देवेन्द्र खापुङ

कवि गगन यक्पाङ्देनलाई मैले धरानको साहित्यिक कार्यक्रमहरूमा प्रत्यक्ष देखेको हुँ । उनका जादूमय कविता ‘द पोएट आइडल’मा सुनेँ र हेरेँ । युट्युवमा हेर्दा कविता सुनिने होइन, देखिने रहेछ । त्यसपछि गगनलाई देख्नेवित्तिकै कविताको रूपमा नै देख्न थालेको हुँ ।

दशैंको मुखमा भाई कमन देवानले म्यासेन्जरमा एक निम्तोपत्र खसाले । निम्तोपत्र कदम थिएटर, दमक झापाले आयोजना गर्दै गरेको शरद फेस्ट कदम साँझको थियो । जसमा अकथ्य, केवाफुङको गीत, भुइँकुहिरो र सराबसँग साँझ बसिने कुरो थियो । मेरो काठमाडौँ जाने योजना तुहिएको थियो । र, तुरुन्तै जवाफ दिएँ– आउनेछु ।

दिइएको समयमा पुगेको हुँ, तर उक्त समय पाहुना स्वागत त के कार्यक्रमस्थलको बढारकुढारसम्म नगरिएको अवस्था थियो । दमकमै रहेका आफन्तकोमा पुगेर चिया पिएर कार्यक्रमस्थल पुग्दामात्रै मानिसहरूको उपस्थिति हुँदै थियो । अध्यारोँ खसिसकेको थियो, अध्यारोँमै कमन भाईलाई खोज्दै बढेँ । दशैँको सन्ध्या थियो । तसर्थ कार्यक्रमस्थलमा छिर्केमिर्के बत्तिहरू बल्दै मर्दै गर्दथे । झिलिक गरेको बेलामा देखेको अनुहार खोज्दै कमन भाईलाई भेटेँ ।

उज्यालो बत्ति किराहरूलाई खुब मन पर्ने । दर्शकदीर्घामा फालिएको उज्यालोमा किराहरू झुम्मिएपछि अध्यारो खोज्दै जानुपर्ने अवस्था थियो । अध्यारोँमै बसिरहेका बेला गगन यक्पाङ्देन दर्शकहरूसँग हात मिलाउँदै आए । गगनसँग शरीर छोएरै भेट भएको क्षण भने पहिलो थियो ।

कार्यक्रम शुरु भयो, कदम थिएटरका स्वयम्सेवक र कलाकारहरूले गीत गाएर, नाचेर दर्शकलाई एकहुलमा ल्याउने कोसिस गरे । त्यसपछि बोलाइए, कवि प्रकाश बुढाथोकी, गजलकार कृष्ण कश्यप, कलाकार÷कथाकार प्रविण खतिवडा र कवि गगन योक्पाङ्देन ।

प्रकाश बुढाथोकीको भुइँकुहिरो कविता सङ्ग्रह, कृष्ण कश्यपको शराब गजल सङ्ग्रह, प्रविण खतिवडाको अकथ्य कथा सङ्ग्रह र गगनको केवाफुङको गीत कविता सङ्ग्रहमाथि स्वयम् लेखकहरू अनौपचारिक कुराकानी गर्ने कार्यक्रम थियो ।

एकअर्कामा परिचय, लेखनको चर्चा र रचनासँगै कार्यक्रम अगाडि बढ्यो । सामान्य चर्चापश्चात कार्यक्रमको बिट मार्ने प्रस्ताव छलफलमा बसेका मध्ये पाका प्रकाश बुढाथोकीले राखे । तर गगन यक्पाङ्देनले छलफलमा बसिसकेपछि अर्थपूर्ण हुनुपर्छ भन्दै केही गहकिला शब्दहरू राखे । जसका कविता लेख्छौं, उनीहरूलाई हामीले सुनाउने कि नसुनाउने ? मजदुरका कविता लेख्छौं भने मजदुरलाई पनि सुनाऔं, भिखारीका कविता लेखिन्छ भने उसलाई पनि सुनाऔं, भनेर कुरा राखे । त्यसपछि निस्कन थाल्यो खास कुरा । साहित्यकार प्रकाश आङ्देम्बेले जसका कथामा नाटक तयार पारिन्छ त्यही देखाउने भनेर गरेको प्रयास प्रकाश बुढाथोकीले सुनाए । यसरी बहसलाई बहसकै फेरोमा लैजान सक्ने खुबी भएका गगनप्रति मैले मनमनै वाह ! भनेँ ।

