पदक देशलाई, सास्ती ज्यानलाई !

सजन राई
दमक ।

खेलकुद राष्ट्रको गौरव हो र खेलाडी देशका गहना हुन् भन्ने भनाइ सधैँ सुनिन्छ । तर, नेपाली खेलकुदको एउटा तीतो यथार्थ के छ भने, यहाँ कयौँ अनमोल गहनाहरू ओझेलमा परेका छन्, जसको चमकलाई न त स्थानीय सरकारले चिन्न सक्यो, न त राज्यले नै उचित कदर ग¥यो । यस्तै, संघर्ष र दृढ इच्छाशक्तिको एउटा जीवन्त नाम हो- विक्रम शंकर (विक्की) ।

झापाको दमक–७ हाटखोलाका रैथाने विक्की, जसले ‘सितेरियो कराँते’तर्फ ६७ र ७५ केजी तौल समूहमा जिल्लादेखि अन्तर्राष्ट्रिय मञ्चसम्म देशको झण्डा फहराए । तर, आज उनी खेल क्षेत्रमा व्याप्त राजनीति र राज्यको उदासीनताका कारण एउटा गम्भीर प्रश्न चिह्न बोकेर उभिएका छन् ।

२०४५ साल माघ ४ गते राम शंकर र विष्णुका साइला छोराका रूपमा जन्मिएका विक्की बाल्यकालमा निकै भावुक थिए । संगीतमा रुची राख्ने र पढाइमा पनि अब्बल उनी सानै उमेरमा दमकमा खेलिने ‘सितेरियो कराँते’ देखेर आकर्षित भएका थिए । अरूले खेलेको देख्दा उनीभित्र पनि खेल्ने तीव्र इच्छा जाग्थ्यो, देशका लागि केही गर्ने हुटहुटी चल्थ्यो । तर, ६ भाइ छोराहरू भएको विपन्न परिवारको आर्थिक अवस्था कमजोर हुनाले उनले घरबाट ‘सपोर्ट’ पाउन सकेनन् ।

खेल्ने सपना थाती राखेरै उनी २०५४ सालमा काठमाडौँ पढ्न गए । अन्ततः २०५६ सालमा स्कुलकै माध्यमबाट उनले कराँते सिक्न सुरु गरे र ‘ग्रिन बेल्ट’ सम्मको यात्रा तय गरे । २०५८ सालमा राजा वीरेन्द्रको वंशनाश भएपछि देशको परिस्थिति बदलियो र उनी दमक फर्किए । दमक फर्किएपछि हालको सब्जीमण्डीभित्र रहेको पुरानो जुट गोदाममा कराँते प्रशिक्षण हुन्थ्यो । विक्कीले बुबालाई धेरै फकाएर फेरि ‘व्हाइट बेल्ट’ बाट कराँते खेल्न सुरु गरे ।

गुरुहरू राम चाम्लिङ र विष्णु नेम्बाङको मुख्य प्रशिक्षण तथा नवीन तामाङ र चन्द्र राईको सहायक प्रशिक्षणमा उनले आफ्नो कलालाई निखार्दै लगे र अन्ततः ‘थर्ड डन’सम्मको उपाधि हासिल गरे । ‘त्यो बेला महिनाको ५० रुपैयाँ फि तिर्नुपर्थ्यो । बुबासँग पैसा हुँदैनथ्यो । सुरुमा कराँतेको ड्रेससमेत अरूले प्रयोग गरेर फालेको मागेर लगाएर सिक्न गएको थिएँ र डाइट खाने कुरा त कल्पना बाहिरको थियो,’ उनी भन्छन् । पछि ग्रिन बेल्ट पुगेर झापा टप गरेपछि मात्र उनले निःशुल्क सिक्ने मौका पाएका थिए ।

त्यो समय खेलकुदको पूर्वाधार आजको जस्तो थिएन । २०६३ सालतिर गोदाम हलभित्र ब्याडमिन्टन खेलिन्थ्यो । कराँतेका खेलाडीलाई भित्र छिर्ने अनुमति थिएन । बाहिर गिट्टी नै गिट्टी भएको ठाउँमा ट्रेनिङ गर्नुपर्थ्यो । ‘कराँते खेल्दा खुट्टामा घाउ हुन्थ्यो, पैतालाभित्र साना–साना गिट्टी छिर्थे,’ उनी भन्छन्, ‘गेम सकिएपछि पैतालाबाट गनेर गिट्टी निकाल्नुपर्थ्यो ।’ ब्राउन बेल्टभन्दा माथिकाले मात्र अलि राम्रो ठाउँमा सिक्न पाउँथे, साना बच्चाहरू त चौरमै पाखा लाग्नुपर्थ्यो ।

