साप्ताहिक बहस ।
तराई तथा पहाडी भू–भागमा गर्मी तथा वर्षा याममा सर्पको बिगबिगी हुन्छ । पहिले पहाडी क्षेत्रमा भन्दा तराई–मधेसमा सर्पको टोकाइबाट धेरैले समस्या भोगेको पाइन्थ्यो । पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा पनि गर्मी बढ्दो छ, साथै सडक बनेपछि गाडी तथा अन्य माध्यमबाट पनि विषालु सर्पहरू पहाडी क्षेत्रमा पुगिरहेका छन् । विषालु सर्पले टोकेपछि समयमै उपचार नपाएर धेरैले अकालमा ज्यानसमेत गुमाउने गरेका छन् । सर्पदंशबाट बच्नका लागि सावधानी अपनाउनु र जोखिम कम गर्नु महत्वपूर्ण हुन्छ ।
सर्पदंशबाट बच्ने १० उपाय
१. सर्पको वासस्थानमा सावधानी अपनाउने
सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन् । यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनुपर्छ । विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्दछ ।
२. उचित पोशाक लगाउने
जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा, र लामो प्याइन्ट लगाउनुपर्छ । खुल्ला खुट्टा हिँड्नु हुँदैन । तराई मधेशतिर भुइँतल्ला वा ढोका बाहिर आँगन, बलेसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुनसक्छ । त्यसैले जुत्ता, बुट निकालेर लाउनु अगाडि ध्यान पु¥याउनु पर्दछ ।
३. हातखुट्टा जोगाउने
झाडी वा अँध्यारो ठाउँमा हातखुट्टा राख्नुअघि राम्ररी जाँच्ने । ढुङ्गा वा काठ उल्ट्याउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुनसक्छ
४. रातको समयमा सावधानी अपनाउने
केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन् । राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिएर हिँडडुल गर्ने ।
५. घर वरपर सफा राख्ने
घर वरपर झाडी, काठको थुप्रो, र फोहोर नराख्ने । जमिनका प्वालहरू भए पुर्ने । सर्पको आश्रय हुने ठाउँहरू हटाउने । घरको झ्याल ढोकामा जाली राख्ने ।
६. सर्पलाई नछुने वा नजिस्काउने
सर्प देखेमा टाढैबाट बाटो फेर्ने । सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने । सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुनसक्छ । त्यस्तो अवस्थामा नचलाउने ।
७. सुत्ने ठाउँको व्यवस्थापन गर्ने
गाउँघरमा भुइँमा सुत्नुपरेमा झुलको प्रयोग गर्ने । सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने । सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने ।
८. सर्पको पहिचान र जानकारी राख्ने
आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने । विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ ।
९. खेतबारीमा काम गर्दा सावधानी अपनाउने
खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने । खेत बारीको झाडीमा सर्प लुकेको हुनसक्छ । पोखरी, तलाउ, खोला, नदीनालामा विषालु सर्प पनि हुन सक्छन् । यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने ।
१०. प्राथमिक उपचारको ज्ञान र तयारी
सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक जानकारी राख्ने । नजिकैको स्वास्थ्य चौकी वा अस्पतालको सम्पर्क नम्बर राख्ने । सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टि भेनम (विषालु सर्पको विषविरुद्धको औषधि) उपलब्ध हुने ठाउँको जानकारी राख्ने ।
थप सुझाव
यदि सर्पले टोकिहालेमा शान्त रहने, धेरै हिँडडुल नगर्ने । हिँडडुल गर्दा विष फैलिन सक्छ । दंश भएको ठाउँलाई तल झारेर राख्ने, त्यो ठाउँलाई नचलाइ राख्ने । तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाने । सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, चुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने । झारफुक गर्न तिर समय खेर फाल्नु हुँदैन ।
यी सावधानीहरू अपनाएर सर्पदंशको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।