कार्यक्रम सकिएपछि पुस्तकहरूमा आँखा डुलाएँ । किन्नको लागि भनेर सोधीखोजी गरेँ । तर आयोजकले त्यहाँ किनबेचमा खासै चासो देखाएनन् । बेलुकी ओछ्यान पस्नेबेलामा कमन भाइले तीन पुस्तक हातमा थमाउँदै भने– उता किन्न पाउनुभएन । यी पुस्तकहरू मेरो तर्फबाट ।

थमाइएका पुस्तकहरू थिए– केवाफुङको गीत, शराब र अर्थात् । अर्थात्का लेखक स्व. जीवन आचार्यबारे यस कार्यक्रममा नपुगेको भए लगभग थाहा पाउँदिन थिएँ । उहाँले देशान्तर साप्ताहिकमा लेख्नुभएको स्तम्भ अर्थात्लाई पुस्तकको रूपमा ल्याइएको रहेछ ।

मैले सबैभन्दा पहिले गगनकै पुस्तक पल्टाएँ ।

केवाफुङ अर्थात् याक्थुङ जातिको पहिलो गायक । जसरी पेङ्दोर्जेले शिकार मारीसकेपछि त्यसको छालालाई मोडे र बाजा बजाए । अनि बजेको बाजामा स्वर भरिएपछि तामाङ जातिले पहिलो गीत र संगीतको आविस्कार माने, त्यसरी नै मुन्धुमका एक पात्र सामकेलो केलो केवाफुङ हुन् । उनले गीतसंगीतको सिर्जना गर्छन् र गाउँछन् ।

उनै मुन्धुमी पात्र केवाफुङको गीतमार्फत विविध जीवनका सशक्त गीत लिएर गगन आएका हुन् भन्ने पुस्तक सरर पढ्दा थाहा हुन्छ ।

एकोहोरो बग्नु मात्रै पनि त जीवन होइन
फगत् बगेर सागर छुनु मात्रै पनि त
जीवनको सम्पूर्णता होइन
तसर्थ म अलिकति पानी बगेँ, अलिकति जीवन बगेँ ।
(पानीको जीवन, पृष्ठ २)

पानीको वहावमा जीवनको गतिलाई बगाएर सुन्दर गीतको समायोजन गरेका रहेछन् गगनले । उनले बगेर नसकिने, निरन्तर बगिरहने जीवनकै बखान गरेका छन् । जसरी शरद फेस्टमा गगनले बोल्न उभिसकेपछि अनुहार देखाएरमात्रै होइन, केही बोलेरै जानुपर्छ, भने । त्यसरी नै केवाफुङको गीत कविता सङ्ग्रह पढ्दा थाहा हुन्छ, लेखिसकेपछि यतिको गहिरोसाथ लेख्नुपर्छ । मानिसमात्रै होइन, हरेक जीवको जीवन हेर्दा थाहा हुन्छ, रुख उम्रेपछि फुल्छ, फल्छ । अनेक मौसमलाई खेप्छ । चरा आफ्ना पखेटा फिजाएर आकाशमा उड्ने र जीवनयापनको लागि खाना खोजी खानेमात्रै गर्दैन मिठो स्वरमा चिर्चिराउने पनि गर्दछ । बाँच्नुमात्रै हो भने खानेकुरा खोज्थ्यो, खान्थ्यो र सकिन्थ्यो । तसर्थ बग्नुसँगै जीवन बाँच्नुको समायोजन कस्तरी गरेका रहेछन् गगनले । म झनै अन्य कविता पढ्न उद्देलित भएँ ।

पहिला–पहिला आमा रातभर
कोल्टे फेरिरहनुहुन्थ्यो
चुर खाइरहनु हुन्थ्यो
एक्लै मनसँग कुरा गर्दै बर्बराइरहनुहुन्थ्यो
……………………
…………………

आज घरव्यवहारको जुवा मेरो काँधमा परेको छ
जोत्नु छ मैले सिङ्गो धर्ती
र रोप्नु छ जीवन गह्रा–गह्रा
(आमाप्रति, पृष्ठ ५)

आमाप्रति कविता पढिरहँदा उनले ‘पोएट आइडल’मा बोलेका शब्दहरू कानमा गुञ्जिए । बुबाको सम्झना नभएको र आमाले हुर्काएको जीवन अनि श्रीमती तीन महिना अगाडि वैदेशिक रोजगारीमा निस्कदा मायाका टुक्रा छोरीहरूलाई आफन्तकोमा बाँडेर काठमाडौँ पुगेको बताएका थिए । उनले बताइरहेको त्यो क्षणमा टिल्पिलाई रहेको आँशुको ढिक्का यस कवितामा देखिन्छ । यो कथा गगनको मात्रै होइन, गगनजस्ता थुप्रै युवाका कथा हुन्, मेरो पनि कथा हो । मेरो पनि एकल आमाको साथी सुर्ती थियो, सुर्तीको धुवाँसँगै उहाँको जीवन पनि उडेर गयो ।