अभाव ट्रेनिङमा मात्र थिएन, प्रतियोगिताहरूमा पनि उस्तै थियो । २०६४ सालमा झापाकै शनिश्चरेमा जिल्लास्तरीय खेल खेल्न जाँदा विक्की र उनका साथीहरू स्कुलको बेन्चमा सुतेका थिए । पैसा हुनेहरू होटलमा बस्थे, नहुनेहरू भुइँमा । कति ठाउँमा त काँचै खाएर र कराँते ड्रेसलाई नै आधा ओछ्याएर त आधा ओढेर स्कुलका चिसो भवनहरूमा रात बिताएको अनुभव उनीसँग छ । जिल्ला खेल्न जानसमेत गाडी भाडा हुँदैनथ्यो । केही सहयोगी मनहरूले दिएको पैसाले उनी प्रतियोगितामा पुग्थे । २–३ पटक जिल्ला जितेर आउँदा तत्कालीन नगर खेलकुद सदस्य देवेन्द्र दाहालले व्यक्तिगत वा संस्थागत रूपमा ७०० रुपैयाँ दिएको उनी सम्झिन्छन् । पहिलो पटक पूर्वाञ्चल खेल्न जानका लागि त उनले घर बनाउने लेबर काम गरेर पैसाको जोहो गरेका थिए । क्लोज क्याम्पका लागि नगर खेलकुद समितिलाई ताकेता गर्दा कसैले सुन्दैनथ्यो । नेशनल गेम खेल्दा दैनिक ३५० रुपैयाँ भत्ता हुन्थ्यो, जसले खाना, बस्न र यातायात सबै पुर्याउनुपर्ने बाध्यता थियो ।

यी तमाम अभावका बावजुद विक्कीले म्याटमा आफ्नो जादु देखाइरहे । दमकबाट नेशनल गेम खेल्ने पुरुष खेलाडीमा उनी प्रायः एक्ला हुन्थे । जिल्लाको छनोट प्रतियोगितामा उनले सधैँ जित्थे । सन् २००८ (वि.सं २०६४) देखि २०१६ (वि.सं २०७३) सम्म झापा जिल्लामा ६७ केजी तौल समूहमा उनको एकछत्र राज रह्यो । यही तौल समूहमा उनले राष्ट्रिय खेलकुदमा स्वर्ण पदकसमेत जिते । पछि उनले ७५ केजी तौल समूहबाट पनि खेलेर जिल्ला, पूर्वाञ्चल, राष्ट्रिय तथा आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्वर्ण पदकको वर्षा नै गरे ।

आफ्नो खेल जीवनमा उनले आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगितामा ७ पटक गोल्ड मेडल जिते । एउटा रोचक कुरा के छ भने, सन् २०१३ र २०१४ मा धनगढीमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले भुटान देशको प्रतिनिधित्व गरेर खेलेका थिए भने बाँकी सबैमा नेपालको ।

सन् २०१४ को एउटा खेल उनी कहिल्यै बिर्सँदैनन्, जुन खेल जितेपछि उनी खुसीले रोएका थिए । फाइनल खेलको अन्तिम एक सेकेन्ड बाँकी छँदा धनगढीकै उनका एक साथी (हाल स्वर्गीय) को ९ पोइन्ट र विक्कीको ७ पोइन्ट थियो । खेल सकिनै लाग्दा अन्तिम सेकेन्डमा विक्कीले विपक्षीको फेसमा खुट्टाले टच गरेर ३ पोइन्ट (इप्पोन) ल्याउँदै खेल आफ्नो पोल्टामा पारे । साथीले जितिसकेको गेम हारेकाले पछिसम्म पनि विक्कीसँग गुनासो गरिरहन्थे । यस्तै, सन् २०१७ मा सताक्षी गाविसले आयोजना गरेको आमन्त्रित नेशनल गेममा पनि उनले स्वर्ण पदक जितेका थिए ।

विक्कीको खेल जीवन जति वैभवशाली देखिन्छ, भित्री पीडा र हन्डर त्यति नै गहिरो छ । खेल क्षेत्रमा हुने चरम राजनीतिका उनी प्रत्यक्ष भुक्तभोगी हुन् । ‘म जिल्लाले हेपेको र नगरले नचिनेको खेलाडी हुँ,’ उनी भन्छन्, ‘जिल्लामा उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै पनि छनोटमा पार्न खोजिँदैनथ्यो । आफ्ना मान्छेलाई मात्र जिताउन खोज्थे । तर म प्रतिद्वन्द्वीलाई म्याटमै हराएर छनोट गर्न बाध्य पारिदिन्थेँ । आफ्नो कोही गडफादर नहुँदा मलाई हराउने कति प्रयास भए, तर मेरो खेलको अगाडि उनीहरूको केही लागेन ।’

