गौरादह ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर अधिवेशन आउन अब एकसाता मात्र समय बाँकी छ ।

अधिवेशनको मिति नजिकिँदै गर्दा झापाको गौरादह नगर सभापति बन्न ईच्छाएकाहरूको लामै सूची चर्चामा छ । ती नामहरू मध्ये सर्वाधिक चर्चाको शिखरमा छन्– प्रकाश कार्की ।

अरु कुनै भवितव्य भएन भने अबको सात दिनपछि देशभर एकैदिन कांग्रेसको गाउँ र नगरले नयाँ नेतृत्व पाउने छ । विषम् परिस्थितिमा पनि कांग्रेसको नगर सभापति बन्ने अभियानमा क्रियाशील सदस्य र अग्रजहरूसँग नित्य सम्पर्कमा रहेका कार्की विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय थिए । ३ दशक यता कांग्रेसको विचारसँग चट्टानी अडान राख्दै आएका उनी ०४४ सालमा ९ कक्षामा पढ्दै गर्दा नेपाल विद्यार्थी संघसँग जोडिएको संस्मरण गर्छन् ।

०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेका उनको राजनीतिक आवद्धता विद्यार्थी राजनीतिबाट मात्र जोडिएको होइन । कार्कीको पारिवारिक पृष्ठभूमि नै कांग्रेस थियो ।

घरमा पार्टीका नेता कार्यकर्ताको आउजाउ भइरहने भएकोले पनि उनी पार्टीभित्र आफ्नै परिचय बनाउन सफल भए । आफूलाई जन्मजात कांग्रेसीका रूपमा चिनाउँदै आएका कार्कीले पार्टीको विचार, संगठन र लोकतान्त्रिक आन्दोलनलाई आफ्नो राजनीतिक जीवनको आधार बनाउँदै आएको बताउने गरेका छन् ।

‘मेरो राजनीतिक यात्रा पद प्राप्तिका लागि मात्र होइन, कांग्रेसको विचार र संगठनलाई स्थानीय तहमा बलियो बनाउने उद्देश्यले अघि बढेको हो । लामो समयदेखि पार्टीमा काम गर्दै आएको अनुभवलाई अब संगठन सुदृढीकरणमा उपयोग गर्न चाहन्छु,’ कार्कीको भनाइ छ ।

हाल नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्य रहेका उनी पार्टी राजनीतिसँगै सामाजिक तथा सहकारी क्षेत्रमा समेत सक्रिय छन् । उनले रेडक्रसको उपसभापति, गौरादह लायन्स क्लबको अध्यक्ष तथा लायन्सको जिल्ला तहको नेतृत्व सम्हालिसकेका छन् । गौरादहको शुभलक्ष्मी सहकारीको अध्यक्षका रूपमा २ कार्यकाल काम गरेको अनुभव पनि उनीसँग छ ।

नेपाल ल क्याम्पसबाट बीएल अध्ययन गरेका कार्कीले पुराना कार्यकर्ताको सम्मान गर्दै नयाँ पुस्तालाई कांग्रेसको संगठनमा जोड्नुपर्ने आवश्यकता रहेको बताउँदै आएका छन् ।

‘गौरादह कांग्रेसलाई अझ एकताबद्ध, सक्रिय र जनतासँग जोडिएको संगठन बनाउनु अहिलेको आवश्यकता हो । अग्रजको अनुभव र युवाको ऊर्जा मिलाएर अघि बढ्नुपर्छ,’ उनले भने ।

नगर सभापतिको नेतृत्व चयनका क्रममा कार्कीको नाम चर्चामा आएसँगै गौरादह कांग्रेसको आगामी नेतृत्वलाई लिएर स्थानीय तहमा चासो बढेको छ । कार्कीले भने, ‘अहिले लोकतन्त्र अप्ठ्यारोमा परेको छ । दुई तिहाइ बहुमतको सरकार समेत अस्थिर भएको बेला कांग्रेसले बाहेक अरु दलले लोकतन्त्र र गणतन्त्रको जगेर्ना गर्न सक्दैनन् ।’

अबको नेतृत्वले पहिले घर सम्हालेर गाउँ, टोलमा विचार बदल्न हिड्नुपर्ने कार्कीको बुझाइ छ । जेन्जी आन्दोलनको माग पूरा गरेर युवा र विद्यार्थीलाई राजनीतिको मुलधारमा ल्याउन आवश्यक रहेको मत राख्ने उनी गौरादहको भूगोललाई आफूले नजिकबाट पढेको जिकिर गर्छन् । ‘अग्रजको आशिर्वाद, साथीहरूको सहयोग र जेन्जीहरूको साथ लिएर काम गर्न सक्छु भनेर नै उमेदवारी दिन लागेको हुँ,’ उनले भने ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्