याक्थुङ मुन्धुमअनुसार सृष्टिकर्ताले सुनको मान्छे बनाए, प्राण भरिएन । चाँदीको बनाए, भएन । अन्त्यमा मालिङ्गोको खरानी र कुखुराको सुलीबाट बनाउँदा प्राण भरिएको कथा छ । गगनको कविताप्रेम शीर्षकको कवितामा उही झल्को देखिन्छ ।

कवितालाई सुन्दर बनाउन
विम्बको टीका, प्रतीकको गाजल, लयको मेहेन्दी
मिथकको लाली लगाइदिएँ
तरै पनि अहँ,
कविता सुन्दर देखिएन
……………..

………………..

तब झिकेर आफ्नै प्राण कवितामा राखिदिएँ
अनि विचारको स्वास फुकिदिएँ ।

त्यसपछि कविता फगत कविता रहेन ।
(कविता प्रेम, पृष्ठ १०)

यो कविता पढिसकेँपछि टक्क अडिएँ । कविताका अनगिन्ति परिभाषाहरू आए, पढिए । जहाँ रवि पुग्दैनन्, त्यहाँ कवि पुग्छन् भन्ने आहान छ । त्यसको अर्थ त यता पो पाएँ । पुस्तकहरूमा निर्जीव अक्षरमा लडिरहेको हुन्छ । पढ्नेले निर्जीवतामाथि कुल्चेर पढ्छन् । तर कविता कतिको सजीव आत्मा लिएर दौडिरहेका छन् त ? त्यो त गगनहरूले मात्रै बुझ्छन् । जसले कविताको प्राण भरेका हुन्छन् ।

धेरैले साहित्यमाथि भन्ने गरेका छन्, पाण्डुलिपि छउन्जेल कृति लेखकको हो, सार्वजनिक भएपछि त्यो सबैको हुन्छ । त्यसको विम्बको रूपमा गगनले कविताप्रेममा दौडाएका छन् । कवितामा प्राण राखेपछि कविता फगत कविता रहेन । सजीवताका साथ बाँचिरहेछ । त्यसैले त सयौं वर्ष अगाडिका पंक्तिहरू मानिसका मानसपटलमा बाँचिरहेका छन् ।

स्वयम्भूमा रहेको चैत्यजस्तो मन्दिर त जहाँतहिँ छन् । तर चैत्यमा रहेको जोर आँखा हेर्ने वित्तिकै स्वयम्भू हो भन्न सकिन्छ । ‘स्वयम्भूको दुईटा आँखाले न्याय अन्याय छुट्याई हेर्छ’ यो गीत हाम्रो दिमागमा बालमष्तिष्कदेखि घुसाइएको छ । तर ती दुई आँखाले न्याय अन्यायमात्रै छुट्याएर हेर्दैन भन्ने कुरामा गगन स्पष्ट छन् र यसरी पोख्छन्

यो बञ्जर जमिनमा
सम्भावनाको एउटा–एउटा घामजून
रोप्न पनि तिम्रो हात चाहिन्छ
फर्क दाजै फर्क,
यो देशमा तिम्रो अनुपस्थितिमा
स्वयम्भूको आँखा भएर टोलाइरहेछ ।
(छिमेकीलाई, पृष्ठ ९)

संविधानले मुलुकका सबै मानिसलाई नसमेटिएको कुरा, राष्ट्रिय झण्डाजस्तो पवित्र वस्तुलाई भ्रष्टाचारीहरूले अपवित्र बनाएकोले छोरीले मासिक श्रावको अभरलाई टारेको कुराले विद्रोहको प्रतीक जनाउँछ । बाटो एउटै हो, तर त्यहीँ बाटो हिँड्दा कोही मावल पुग्ने, कोही माइत पुग्ने कोही ससुराली पुग्ने कस्तो गज्जबको कथा छ बाटोको आयूमा । तर बाटो आयू चाहीँ घाटसम्म पुग्ने कुराले पाठकलाई मर्माहत तुल्याउँछ ।