आफ्नो ठाउँको नाम चम्काएर, पदकको भारी बोकेर आउँदा पनि स्थानीय नगर (दमक नगरपालिका) ले कहिल्यै वास्ता गरेन । सम्बन्धित खेलकुदका निकायहरू सधैँ निष्क्रिय रहे । ‘हुनेखाने र पहुँच हुनेहरूलाई मात्र नगरले चिन्दो रहेछ । म त एउटा प्रतिनिधि पात्र मात्र हुँ,’ उनी भन्छन्,‘मजस्ता कति खेलाडी छन् जसको कथा मेरो भन्दा ठूलो र दुःखको छ ।’

कराँतेमा नेशनल गोल्ड मेडलिस्ट भए पनि आर्थिक रूपमा बाँच्न धेरै गाह्रो थियो । यही बीचमा सन् २००६ देखि उनी फिल्म लाइनमा प्रवेश गरे । कराँतेकै ब्याकग्राउन्डका कारण उनले साना तथा ठूला पर्दाका गरी करिब दुई दर्जन फिल्महरूमा अभिनय गरे । ‘दुई रुपैयाँ’, ‘झिल्के’, ‘मिशन नेपाल’जस्ता फिल्ममा उनले अभिनय मात्र गरेनन्, असिस्टेन्ट फाइट डाइरेक्टरका रूपमा समेत काम गरे । यसको श्रेय उनी कराँतेलाई नै दिन्छन्, जसले गर्दा उनको जीवनको केही आर्थिक संकट टरेको थियो ।

यसका साथै सन् २०११ मा लाहुरे बन्ने सपना बोकेर उनी ब्रिटिश आर्मीको भर्तिमा पनि सामेल भए । पहिलो वर्ष नै पोखरा फिल्टरसम्म पुगेका उनी लगातार ३ पटक पोखरा फिल्टरबाटै फालिएपछि त्यो सपना पनि अधुरै रहन गयो ।
२०७३ देखि विक्कीले आफैँ प्रशिक्षकका रूपमा काम गर्न थाले । यद्यपि उनले ग्रिन बेल्ट हुँदादेखि नै सहायक सिकाउन थालिसकेका थिए । सुरुका दिनमा दमकदेखि गौरादह र मोरङको मंगलबारेसम्म बिहानै गाडी नपाइने हुँदा दौडिँदै सिकाउन जान्थे र फर्कँदा मात्र गाडी चढ्थे ।

अहिले उनी दमकको सब्जी मण्डीको हलमा ६०–६५ जना नयाँ खेलाडीहरूलाई प्रशिक्षण दिइरहेका छन् । उनले ओसिस श्रेष्ठ, ओस्कार श्रेष्ठ र कुशल रामदामजस्ता राष्ट्रियस्तरका खेलाडीहरू उत्पादन गरिसकेका छन् । तर, विडम्बना ! ती खेलाडीहरू अहिले खेल छाडेर पढाइमा केन्द्रित छन् भने कतिपय विदेश पलायन भइसकेका छन् । ‘धेरै खेलाडीले खेलमा भविष्य देखेनन्, कतिले अवसर पाएनन् त कति नेतृत्व पङ्क्तिबाट हेपिएर पलायन भए,’ उनी भन्छन्, ‘जुन दुःख हामीले भोग्यौँ, त्यो दुःख आउने पुस्ताले नभोगुन् भनेर म खेलाडीभन्दा बढी प्रशिक्षक भएर सहयोग गर्दैछु । तर, एरिना (कराँते रिङ) छाड्न गाह्रो हुन्छ । हुस गुरु भन्ने र सुन्ने नसा लागिसकेको छ ।’

पछिल्लो समय मार्सल आर्टको पुरानो विधा कराँते पछाडि पर्दै गइरहेको र सरकारी निकायले कुनै प्रोत्साहन कार्यक्रम वा सेवा सुविधा नदिँदा गोल्ड मेडलिस्टहरू नै विस्थापित भइरहेकोमा विक्की चिन्तित छन् । ‘देशले नै खेलाडी बचाउन सकेको छैन, नगरले के बचाओस् र !,’ उनी भन्छन् । यति धेरै वर्ष देशको रगत र पसिना बगाउँदा पनि कुनै ठोस उपलब्धि वा सुरक्षा नहुँदा, उनी अब अन्तिम विकल्पका रूपमा वैदेशिक रोजगारीमा जाने सोचमा समेत पुगेका छन् । तर, उनी अझै पनि आशावादी छन् । नेपालमा खेलकुदको सम्भावना प्रचुर रहेको र खेल क्षेत्रमा राजनीति बन्द गरी निष्पक्ष छनोट हुने हो भने खेलाडी पलायन रोकिने उनको विश्वास छ । राज्यले खेलाडीलाई उचित सम्मान, भत्ता र पार्ट–टाइम रोजगारीको सिर्जना गरिदिए मात्र ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराले सार्थकता पाउने उनी बताउँछन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्