दमक ।
झापा जिल्लामा आज सोमबारबाट जापानिज ईन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जिल्लाका विभिन्न ९ वटा पालिकाबाट खोप अभियान सुरु भएको जानकारी दिएका हुन् । खोप कार्यमा ५०० बढी स्वास्थ्यकर्मी र ६०० बढी महिला स्वास्थ्य स्वयम्सेविका परिचालित छन् ।
झापामा जेई संक्रमण पुष्टि भएका १३ जना मध्ये ७ जनाको ज्यानगएसँगै झापा जेई संक्रमणको इपिसेन्टर बन्न पुगेको थियो ।
सोमबारबाट सुरु भएको खोप अभियानमा जिल्लाका ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ जनालाई जेईविरुद्धको खोप दिने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका खोप फोकल पर्सन बालकृष्ण भण्डारीको भनाइ छ ।
जेई खोप अभियानअन्तर्गत झापाको कमल गाउँपालिकाका विभिन्न स्थानबाट खोप कार्यक्रम प्रारम्भ भएको हो ।
जसअन्तर्गत कमल–१ को बाह्रबिघे मन्दिर सभाहल, कमल–३ को सानो केर्खा, बेधनिधी पौडेलको घर, कमल–४ को पशुपति मन्दिर, पशुपति टोल र मगर चोक, शान्तिपुट टोल, कमल–५ को सगुन युवा क्लब तथा शहीद रत्न आधारभूत विद्यालय, टुक्रे बजार टोल, कमल–६ को वाणी माध्यमिक विद्यालय, गुहाबारी र कमल–७ को पिङ्गडाँडा स्कुलमा खोप सेवा सञ्चालन भएको हो ।
अभियानको पहिलो दिन नै विभिन्न खोप केन्द्रमा नागरिकहरूको उत्साहजनक उपस्थिति देखिएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहालले जानकारी दिएका छन् ।
अभियानको औपचारिक शुभारम्भमा बोल्दै कमल गाउँपालिका अध्यक्ष हुकुम सिह राईले जेई संक्रमणबाट बच्न खोप महत्वपूर्ण रहेको बताएका थिए । उनले लक्षित सबै नागरिकलाई आफ्नो पायक पर्ने नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रहसमेत गरेका छन् ।
त्यस्तै, दमक नगरपालिकामा पनि सोमबारबाटै जेई खोप अभियान प्रारम्भ भएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले जेईको संक्रमण हुन नदिन लक्षित उमेर समूहका सबैलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन आग्रह गरेकी छिन् ।
दमक नगरपालिकाका वडा नम्बर १, २, ३, ६, ८ र १० नम्बर वडाका विभिन्न ७ स्थानबाट खोप दिइने दमक नगर स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै, वडा नम्बर ४, ५ र ९ का विभिन्न ८ वटा स्थानबाट खोप सेवा उपलब्ध हुने छ भने वडा नम्बर ७ का ६ वटा खोप केन्द्रबाट सेवा दिइने स्वास्थ्य शाखाले जनाएको छ ।
जेईविरुद्धको खोप अभियान १५ असोजसम्म चल्ने छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।