नौ हजार एकसय पच्चिस दिनपछि जन्मिएको छोरीमा उत्तिकै दिन निदाएको मिक्लाजुङ पहाडको ध्यानास्थ मान्छ कवि गगन । वर्षौं अघि जनयुद्धको कुनै साँझ हराएकी प्रियसीको तस्बिर हेरेर हर्कबहादुर कथा, एक बटुको बेचेर श्रीमतीलाई सारी किनिएको दैनिकी, मङ्गलनी बोजूलाई छोराबुहारीले एक्लै गाउँमा छाडेर जाँदा गाउँलाई समेत थाहा नपाउने गरी र कहिल्यै नउठ्नेगरी सुतेको कथा गाउँका जीवन्त कथाहरू हुन् ।

छोरीलाई मनपर्ने चकलेट, बेलुन र गुडिया देख्नेवित्तिकै सम्झने बुबाले एकदिन उज्यालो लिएर फर्के बाचादेखि डेरावालले अभावका कैयौं रात कालो चियाले मात्रै टार्न नसकेपछि भाडा नतिरी भागेको कविता सङ्ग्रहभित्र छन् । त्यसैले ‘एक बागीको बिचार’मार्फत घातक वचन वाण फ्याँक्छन् –

‘मेरा नशाहरूमा बगिरहने विद्रोहको रगत
तिम्रो सत्ताको लागि घातक बन्न सक्छ ।’
(एक बागी विचार, ३८)

उपेक्षित गीतमा कथित दलितहरूका पीडा, पसिनाका गीतमा श्रमिकको सङ्घर्ष, एकछाक खाना र एकसरो कपडाको भारी बोक्ने भरियाको दैनिकी, चियानास्ता बेचेर जीवन चलाएका पवन हलुवाईको कथालाई गगनले नजिकबाट नियालेका छन् । परदेशमा रहेकी श्रीमती, आफैँले रोजेकी हजुरनीको सम्झनामा लेखिएका कविता, साइँली सोल्टिनीको वैंश जस्ता कविताहरू कम्ता रसिला छैनन् । त्यति हुँदाहुँदै माटोलाई मात्र एकीकरण गरेको मुलुकमा भाषा, संस्कृति, धर्म, इतिहास, जाति, भावनाको एकीकरण हुन नसकेको हुँकार छाडेका छन् ‘तिम्रो उपनिवेश विरुद्ध’ कवितामार्फत । त्यसैगरी मुलुक साइक्याट्रिक वार्डमा रहेको घोषणासमेत गरेका छन् ।

र यहीँ भेटिन्छ
देशकै सबैभन्दा असल कृषक
जो खोरिया फाँडेर स्वप्नहरूको खेती गर्छ
जस्तै विपतमा पनि
देश छाड्न नसकेर
आफ्नै देशको माटोमा हातपाउँ खियाउँछ
(साइक्याट्रिक वार्डमा देश, ७९)

३८ वटा कविता रहेको ‘केवाफुङको गीत’ समग्रता झल्काउने कृति हो । यहाँ आक्रोश छन्, दर्शन छन्, पीडा छन् । पूरापुर चाहीँ कविता नै छन् । कवितालाई बुझ्नेगरी लेखेका छन् ।

जीवनका भोगाई अनगिन्ति छन् । हिमाली भेगमा भोगिने जीवन र पहाडी भेगमा भोगिने जीवन फरक छन् । त्यसैगरी तराईमा भोगिने जीवन हिमाली र पहाडी जीवनभन्दा धेरै फरक छन् । त्यसपछि कथित उच्च जातिले कथित तल्लो जातिमाथि गरेको दमनको जीवन, फरक नश्ल र भाषिक विविधताले भोग्ने जीवन, सभ्रान्त परिवारले निम्न परिवारमाथि गर्ने विभेदको वर्गीय जीवनलगायतका धेरैखालका जीवन छन् । ती जीवनका गीतलाई मुन्धुमका पात्र गायक केवाफुङले विभिन्न लयमा गाएरै यस कृतिको जन्म भएको हो भन्न सकिन्छ ।

अन्त्यमा, भोकको कविता राख्दै यस लेखलाई टुङ्ग्याउँछु । जसको व्याख्या गरिरहन पर्दैन, आफैँ विस्फोटका साथ पड्किएको छ ।

मान्छेमा यति धेरै भोक छ कि
जसले जल, जमिन, जङ्गल, खनिज, वनस्पति
खाँदा–खाँदा सिङ्गो पृथ्वी नै निल्न आँटिसक्यो
मान्छेले स्वयम् मान्छेकै अस्तित्व मेट्न आँटिसक्यो ।
(खतरनाक भोक, पृष्ठ १९)

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्