हात्तीपाइलेमुक्त कमल निर्माण गर्न सफल हुनेछौं ।’

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।