माङसेबुङ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मिलन लिम्बूले इलाम जिल्लाको सडक समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
रास्वपा केन्द्रीय सदस्य लिम्बूले मंगलबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई भेटेर रास्वपा इलाम जिल्ला समितिको तर्फबाट सडक समस्या समाधानका लागि ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
मन्त्री लम्सालसँगको भेटपछि लिम्बूले मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध रहेकाले तत्काल सिमलगोलाई–तिलकेनी सडक सञ्चालन गर्न जोगमाई खोलामा बेलीब्रीज निर्माण गरिने बताएका छन् । उनले आफ्नो फेसबुक पेजमा मन्त्री लम्साललाई पत्र बुझाउँदै गरेको तस्वीर सार्वजनिक गरेर लेखेका छन्, ‘केही दिनमा निर्माण क्षेत्रमा बेलीब्रीजका सामग्री पुग्ने छ । मूल सडकबाट सिमलगोलाई र तिलकेनी पुग्ने सडक मर्मतका लागि पनि आवश्यक बजेटको व्यवस्था भएको छ ।’
भञ्ज्याङ–बेलासे सडकको पुवाखोलामा पनि बेलीब्रीज निर्माण गर्ने भन्दै लिम्बूले केही दिनमा निर्माण क्षेत्रमा बेलीब्रीजका सामग्री पुग्ने लेखेका छन् ।
लिम्बू इलामको माङसेबुङ २ का स्थायी बासिन्दा हुन् ।
इलामको सडक संरचनामा उत्पन्न समस्याबारे प्रतिनिधिसभा बैठकमा इलाम १ का सांसद निस्कल राई र इलाम २ का सांसद सुहाङ नेम्बाङले पनि पटक–पटक विषय राख्दै आएका छन् ।
केही दिनअघि पूर्वाधार मन्त्री लम्साल आफै लावालस्कर लिएर मेची राजमार्गअन्तर्गत पुवा खोला र राजदुवाली क्षेत्रको सडक निर्माण कार्य अवलोकन गर्न पुगेका थिए ।
राजदुवाली क्षेत्रमा भारी वर्षा र जमिनभित्रबाट हुने सिपेजका कारण मर्मत गरिएको सडक पटक–पटक भासिँदै र भत्किँदै गएको छ ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।